काठमाण्डाैंः पोखरीमा डुबेको सात घण्टापछि जिवितै बाहिर निस्केको दाबी गर्ने एक किशोरीको अहिले जिल्लाभरि चर्चा भइरहेको छ । ती किशोरी हुन् सप्तरीको बलानबिहुल गाउँपालिका ६ रौतहटकी १४ वर्षिया मुनचुन कुमारी दास । उनलाई हेर्न र देवी मानी पूजा गर्नेको अहिले गाउँस्थित ठाकुरबाबा मन्दिरमा ठूलो भिड लागेको छ । कोरोनाको जोखिमका बीच धार्मिक आस्थाका आधारमा भिड उर्लिएपछि त्यसलाई व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको छ ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले धार्मिक आस्थाको आधारमा देखिएको भिंड व्यवस्थापन गर्न र सामाजिक दुरी कायम गर्न गराउन अहिले त्यसतर्फ आवश्यक निर्देशनसहित सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् ।
अक्सिजनको संचार हुन नसक्ने सो पोखरीमा डुबेर सात घण्टापछि जिवित्तै निस्केको अनौठो घटना र दाबी गरिएपछि सबै चकित परेका छन् । सात घण्टासम्म पानीमा डुबेर ती किशोरीको ज्यान जोगिनुलाई स्थानिय तथा जनप्रतिनिधिहरुले दैविक शक्ति र चमत्कार मानेका छन् भने कसैले स्वास्थ्य विज्ञानलाई चुनौती भनेका छन् ।
चिकित्सकहरुले भने यस्ता कुरालाई स्वास्थ्य विज्ञानले नस्विकार्ने बताइरहेका छन् । गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेनट डा रन्जित झाले सात/आठ घण्टा अक्सिजन बिना मानिस बाच्न नसक्ने बताउँदै आफूहरुलाई यस्ता कुरामा विश्वास नरहने जिकिर गरे ।
गाउँकै जागेश्वरी जनता मावि कक्षा ८ मा अध्ययनरत मुनचुन कुमारीले आफू फुल टिप्न बिहीबार दिउँसो ४ः३० बजे तिर पोखरीमा पसे लगत्तै एक जना बाबा जस्तो देखिने बृद्ध व्यक्तिले कपाल तानेर भित्र लगेको र धेरै रोई कराई गरेपछि सात घण्टापछि पोखरीको डिलमा ल्याई छाडिदिएको सुनाईन् ।
गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले यो ऐतिहासिक मन्दिर र पोखरीमा बिहीबार भएको घटनाले सबैलाई चकित पारेको बताए । उनले यो घटना सत्य र दैविक शक्तिको नमुना भएको दाबी पनि गरे । वडा अध्यक्ष सूर्यनारायण दासका अनुसार बिहीबार दिउँसो ४ः३० बजेतिर राजकुमार दासकी १४ वर्षिया छोरी मुनचुन साथीहरुसँग पोखरी नजिकै घाँस काट्न गएकी थिइन् ।
सोही क्रममा पोखरीमा एउटा मनमोहक फुल फुलेको देखेपछि घाँस काट्न छाडेर पोखरीमा पसेकी थिइन् । फुल नजिकै पुगेपछि अचानक उनी डुबेर बेपत्ता भईन् । सो बारे खबर पाउनासाथ प्रहरीस र गोताखोरहितको टोली पुगेर सातघण्टासम्म खोजतलास गरेपनि उनी फेला नपरेको वडा अध्यक्ष दासले सुनाए ।
राती परिसकेकाले भोली बिहान पुनः खोजतलास गर्ने सल्लाह गरि फर्किन लाग्दा एक्कासी मुनचुनको चिच्याएको आवाज सुनेको र फर्किदा पुरै शरीर भिजेको र रोइरहेको अवस्थामा उनी फेला परेको वडा अध्यक्ष दासको भनाई छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया