काठमाडौं । नेपाली कांग्रेसका ११ जना केन्द्रीय सदस्यसहित दुई हजार एक सय जनाविरुद्ध अनुशासनको कारबाही माग गर्दै उजुरी परेको छ ।
आज केन्द्रीय समिति बैठकमा बोल्दै अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले पार्टीको अनुशासन समितिमा ५० जिल्लाबाट दुई हजार एक सय वटा उजुरी प्राप्त भएको जानकारी दिए । उनका अनुसार ११ जना केन्द्रीय सदस्य, एक जना प्रदेश सभापति, सात जिल्ला सभापतिसहित नेता, कार्यकर्तामाथि अनुशासनको उजुरी प्राप्त भएको छ ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले पार्टीभित्र अनुशासन कायम गरिनुपर्ने बताएकी छन् । अनुशासनको कारबाही गर्दा पार्टी छाड्ने क्रम चल्छ कि भनेर डराउन नहुनेतर्फ जोड दिँदै उनले अनुशासनले झन् पार्टीलाई भलो गर्ने बताइन् ।
उनले भनिन्, ‘अहिले धेरै नेताहरू भन्ने गर्नुहुन्छ, पार्टीमा कारबाही भयो भने सबै बाहिर जान्छन् भन्ने भास्य बनाउन खोजिएको छ । त्यो गलत कुरा हो । पार्टीबाट सबै बाहिर जाँदैनन्, घरभित्रै बसेर छुरा हान्नेसँग सतर्क हुने हो, पार्टीका अघि व्यक्ति गौण हुन्छ । अनुशासन समितिलाई अझै कडा बनाउँदै लैजानुपर्छ ।’
उनले अनुशासन समितिले कारबाही दायरालाई अझ फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको उनले बताएकी छन् ।
यस्तै बैठकमा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारमा बसिराख्ने न्यूनतम आधार के हो भनेर निर्धारण गर्नुपर्ने बताए । प्रवक्ता महतले पार्टीको जनाधार खस्किँदै गएकोप्रति गम्भीर ध्यान दिन आग्रह गरे ।
उनले पार्टीले आफ्ना मूल मूल्य–मान्यता, विशेषगरी धार्मिक र सांस्कृतिक पहिचानलाई स्पष्ट र मजबुत रूपमा प्रस्तुत नगरे गम्भीर क्षति हुने बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया