असार २१, २०८२ शनिबार July 5, 2025

उच्च जोखिममा कैदीबन्दी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः राजधानीको केन्द्रीय कारागारमा १३ वर्षदेखि एक कैदी लागूऔषध मुद्दामा सजाँय भोगिरहेका छन् । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि उनलाई अब ज्यानको चिन्ता बढिरहेको छ । बुधबार कान्तिपुरसँग सम्पर्कमा आएका उनले भने, ‘दुई वर्षअघि लागू भएको कानुन सरकारले कार्यान्वयन गरिदिएको भए कोरोना महामारीमा हामी यसरी कोचाकोच गरेर बस्नु पर्दैन थियो ।’

लागूऔषध मुद्दामै केन्द्रीय कारागारमा रहेका अर्का कैदीको पनि गुनासो उस्तै छ । यी दुवै कैदीले ‘फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४’ को दफा २९ अनुसार प्यारोल सुविधामा बस्न पाउनुपर्ने माग गरेका हुन् ।

कानुनमा उमेर, बालबच्चा र कसुर सजाय भुक्तानका आधारमा सुविधा दिने व्यवस्था छ तर यी सुविधाबाट कैदी वञ्चित भएका छन् । २०७५ भदौ १ गतेदेखि लागू भएको ऐन कार्यान्वयनका लागि आवश्यक नियमावली र कार्यविधि/निर्देशिका अझै बनेको छैन । त्यतिमात्र होइन, यसअन्तर्गतका भौतिक संरचना निर्माण हुन सकेको छैन । दुई तिहाइभन्दा बढी सजाय भुक्तान गरिसकेका कैदीलाई बाँकी सजाय तोकिएको कार्यविधिभित्र रहेर घरबाटै भुक्तान गर्न मिल्ने विधि प्यारोल हो ।

उक्त ऐनको दफा २५ देखि ३१ सम्मका व्यवस्था कार्यान्वयन गर्न सरकारले सुधार गृह, पुनःस्थापना केन्द्र, खुला कारागारका संरचना बनाउनुपर्ने हुन्छ । त्यस्तै प्यारोल विधि लागू गर्न पनि कार्यविधि र निर्देशिका आवश्यक पर्छ । २०७५ भदौ १ गतेबाट लागू गरिएको उक्त कानुनअनुसार प्यारोल सुविधा पाउनेमा लागूऔषध र संगठित अपराधमा दुई तिहाइ सजाय भुक्तान गरेका कैदी पर्छन् । महान्यायाधिवक्ता अध्यक्ष रहने प्रोवेसन तथा प्यारोल बोर्डको सिफारिसमा यस्ता कैदीलाई सम्बन्धित जिल्ला न्यायाधीशले बाँकी सजाय घरमै बसेर भुक्तान गर्न मिल्ने आदेश दिन सक्छन् । त्यतिमात्र होइन, कैद भुक्तानरत व्यक्तिलाई सुधारगृह, खुला कारागार र उमेर हेरेर कैद मिनाहा गर्न सक्ने पनि व्यवस्था ऐनमा छ ।

बलात्कार, डाँका, भ्रष्टाचारलगायत १५ वटा कसुरमा भने यो सुविधा दिन नपाइने उल्लेख छ तर न यसअनुसार खुला कारागार निर्माण भइसकेको छ न यसको क्षमता धान्न सक्ने गरी सुधारगृह नै निर्माण गरिएको छ । बाँकेमा खुला कारागार बन्ने क्रममा छ तर त्यो कहिलेसम्म तयार भइसक्ने कुनै ठेगान छैन । २०७७ वैशाख १७ गते सर्वोच्च अदालतले पनि कोरोना महामारीका कारण कारागार उच्च जोखिममा रहेको र ऐनमा भएका व्यवस्था कार्यान्वयन गर्न सरकारलाई आदेश दिएको थियो ।

संक्रमणको जोखिमलाई मध्यनजर गरेर प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले असार ३० गते सरकारलाई निर्देशन दिँदै ऐनमा भएका व्यवस्था लागू गर्न स्मरण गराएको थियो । समिति सभापति शशि श्रेष्ठको नेतृत्वमा सांसदहरूले २०७६ मंसिर ११ गते केन्द्रीय कारागारको निरीक्षण तथा अनुगमन गरेका थिए । पछिल्ला यी आदेश, निर्देशन तथा कानुनमा भएका बाध्यकारी व्यवस्था लागू गर्न महान्यायाधिवक्ता कार्यालय र कारागार व्यवस्थापन विभाग नियमावलीको मस्यौदा निर्माणमा जुटेका छन् । तर कोरोना महामारीमा अपनाउनुपर्ने भौतिक दूरी, अन्य स्वास्थ्य सावधानी र सोहीअनुसार पूर्वाधार अभावले थप जोखिमलाई बढावा दिएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले कारागार र संक्रमणको जोखिम तथा ऐन कार्यान्वयनमा भएको ढिलासुस्तीबारे थुप्रै उजुरी परेको बताइन् । ‘कारागार संक्रमणको उच्च जोखिममा छ तर त्यसअनुसार गर्नुपर्ने काम र सक्रियता सरकारबाट भएको देखिएन,’ अन्सारीले भनिन्, ‘कम्तीमा संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि कारागारमा उमेर र सजायको समूह बनाएर छुट्टाछुट्टै राख्न त सकिन्छ नि,’ उनले भनिन्, ‘त्यसका लागि गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग तथा महान्यायाधिवक्ता कार्यालयबाट विशेष पहल आवश्यक छ ।’ संक्रमणको जोखिमका कारण कारागारमा अनुगमन गर्न जान नसकिएको र अहिले टेलिफोनबाटै वस्तुस्थिति बुझिरहेको उनले बताइन् । आयोगले सर्वोच्च अदालतको आदेश र संसदीय समितिको निर्देशन कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गरिएको उनले बताइन् ।

हालसम्म केन्द्रीय, पर्सा, बाँके, सुनसरी (झुम्का), सिरहा र सिन्धुपाल्चोक कारागारमा सजाय भुक्तानरत कैदी तथा थुनुवा, कर्मचारी र सुरक्षाकर्मी गरी १ सय १३ जनामा कोरोना संक्रमण देखिइसकेको छ । ४८ जना सुरक्षाकर्मी, ५८ कैदीबन्दी र ७ जना कर्मचारी संक्रमित भएकामा ७१ जना निको भइसकेका छन् । ४२ जनाको विभिन्न जिल्लाका आइसोलेसनमा उपचार भइरहेको विभागले जनाएको छ । तर संक्रमण रोकथाम तथा न्यूनीकरण गर्ने र कैदीको चाप कम गर्ने रणनीति प्रभावकारी रूपमा लागू हुन सकेको छैन ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले महामारीको जोखिमबाट कैदबन्दीलाई टाढै राख्न सबै किसिमका उपाय अपनाइएको बताए । ऐनमा भएका व्यवस्था कार्यान्वयन गरेर प्रोवेसन र प्यारोल विधि पालनामा काम भइरहेको उनले बताए । यसका बाबजुद संक्रमणका कारण कतिपय पहल छिटो गर्न नसकिएको उनले बताए । संक्रमण देखिएका ७ जिल्लामा मात्रै भदौ १ गतेसम्मको विवरणअनुसार कैदीबन्दी संख्या ७ हजार ६ सय २६ छ । तीमध्ये ६ सय १५ जनाको मात्रै पीसीआर परीक्षण गरिएको छ । केही दिनअघि केन्द्रीय कारागारमा कैदीबन्दीलाई रुघा/खोकी र ज्वरो देखिएपछि थप ५९ जनाको पीसीआर परीक्षण गरिएकामा रिपोर्ट आउन बाँकी छ ।

विभागका महानिर्देशक पोखरेलका अनुसार महामारी फैलिएसँगै कारागारमा बाहिरबाट मानिसको भेटघाट बन्द गरिएको छ । कैदी तथा थुनुवालाई प्रवेश दिनुअघि अनिवार्य रूपमा पीसीआर परीक्षण र अदालत–कारागार ओहोरदोहोर गर्दा सुरक्षाकर्मीलाई अनिवार्य रूपमा पीपीई सेटको व्यवस्था गरिएको उनले बताए ।

थोरै मात्रै पीसीआर परीक्षण

केन्द्रीय कारागारसहित ठूला र मझौला गरी ७ कारागारमा सजाय भुक्तान गरिरहेकामध्ये १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तिनमा ४२ जना उपचाररत छन्, अन्यलाई निको भइसकेको छ । सबैभन्दा बढी उपचाररत संक्रमित केन्द्रीय कारागारमा छन् । केन्द्रीय कारागारभित्रका भद्रगोल र महिला बन्दीगृहमा गरी २८ जना कैदी र सुरक्षाकर्मी उपचाररत छन् । केन्द्रीय कारागारमा २ सय ३३ जनाको परीक्षण भएको थियो । यहाँ ३ हजार १ सय कैदीबन्दी रहेको विभागका सूचना अधिकारी देवर्षी सापकोटाले बताए । त्यसैगरी पर्साको वीरगन्ज कारागारमा १ हजार १ सय ९९ जना कैदीबन्दी रहेकामा ३३ कैदी, १७ सुरक्षाकर्मी र ६ कर्मचारीमा संक्रमण देखिएको थियो । हाल ५ जना उपचाररत छन् । कारागारको संख्याभन्दा निकै कम १ सय ४६ जनाको मात्रै पीसीआर परीक्षण गरिएको थियो ।

कारागार कार्यालय बाँके (नेपालगन्ज) मा ७ सय ७४ जना कैदीबन्दी रहेकामा १ सय २ जनाको मात्रै पीसीआर परीक्षण गरिएको थियो । त्यसमध्ये ८ जना कैदी र १ सुरक्षाकर्मीमा संक्रमण देखिएकामा सबै निको भइसकेका छन् । जिल्ला कारागार सिरहामा ५ सय ५९ जना कैदीबन्दी रहेकामा हालसम्म कैदी, सुरक्षाकर्मी र कर्मचारी गरी ३० जनाको मात्रै पीसीआर परीक्षण गरिएको छ । त्यसमध्ये ९ जनामा संक्रमण देखिएकामा ८ कैदी र १ सुरक्षाकर्मी थिए । विभागका अनुसार सबै संक्रमणमुक्त भइसकेका छन् । अन्य कैदीको भने परीक्षण गरिएको छैन । साविकको क्षेत्रीय कारागारका रूपमा रहेको सुनसरीको झुम्कामा १ हजार १ सय १७ जना कैदीबन्दी छन् । परीक्षण भने २६ जनाको मात्रै गरियो ।

धनुषाबाट जिल्ला स्थानान्तरण गरिएका कैदी तथा थुनुवा ६ जनामा संक्रमण देखिएको थियो । तीन जना निको भइसकेका छन् । बाँकीको धरानमा उपचार भइरहेको छ । यसैगरी जिल्ला कारागार स्याङ्जामा १ सय ५७ जना कैदीबन्दी छन् तर परीक्षण २२ जनाको मात्रै गरियो । त्यसमा ३ सुरक्षाकर्मी र १ बन्दीमा संक्रमण देखिएकामा उपचारपछि सबै निको भइसकेका छन् । जिल्ला कारागार सिन्धुपाल्चोकमा १ सय २० जना कैदीबन्दी छन् । सबै कैदी र कर्मचारी तथा सुरक्षा कर्मीसहित १ सय ४३ जनाको पीसीआर परीक्षण गरिएकामा कर्मचारी र कैदी २ जनामा संक्रमण देखिएको थियो ।

महानिर्देशक पोखरेलले जोखिम र आवश्यकताका आधारमा परीक्षण भइरहेको बताए । ‘कारागार भनेको यसै पनि सबैको पहुँचभन्दा टाढै रहन्छ, एक किसिमको अटो आइसोलेसन नै हो,’ पोखरेलले भने, ‘अलि जोखिम भनेको जनतासँग आउजाउ भइरहने र नागरिक सुरक्षामा खटिने प्रहरी हुन्, कारागारमा खटिने सुरक्षाकर्मीलाई पनि त्यहीअनुसार सावधानी अपनाएर परिचालन गरिँदै आएको छ ।’

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले एक वर्षभन्दा कम सजाय भएका ६ सय ८० जना कैदीलाई रिहा गरेको छ । त्यसमध्ये गणतन्त्र दिवसका दिन राष्ट्रपतिबाट २ सय ३३ जनाको सजाय मिनाहा भएको हो भने बाँकीलाई अभिभावक र आफन्तको जिम्मा लगाएर छोडिएको हो । अदालतको आदेशमा रिहा भएका कैदीको जेलबाट मुक्त भए पनि कैदीसरह जेलमा अभिलेख रहन्छ । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया