काठमाडौँ, २१ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विद्यमान सबै किसिमका विभेदको अन्त्यगरी सभ्य समाज निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा पार्टीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले समतामूलक समाज निर्माण गर्न सबै प्रकारका जातीय तथा सामाजिक विभेदलाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।
संसद्बाट छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको १९ वर्ष पूरा भएको स्मरण गर्दै पूर्वप्रधानमन्त्री खनालले आफ्नो नेतृत्वको सरकारले जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन–२०६८ पारित गरी जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउन सुरुआत गरेको बताउनुभयो ।
छुवाछुतमुक्त घोषणा गरिएको लामो समय भए पनि जातीय विभेद तथा छुवाछुतजन्य हिंसाको अन्त्य हुन नसकेको बताउँदै उहाँले घोषणा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेता खनालले समाजमा विद्यमान शोषण, उत्पीडन र विकृतिलाई अन्त्य गर्न समाजवाद कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले देश विकास तथा जनताको समृद्धिका लागि एकीकृत समाजवादीले अगाडि सारेको ‘यात्रा समृद्धिको र लक्ष्य समाजवादको’ भन्ने अभियान सार्थक बनाउन सबै वामपन्थी, प्रगतिशील, देशभक्त शक्तिहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभयो ।
पार्टीका सचिव गणेश विकले मुलुकमा सामाजिक न्याय, समानता, समावेशी सिद्धान्तका आधारमा दलित वर्गका हकहित र अधिकारको संरक्षण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया