असार २३, २०८२ सोमबार July 7, 2025

राजाबादीको आन्दोलन डाइभर्ट : आज दीप प्रज्वलन मात्रै गरिने

आज जुलुस वा धर्ना नगरी शान्तिपूर्ण श्रद्धाञ्जली दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ १९ । पाँच दिनदेखी निरन्तर जारी राजतन्त्र पुनर्स्थापनाको मागसहितको प्रदर्शनलाई आजका लागि ‘संवेदनाको सम्मान’ गर्दै स्थगित गरिएको छ। संयुक्त जनआन्दोलन परिचालन समितिले दरबार हत्याकाण्डको २४औँ वार्षिक स्मृति दिवसलाई मध्यनजर गर्दै आज कुनै पनि जुलुस वा धर्ना नगर्ने निर्णय गरेको छ।

राजतन्त्र समर्थक यो समूहले गणतन्त्र दिवस (जेठ १५) देखिनै व्यापक प्रदर्शन र ¥यालीमार्फत सडक तताइरहेको थियो। तर आजको दिन—२०५८ सालको जेठ १९—नेपालको इतिहासकै सबैभन्दा शोकपूर्ण घटनाको स्मरण गरिँदैछ। सो दिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत राजपरिवारका सदस्यहरूको दरबारभित्रै सामूहिक हत्या गरिएको थियो।

संयुक्त जनआन्दोलन परिचालन समितिका नवराज सुवेदीले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, “यो सम्पूर्ण नेपालीहरूका लागि शोकको दिन हो। अतः आज जुलुस वा धर्ना नगरी शान्तिपूर्ण श्रद्धाञ्जली दिने निर्णय गरेका छौँ।”

कमलादीमा दीप प्रज्वलन कार्यक्रम

शोक व्यक्त गर्न समिति र समर्थकहरूले आज साँझ ६ बजे काठमाडौंको कमलादी गणेशस्थानमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेका छन्। आयोजकले आन्दोलनमा संलग्न सबै कार्यकर्ता, समर्थक, तथा सर्वसाधारणलाई सहभागी हुन आह्वान गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया