श्रावण १९, २०८३ मंगलबार August 4, 2026

चितवनमा पन्ध्र दिनमा २० जनामा डेङ्गु सङ्क्रमण

सङ्क्रमितमध्ये १४ जना चितवनका हुन भने ६ जना जिल्ला बाहिरका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । साउन यता यहाँका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार सात सय ९८ जनाको परीक्षणका क्रममा उनीहरूमा डेङ्गुको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये १४ जना चितवनका हुन भने ६ जना जिल्ला बाहिरका रहेका छन् । भरतपुर महानगरपालिकाका– सात, खैरहनी नगरपालिकाका तीन तथा रत्ननगर र कालिका नगरपालिकाका दुई दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमा पाँच पुरुष र नौ महिला रहेका उहाँले जानकारी दिनुभयो ।

वर्षा हुने र घाम लाग्दा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ र असोजमा डेङ्गुको सङ्क्रमण देखिने गर्दछ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिनुभयो ।

यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरलगायतमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फूल पार्ने गर्दछ । यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्षण देखा पर्छ । डेङ्गु ज्वरोबाट बच्ने मुख्य उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो । यस्तै आफू बस्ने ठाउँ वरिपरि फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रम, पुराना टायर आदिमा पानी जम्न दिन हुँदैन ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया