काठमाण्डौंः स्वदेशमा रोजगारीका अवसर नभएर युवाहरू वैदेशिक रोजगारीमा जानेक्रम बढेपछि मुलुकमा रेमिटेन्स आगमनले नयाँ रेकर्ड कायम गरेको छ। अर्थतन्त्रका बाह्य सूचक सवल देखिएका छन्।
चालु आर्थिक वर्ष २०८१/८२ को एघार महिना (साउनदेखि जेठसम्म) १५ खर्ब ३२ अर्ब ९३ करोड रूपैयाँ रमेटिन्स विदेशबाट आएको छ। यो अहिलेसम्मकै सबैभन्दा धेरै हो। पोहोरको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले वृद्धि भएको छ। रेमिटेन्स आप्रवाहसँगै चालु खाता बचतमा छ भने विदेशी विनिमय सञ्चिति निकै बढेको छ। मुद्रास्फीति घटेको छ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक स्थिति प्रतिवेदन अनुसार यो जेठमा मात्र एक खर्ब ७६ अर्ब ३२ करोड रूपैयाँ रेमिटेन्स आएको छ। पोहोर सोही अवधिमा एक खर्ब २८ अर्ब ९१ करोड रूपैयाँ आएको थियो। यसरी हेर्दा रेमिटेन्स आप्रवाह निरन्तर बढेको छ। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ।
११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या चार लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको संख्या तीन लाख आठ हजार ६७ रहेको छ। विदेशी विनिमय सञ्चिति पनि निकै बढेको छ। सञ्चिति २५.९ प्रतिशतले वृद्धि भई २५ खर्ब ६९ अर्ब ३८ करोड रूपैयाँ पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति १५ अर्ब २७ करोड रूपैयाँ रहेकोमा जेठ मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई १८ अर्ब ६५ करोड पुगेको छ। यो एघार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
एघार महिनामा चालु खाता तीन खर्ब सात अर्ब ३१ करोड रूपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता दुई खर्ब ३८ करोड रूपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा दुई अर्ब २६ करोडले बचतमा रहेको छ।
यो अवधिमा खुद पुँजीगत ट्रान्सफर आठ अर्ब ९६ करोड रूपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर पाँच अर्ब ४६ करोड रहेको थियो। यसैगरी, समीक्षा अवधिमा ११ अर्ब नौ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) आठ अर्ब २४ करोड रहेको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति चार खर्ब ९१ अर्ब ४४ करोड रूपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोड रूपैयाँले बचतमा रहेको थियो।
यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चार खर्ब सात अर्ब ६२ करोड रूपैयाँले बढेको छ। यो पोहोरको तुलनामा आठ प्रतिशतले बढेको हो। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई खर्ब ४६ अर्ब ८० करोड (५.१ प्रतिशत) ले बढेको थियो।
वार्षिक विन्दुगत आधारमा २०८२ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.७ प्रतिशतले बढेको छ। त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.५ प्रतिशत र ३६.५ प्रतिशत रहेको थियो।
त्यसैगरी समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.४ प्रतिशत, विकास बैंकहरूको ४.७ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह ६.९ प्रतिशतले बढेको छ। लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६५.० प्रतिशत रहेको छ।
धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १२.० प्रतिशत र ६८.५ प्रतिशत रहेको थियो। यो वर्षको एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.२ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा १२.९ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १३.५ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा १०.९ प्रतिशतले बढेको छ।
महँगी घट्यो
नेपाल राष्ट्र बैंकका अनुसार बजारमा महँगी (मुद्रास्फीति) निकै घटेको छ। मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत छ। पोहोर सोही अवधिमा मुद्रास्फीति ४.१७ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९४ प्रतिशत रहको छ।
पोहोर यी दुई समूहको क्रमशः ५.८५ प्रतिशत र ३.०९७ प्रतिशत मुद्रास्फीति थियो। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.०६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। त्यसैगरी गैरमदिराजन्य पेय पदार्थको ५.१३ प्रतिशत, फलफूलको ३.५१ प्रतिशत र दाल तथा गेडागुडीको २.८५ प्रतिशत , तरकारीको ७.०४, मरमसलाको ३.०६ र माछा तथा मासुको २.९१ प्रतिशत रहेको छ।
त्यसैगरी गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाको ९.४३ प्रतिशत, कपडा तथा जुत्ताचप्पल ६.८२, शिक्षा ५.८८, फर्निसिङ तथा घरायसी उपकरण ५.०६ र सुर्तीजन्य पदार्थको ४.६८ प्रतिशत बढेको छ। ग्रामीण क्षेत्रमा २.९० र सहरी क्षेत्रमा २.६६ प्रतिशतले मूल्यवृद्धि भएको छ। यो अवधिमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत, तराई २.५८, पहाड २.४८ र हिमालमा ४.१८ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। नागरिक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया