नेपालगन्ज, असार ३ । भारतमा पुनः कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमा नाका जमुनाहामा सतर्कता अपनाउन थालिएको छ। भारतबाट नेपाल फर्किने व्यक्तिहरूमा संक्रमण देखिन थालेपछि शङ्कास्पद यात्रुहरूको परीक्षण सुरु गरिएको हो।
स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने नेपाली र नेपाल आउने भारतीय नागरिकमाथि निगरानी बढाइएको छ। परीक्षणको क्रममा शङ्का लागेका व्यक्तिको आरडीटी परीक्षण भइरहेको छ।
यसै क्रममा भारतको देहरादुनबाट आएका बर्दिया निवासी २६ वर्षीय महेशकुमार थारूमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। आरडीटी परीक्षणमा पोजिटिभ देखिएका थारूमा कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको र उनलाई मास्क दिएर घर पठाइएको जानकारी सूचना अधिकारी श्रेष्ठले दिनुभयो।
श्रेष्ठका अनुसार यदि संक्रमितमा लक्षण देखिएमा भेरी अस्पतालमा लगेर पीसीआर परीक्षण गरिनेछ। हालका लागि सशंकित यात्रुहरूको प्रारम्भिक परीक्षण आरडीटी विधिबाट गरिँदैछ।
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको जनस्वास्थ्य रिपोर्टहरूमा उल्लेख भएपछि सीमा नाकामा सतर्कता बढाइएको हो। स्वास्थ्य कार्यालय बाँकेले सीमामा सक्रिय परीक्षणलाई निरन्तरता दिने जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया