असार २१, २०८२ शनिबार July 5, 2025

कोरोना कहरः साँढे तीन घण्टामा एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः पछिल्ला १२ दिनको तथ्यांक हेर्दा नेपालमा कोरोना संक्रमणका कारण साँढे तीन घण्टामा एकजनाका दरले मृत्यु हुन थालेको छ । भदौ लागेपछिका १२ दिनमा नेपालमा ८८ जनाको मृत्यु भएको छ । यस अनुसार प्रतिदिन मृत्यु हुनेको संख्या औसतमा सातभन्दा माथि पुगेको छ । यो मृत्युदरअनुसार हरेक तीन घण्टा ४२ मिनेटमा एकजनाको ज्यान गएको अवस्था देखिएको छ ।

अर्कोतिर विगतमा कुल संक्रमितमध्ये मृत्यु हुने दर ०.२२ प्रतिशतमा झरेकोमा अहिले यो दर बढेर ०.५३ प्रतिशत पुगेको छ । पहिले करिब ५ सयजना संक्रमित हुँदा एकजनाको मृत्यु हुने गरेको थियो भने अहिले दुई सयजना संक्रमित हुँदा एकजनाको ज्यान जान थालेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार पछिल्लो समय कोरोना संक्रमणका कारण विश्वभर प्रति १५ सेकेन्डमा एकजनाको मृत्यु भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नेपालमा भदौपछि संक्रमित र मृत्यु संख्या दुवै बढेको बताए । शुक्रबार एकै दिन १२ जनाको मृत्यु भएको छ । अहिलेसम्म एक सय ९५ जना संक्रमितको ज्यान गइसकेको छ । यस्तै भदौका १२ दिनमा ९ हजार १ सय ४८ जना संक्रमित थपिएका छन् । कोरोनाका कारण विश्वभर हालसम्म ८ लाख ३५ हजारजनाले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या २ करोड ४६ लाख पुगेको छ । तीमध्ये एक करोड ७० लाख मानिस निको भएर घर फर्केका छन् ।

नेपालमा कोरोनाका कारण गत जेठ ३ मा पहिलो मृत्यु भएको थियो । त्यस बेला संक्रमितको संख्या ५ सयभन्दा तल थियो । यसको एक महिनापछि असार १ सम्ममा आउँदा १९ जनाको ज्यान गएको थियो । त्यतिबेला संक्रमितको संख्या ६ हजार ९१ पुगेको थियो । चैत दोस्रो साता देशभर लकडाउन सुरु गरेको सरकारले असार ७ पछि मुलुकका विभिन्न भागलाई आंशिक रूपमा खुला गरेसँगै बजारमा चहलपहल बढ्न पुगेको थियो । यही कारण असारमा संक्रमितको संख्या ह्वात्तै बढेको देखिन्छ । जेठभरमा करिब ६ हजारजना संक्रमित भएकामा असारमा ११ हजार संक्रमित भए । असार अन्त्यमा कुल संक्रमितको संख्या १७ हजार ३ सय पुगेको थियो । यस्तै जेठमा १९ जनाको मृत्यु भएकामा असारमा २० जना थपिएर मृतकको संख्या ३९ पुग्यो ।

जेठ र असारको संक्रमित र मृत्यु संख्या साउनको तथ्यांकसँग तुलना गर्दा संक्रमितको संख्यामा केही कमी आएको छ । तर मृत्यु संख्या भने तीन गुनाले बढी हुन पुगेको छ । साउनमा ९ हजार ९ सय ६४ जना नयाँ संक्रमित थपिँदा मृत्यु हुनेको संख्या ६८ थियो । योसँगै साउन अन्तिमसम्म मृत्यु हुनेको संख्या १ सय ७ पुग्यो । स्वास्थ्य मन्त्रालयका अनुसार अघिल्ला तीन महिना (जेठ, असार र साउन) भन्दा भदौको तथ्यांक भयावह देखिएको छ । भदौका १२ दिनमा नै ८८ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा ९ हजार १ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार भदौमा देखिएको तथ्यांकले आगामी दिन थप भयावह हुने संकेत गरेको छ । कोरोना संक्रमितको घट्दो निको हुने दर र बढ्दो मृत्यदर मुख्य चुनौती रहेको उनीहरूको भनाइ छ । गत जेठमा कोरोना संक्रमितमध्ये मृत्युदर ०.३ प्रतिशत थियो । करिब ४ सयजनालाई कोरोना लाग्दा एकजनाको मृत्यु हुने गरेको थियो । त्यसपछि असारमा यो दरमा केही कमी आएर ०.२२ प्रतिशतमा झरेको थियो । तर साउन र भदौमा यो दर बढेर क्रमशः ०.३९ हुँदै ०.५३ पुगेको छ । अर्कोतिर कोरोना संक्रमितका बिरामीमध्ये निको हुने दर घटिरहेको छ । सुरुका महिनामा निको हुनेको दर ७५ प्रतिशत रहेकामा अहिले क्रमशः घट्दै ५३ प्रतिशतमा आएको छ ।

नेपालमा कोरोना संक्रमितको मृत्युदर विश्वका अन्य मुलुकको तुलनामा ज्यादै कम छ । तर निको हुनेको दर पनि अन्य मुलुकको तुलनामा धेरै कम छ । भारतसहित दक्षिण एसियाली मुुलुकहरूको तुलनामा निको हुने दर नेपालमा कम देखिएको छ । यसले आगामी दिनमा मृत्युदर बढाउन सक्ने र बिरामी धेरै दिनसम्म अस्पतालमा वा होम क्वारेन्टिनमा बस्नुपर्ने अवस्था आउन सक्ने देखाउँछ ।

गत वर्ष डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोभिड १९ का विश्वभर महामारीका रूपमा फैलिएको छ । सरकारले कोभिड नियन्त्रण एवं रोकथामका लागि गत चैत ११ देखि मुलुकमा तीन महिनालामो बन्दाबन्दी (लकडाउन) गरेको थियो । असार ७ देखि मुलुकका विभिन्न भागमा आंशिक खुला गर्दा संक्रमितको संख्या र मृत्युदर बढेपछि फेरि ५२ जिल्लामा निषेधाज्ञा लगाइएको छ । काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा लगाएको १० दिन भइसकेको छ ।

बजार, उद्योग व्यवसाय, सार्वजनिक यातायातलगायत आंशिक खुला गरेको तर त्यसअनुसार संक्रमण रोक्न सरकारका पहल असफल भएपछि पछिल्लो समय स्थिति भयावह हुन पुगेको छ । खासगरी प्रदेश २ का विभिन्न जिल्ला र काठमाडौं उपत्यकाको अवस्था गम्भीर बन्दै गएको छ । पछिल्ला दिनमा मुलुकभरमा सबैभन्दा बढी संक्रमित काठमाडौंमा फेला परेका छन् । काठमाडौंमा अहिले करिब ५ हजार संक्रमितको पहिचान भइसकेको छ । सरकारी अधिकारीहरूले उपत्यकामा १० देखि १२ हजार संक्रमित हुन सक्ने अनुमान गरेका छन् । नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार