बैसाख ५, २०८३ शनिबार April 18, 2026

सरकारले नै शिक्षा विधेयक अड्काएको अध्यक्ष दाहालको आरोप

आफू नेतृत्वको सरकार हुँदा विश्वविद्यालयमा हुने राजनीतिक भर्ती केन्द्रलाई तोडेर मेरिटोक्रेसिमा नियुक्तिको थालनी गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २२ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयक वर्तमान सरकारले नै अड्काएको आरोप लगाउनुभएको छ ।

राष्ट्रियसभागृहमा आज माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले आयोजना गरेको ‘विद्यार्थीसँग कमरेड प्रचण्ड, शैक्षिक संवाद’ कार्यक्रममा अध्यक्ष दाहालले सुरुमा एमाले र कांग्रेसकै कारण विधेयक आउनै ढिला भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारको सार्वजनिक शिक्षा सुधारतर्फ ध्यान छैन ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले विद्यार्थीका लिखित प्रश्नको जवाफ दिने क्रममा संसद्बाट विद्यालय शिक्षा विधेयक पारित भएका खण्डमा र उच्चस्तरीय शिक्षा सुधार आयोगका सुझाव कार्यान्वयन गरेका खण्डमा वर्तमान शिक्षाका समस्या धेरै हल हुने पनि बताउनुभयो ।

अध्यक्ष दाहालले आफू नेतृत्वको सरकार हुँदा विश्वविद्यालयमा हुने राजनीतिक भर्ती केन्द्रलाई तोडेर मेरिटोक्रेसिमा नियुक्तिको थालनी गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो, शिक्षामा सुधार नगरी अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन, त्यसकारण अब अर्काे क्रान्ति चाहिएको छ भनेर मैले भनेको हो, त्यो क्रान्ति सशस्त्र क्रान्ति भनेको होइन ।”

उहाँले शिक्षामा आमुल परिवर्तनका लागि सामूहिक सङ्कल्प र प्रतिबद्धताको खाँचो रहेको बताउनुभयो । अहिले विद्यालय शिक्षा विधेयक पारित भएर ऐन बनेका खण्डमा धेरै समस्याहरु हल हुनेतर्फ ध्यानाकर्षण गराउँदै उहाँले त्यसलाई छिटो कार्यान्वयनमा लैजान जरुरी रहेको बताउनुभयो ।

शिक्षालाई सीपयुक्त र रोजगारीमा जोड्नुपर्नेमा जोड दिँदै उहाँले शिक्षालाई राज्यले जिम्मेवारी लिनुपर्ने बताउनुभयो । अहिलेसम्म पनि शिक्षामा सुधार हुन नसक्नु विडम्बना भएको बताउँदै अध्यक्ष दाहालले सोचेअनुसारको सुधारात्मक शिक्षा नीति कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्नुभयो ।

सङ्घीय निजामती ऐनमा ‘कुलिङ पिरियड’ जस्तै शिक्षा विधेयकमा पनि जालझेल भएको जानकारी गराउँदै ती कर्मचारीलाई नसिहद दिएर फेरि विधेयक दर्ता गरिएको बताउनुभयो । उहाँले जीवनोपयोगी, सीपयुक्त र रोजगारमूलक शिक्षा नै आजको आवश्यकता भएको पनि उल्लेख गर्नुभयो । राससबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया