असार २१, २०८२ शनिबार July 5, 2025

सीमा नाकामा दिउँसो सुनसान, राति तस्करी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले सीमा नाकाको सुरक्षाका लागि भन्दै ठूलो संख्यामा सशस्त्र प्रहरीको जनशक्ति खटाए पनि विभिन्न बहानामा हुने आवतजावत र अवैध तस्करी रोकिएको छैन ।

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले नाकाबाट हुने आवतजावत तथा अवैध गतिविधि रोक्न खोज्दा कतिपय स्थानमा तस्कर समूहबाट सुरक्षाकर्मीमाथि नै आक्रमणको प्रयाससमेत भएको छ ।

तस्कर समूहका नाइकेले खेतबारीमा हुने कामको बहानामा बाहेक दिउँसोमा हुने आवतजावत रोके पनि कतिपय स्थानमा राति कारोबार चलाउन सक्रिय भएका छन् ।

सरकारले कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा गत चैतबाट नै सीमा नाकाबाट हुने आवतजावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो ।

आइतबार मात्रै बारामा भारतबाट तस्करी गरेर ल्याइएका ४० बोरा रासायनिक मल स्थानीय प्रशासनले बरामद गरेको छ । आइतबार बिहान बाराको सिम्रौनगढ गाउँपालिकाअन्तर्गतका ४ वटा नाका अनुगमनका क्रममा नौवटा मोटरसाइकलमा तस्करी गरी ल्याउँदै गरेको रासायनिक मल बरामद गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

‘अवैध ओसारपसार भइरहेको सूचनापछि अनुगमनलाई तीव्रता दिएका छौं, सीमा नाका त बन्द छ, तस्करी बन्द भएन, तस्करीलाई पनि बन्द गराउनेतर्फ हाम्रो अभियान अघि बढेको छ,’ बाराका प्रमुख जिल्ला अधिकारी पण्डितले राजधानीसँग भने ।

कैलालीमा पनि दिनहुँजसो सुरक्षाकर्मीले तस्करीका सामान बरामद गर्दै आएका छन् । कैलालीमा गत शुक्रबार सशस्त्र प्रहरीले सुर्तीजन्य पदार्थ, प्लास्टिकको डोरी र मबिललगायतका ३ लाख मूल्य बराबरका सामान बरामद गरेको थियो ।

भजनी नगरपालिका–७ हिक्मतपुर र कैलारी गाउँपालिका–३ को भितरियाघाट क्षेत्रबाट भन्सार छलेर ल्याइएका सामान बरामद पछि थप कारबाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको सशस्त्र सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवरले जानकारी दिएका हुन् ।

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले नाकाबाट हुने आवतजावत तथा अवैध गतिविधि रोक्न खोज्दा कतिपय स्थानमा तस्कर समूहबाट सुरक्षाकर्मीमाथि नै आक्रमणको प्रयाससमेत भएको छ ।

यस्तै, पर्साको सिर्सिया क्षेत्रमा समेत भारतबाट दैनिक रूपमा हुने आवतजावतमा कमी आए पनि तस्करी रोकिएको छैन । सो क्षेत्रमा रातिको समयमा स्थानीय व्यपारीले भारततर्फबाट सामान ओसारपसार गर्दै आइरहेको र नेपाली सुरक्षाकर्मीको मिलेमतोमा नै सीमा क्षेत्रमा अवैध कारोबार हुने गरेको स्थानीयले बताउने गरेका छन् ।

यसैगरी, रौतहट ईशनाथ नगरपालिका–६ स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रबाट समेत अवैध गतिविधि सञ्चालन हुँदै आएको । सो क्षेत्रबाट नेपालबाट भारततर्फ मदिरा ओसारपसार हुने गरेको छ ।

गत २३ वैशाखमा झापाको झापा गाउँपालिका–४ स्थित सुकुमबासी बस्तीनजिकै साँझमा दुई भारतीय नागरिक भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर नेपाल छिर्न खोज्दा सशस्त्र प्रहरीले रोकेपछि लगत्तै सयौंका संख्यामा आएका भारतीय नागरिकले सशस्त्रमाथि नै आक्रमण गरेका थिए ।

झापाका अन्य सीमावर्ती नाकामा समेत गत वैशाख र जेठमा सुरक्षाकर्मीमाथि तस्कर समूहबाट पटक पटक आक्रमणको प्रयास भएको थियो ।

त्यस्तै, गत २५ वैशाखमा बाराको सुवर्ण गाउँपालिकाको कबहीगोठ पछगछियाको बाटो हुँदै भारतीयहरू नेपाल छिर्न खोज्दा सीमा क्षेत्रमा तनाव सिर्जना भएको थियो ।

यसैगरी सर्लाही, सिराहा, सप्तरी, महेत्तरी, पूर्वी तथा पश्चिम नवलपरासी, बाँके, कैलालीलगायतका जिल्लाका सीमा नाकामा आवतजावत रोकिएको छैन । ती जिल्लामा पटक पटक रातिको समयमा तस्कर समूहले सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास समेत गर्दै आएका छन् ।

सशस्त्र प्रहरीका हाल सीमा सुरक्षाका लागि सीमा नाकामा १ सय ५३ स्थायी बिओपी सञ्चालनमा ल्याइएको छ भने कोरोना त्रास बढ्दै जाँदा १ हजार २ सय १३ अस्थायी बिओपीसमेत राखिएका छन् ।

सशस्त्र प्रहरीतर्फका मात्रै सीमा सुरक्षाका लागि २९ हजार जनशक्ति परिचालन गरिएको सशस्त्र प्रहरीका डिआइजी एवं प्रवक्ता राजु अर्यालले जानकारी दिए ।

यसैगरी, भिआइपीका सुरक्षामा खटाइएका, उद्योग, राजस्व र भन्सार गुल्ममा खटाएका ४ हजार ६ सय ४० जना जनशक्ति समेत गरी सीमा सुरक्षामा नै पठाइएको डिआइजी अर्यालले जानकारी दिए । उनीहरूलाई सीमा सुरक्षा मात्र हेर्ने जिम्मेवारीसहित रिजर्भ गण नै स्थापना गरेर राखिएको हो ।

सरकारले सीमा नाकाको सुरक्षा मजबुत राख्न भन्दै बिओपी संख्या पाँच सय बढी पु-याइने बताउँदै आएको छ । त्यसका लागि गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीलाई निर्देशनसमेत दिइसकेका छन् ।

‘पहिले २५ देखि ५० किलोमिटरको दूरीमा बिओपी थिए, अहिले आधा दूरी कम रहने गरी बिओपी थप भइसकेका छन्, अब नयाँ बिओपी स्थापना हुँदा ३ देखि ५ किलोमिटरको दुरीमा रहने गरी तयारी भइरहेको छ,’ गृह मन्त्रीका राजनीतिक सल्लाहकार सूर्य पथिकले भने ।

हाल नेपालतर्फको सीमा नाकामा भारततर्फका ५ सय ३० बिओपी सञ्चालनमा छन् । सशस्त्र प्रहरीले बिओपीको संख्या बढाउँदा त्यही अनुपातमा जनशक्ति परिचालन गर्न ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव गृहमन्त्रीसमक्ष गर्दै आएको छ ।

हाल एक बिओपीबाट अर्को बिओपी सरदरमा १५ किलोमिटरको दूरीमा छ भने प्रत्येक स्थायी बिओपीमा प्रहरी निरीक्षकको कमान्डमा ३५ जना सशस्त्र प्रहरी खटिएका छन् । तर, बिओपीको संख्या बढेर ५ सय पुग्दा एक बिओपीबाट अर्को बिओपीको दुरी करिब साढे तीन किलोमिटर हुने सशस्त्र प्रहरीको अनुमान छ ।

गृह मन्त्रालयको नेतृत्वमा थापा आउनुअघि सीमा क्षेत्रमा ८७ वटा स्थायी बिओपी सञ्चालित थिए । थापाले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सो संख्या बढाएर १ सय ५३ पुगेको हो ।

नेपालको भारतसँग करिब १ हजार ८ सय ८० र चीनसँग १ हजार ४ सय १४ किमि सीमा जोडिएको छ । हालसम्म सबै स्थायी बिओपीमा गरी सशस्त्र प्रहरीका करिब ५ हजार जनशक्ति सीमा सुरक्षामा खटिएका छन् । हाल सशस्त्र प्रहरीको कुल दरबन्दी ३७ हजार १ सय १७ छ । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार