काठमाडौंः राजधानी काठमाडौं लगायत देशका विभिन्न जिल्लामा रहेका मालपोत कार्यालय, घरजग्गा खरिदकर्ता र दलालको मिलेमतोमा जग्गाको कम थैली कायम गरी करोडौं रुपैयाँ अनियमितता भएको पाइएको छ ।
मालपोत कार्यालयबाट पारित हुने लिखितमा जग्गाको बाटोको स्तरका आधारमा न्यूनतम मूल्यांकन पुस्तिकामा दरभन्दा घटी थैली कायम गरी राजीनामा पास गर्न नमिल्ने कानुनी प्रावधान छ । तर, सो कानुनी प्रावधानविपरीत मालपोत कार्यालय, दलाल तथा जग्गा बिक्री र खरिद गर्नेहरूको मिलेमतोमा करोडौंको झेल हुने गरेको छ ।
महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७६-७७ मा मुलुकका विभिन्न मालपोत कार्यालयमा देखिएको विकृतिका कारण राज्यकोषमा करोडांैको क्षति पुगेको ठहर गर्दै सो रकम असुल उपर गर्न सरकारलाई निर्देशन दिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार मालपोत कार्यालय डिल्लीबजारले जग्गाको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लेख गरेभन्दा घटी थैली कायम गरी लिखित पारित गर्दा ११ निःसर्गकर्ताको ४ करोड २४ लाख ७५ हजार, चावहिलका ३ निःसर्गकर्ताको ३ करोड ५ लाख ८८ हजार, परासीका २ निःसर्गकर्ताको ३ करोड ९ लाख ८६ हजार, कलंकीका ६ निःसर्गकर्ताको १ करोड ६५ लाख ८४ हजारसमेत गरी १६ कार्यालयका ५० निःसर्गकर्ताको १८ करोड ५९ लाख ७७ हजार रुपैयाँ थैली रकम घटी कायम भएको पाइएको छ । जसअनुसार थैली कम हँुदा रजिस्टेसन दस्तुर ७४ लाख ५३ हजार रुपैयाँ घटी लिएर राज्यकोषलाई घाटा पारेको महालेखाको ठहर छ ।
महालेखाका अनुसार ती कार्यालयले जग्गा बिक्रीका क्रममा पुँजीगत लाभकर ८७ लाख १३ हजार रुपैयाँसमेत नलिएको पाइएकाले सम्बन्धित कार्यालयका कर्मचारीबाट असुल उपर गराउन सरकारलाई निर्देशन दिएको छ ।
महालेखा परीक्षकको कार्यालयका अनुसार मालपोत कार्यालय डिल्लीबजारअन्तर्गतको एक प्रालिले काठमाडौं महानगरपालिका वडा नम्बर ११ को कित्ता नं २४२५ को ६ रोपनी जग्गाको कारोबारमा समेत गोलमाल गरेको पाइएको छ ।
जसअन्तर्गत सो जग्गाको ८८ करोड ३ लाख ३० हजार र भवनको ३६ करोड ९६ लाख ७० हजार रुपैयाँसमेत गरी १ अर्ब २५ करोड रुपैयाँ थैली कायम गरी निसर्ग गरिएको थियो । लिखितसाथ संलग्न मूल्यांकनको लागत निर्धारण तालिकामा घरको मूल्य ४० करोड ७५ लाख ४४ हजार रुपैयाँ उल्लेख गरेकाले सोहीअनुसार थैली कायम गर्नुपर्नेमा ३ करोड ७८ लाख ७४ हजार रुपैयाँ घटी थैली कायम गरी बदमासी गरेको पाइएको छ ।
घटी थैली कायम गर्दा सो रकममा ५.५ प्रतिशतले हुने रजिस्ट्रेसन दस्तुर २० लाख ८३ हजार र १० प्रतिशतले हुने अग्रिम कर ३७ लाख ८७ हजार रुपैयाँसमेत गरी ५८ लाख ७१ हजार रुपैयाँ अनियमित भएको महालेखाले औँल्याएको छ । अनियमित भएको रकम सम्बन्धित अधिकारीबाट असुल उपर गराउन समेत महालेखाले सरकारलाई निर्देशन दिएको छ ।
महालेखाका अनुसार भूमि व्यवस्था तथा अभिलेख विभागको परिपत्रबमोजिम एकपटक कायम भएको थैली घटाउन नमिल्ने प्रावधान छ । तर, सो प्रावधानविपरीत मालपोत कार्यालय चन्द्रनिगाहपुर, वीरगन्ज र डिल्लीबजारका ९ निःसर्गकर्ताले कर्मचारीको मिलेमतोमा एकपटक कायम भइसकेको थैली रकमभन्दा ८५ लाख ३७ हजार रुपैयाँ घटाई निसर्ग गरी अनियमितता गरेको पाइएको छ । जसका कारण रजिस्ट्रेसन दस्तुरबापत ३ लाख ९८ हजार र पुँजीगत लाभकर २ लाख ३५ हजारसमेत गरी ६ लाख ३३ हजार रुपैयाँ राजस्व छली भएको पाइएको महालेखाले औंल्याएको छ ।
यस्तै, मालपोत कार्यालय चावहिल, डिल्लीबजार र मनमैजुअन्तर्गतका चार निःसर्गकर्ताले जग्गाको वास्तविक कारोबारदेखि बैनाको लिखतमा उल्लेख गरेकोभन्दा २ करोड १० लाख ९६ हजार घटी थैली कायम गरी रजिस्ट्रेसन दस्तुर ९ लाख ४९ हजार र लाभकर १० लाख ३४ हजार गरी १९ लाख ८३ हजार रुपैयाँ राजस्व ठगी भएको पाइएको छ ।
महालेखाको प्रतिवेदनअनुसार मालपोत कार्यालयबाट लिखतपास भएका कित्ताहरूको नापी नक्सा भिडान गर्दा नक्सामा देखिएभन्दा फरक सिफारिस भई आएको मालपोत कार्यालय कलंकीका ५ निःसर्गकर्ताको ६ करोड ८४ लाख १९ हजार, भक्तपुरका ६ निःसर्गकर्ताको ५ करोड १९ लाख १२ हजार, टोखाका ३ निःसर्गकर्ताको ५ करोड २५ लाख ५७ हजार समेत गरी ५ कार्यालयका २८ निःसर्गकर्ताको २४ करोड २९ लाख २६ हजार रुपैयाँ थैली रकम घटी कायम हुन गई रजिस्ट्रेसन शुल्क १ करोड ६ लाख १६ हजार र पुँजीगत लाभकर १ करोड ३७ लाख ३० हजार समेत २ करोड ४३ लाख ४६ हजार घटी असुल भएको हुँदा सो रकम असुल उपर गराउनसमेत महालेखाले भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।
महालेखाका अनुसार मालपोत कार्यालय कलंकीअन्तर्गतको एक कम्पनीले साविक मच्छेगाउँ गाउँविकास समिति ९ स्थित १७ रोपनी ४ आना १ पैसा जग्गाको स्थानीय तहले घरबाटोको सिफारिस गर्दा बाटो नभएको सिफारिस गरी सोहीबमोजिम २ करोड ७ लाख १९ हजार रुपैयाँ थैली अंक कायम गरी कारोबार गर्दा समेत अनियमितता भएको पाइएको छ ।
लेखा परीक्षणको क्रममा स्थलगत निरीक्षण गर्दा कित्ता नम्बर ६५ मा पक्की बाटो जोडिएको र सो कित्ता नम्बर २६ मा कच्ची बाटो जोडिएको देखिन्छ । तर, नापी कार्यालयबाट प्राप्त नक्साअनुसार कित्ता नम्बर २६ मा कच्ची बाटो जोडिएको र सो कित्तासँग कित्ता नम्बर ५२ र ५३ समेत जोडिएको हुँदा क्रमशः पक्की बाटो र कच्ची बाटोको मूल्यांकन ६ करोड २४ लाख ५० हजार रुपैयाँ थैली कायम गरी कारोबार गर्नुपर्नेमा ४ करोड १७ लाख ३१ हजार घटी थैली कायम हुन गएकाले घरबाटोको सिफारिसकर्तालाई समेत जिम्मेबार बनाई रजिस्ट्रेसन शुल्क, बाग्मती सभ्यता शुल्क र पुँजीगत लाभकरसमेत ६० लाख ५१ हजार असुल उपर गर्नुपर्ने ठहर महालेखाले गरेको छ । राजधानीबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया