असार २३, २०८२ सोमबार July 7, 2025

बैतडीको सुर्नयामा ठेउला रोगको सङ्क्रमण, १२ भन्दा बढीमा पुष्टि

अनावश्यक भिडभाड नगर्न तथा स्वास्थ्य समस्या देखिएमा तुरुन्त स्वास्थ्य संस्थासँग सम्पर्क गर्न अनुरोध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार ५ गते । बैतडी जिल्लाको सुर्नया गाउँपालिका–७ र ८ का बस्तीमा ठेउला रोगको सङ्क्रमण फैलिएको पुष्टि भएको छ। स्थानीय स्वास्थ्यकर्मीहरूको टोलीले स्थलगत अनुगमन गरी १२ जनाभन्दा बढीमा यो सङ्क्रमण देखिएको जनाएको छ।

स्वास्थ्य शाखा तथा स्वास्थ्य कार्यालय बैतडीको समन्वयमा प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको जनाइएको छ। रोगबाट विशेषगरी बालबालिका बढी प्रभावित भएका छन्।

स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार बिरामीहरूमा शरीरभरी बिमिरा आउने, ज्वरो, खोकी जस्ता लक्षण देखिएका छन्। “सङ्क्रमितहरूलाई आइसोलेसनमा राख्न आग्रह गरिएको छ,” उहाँले बताउनुभयो।

हाल स्वास्थ्यकर्मीहरू घरदैलोमै पुगेर प्रारम्भिक उपचार र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्।

यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (WHO) को टोली ठेउलाकै सङ्क्रमण हो कि होइन भन्ने यकिन गर्न बिहीबार बिहान प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गर्न जाँदैछ।

शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर बोहराले प्रभावित बस्तीहरूमा निरन्तर स्वास्थ्य सेवा र निगरानी कार्य सञ्चालन भइरहेको जानकारी दिनुभयो। “रोग फैलिन नदिन हामीले सचेतना, उपचार र निगरानी सँगसँगै अघि बढाइरहेका छौँ,” उहाँले भन्नुभयो।

स्वास्थ्यकर्मीहरूले स्थानीयहरूलाई व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन, अनावश्यक भिडभाड नगर्न तथा स्वास्थ्य समस्या देखिएमा तुरुन्त स्वास्थ्य संस्थासँग सम्पर्क गर्न अनुरोध गरेका छन्।

यसैक्रममा गाउँपालिका प्रशासन र स्थानीय प्रशासनको समन्वयमा आवश्यक औषधी तथा स्वास्थ्य सामग्रीको आपूर्ति गरिएको गाउँपालिकाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया