असार २१, २०८२ शनिबार July 5, 2025

पुजारी हत्यापछि वडाध्यक्ष नै फरार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः रौतहटको माधवनारायण नगरपालिका-२, खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको भदौ ३ गते राति पौने ९ बजेतिर अज्ञात समूहले गोली हानी हत्या गर्‍यो । हत्यामा संलग्नको खोजी गर्ने क्रममा प्रहरीको ‘अनुसन्धान’ देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष शेख नरुल्लाहतिर सोझियो ।

नरुल्लाह जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता हुन् । उनको करुनियामा घर छ । २०७४ को स्थानीय निर्वाचनमा उनले तत्कालीन संघीय समाजवादी पार्टीका तर्फबाट चुनाव जितेका थिए । प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको अनुसन्धान टोली वडाध्यक्ष नरुल्लाहको खोजीमा जुटे तर नरुल्लाह पुजारीको हत्या भएको दिनदेखि घरमा छैनन् । उनीसँगै अन्य तीन जना फरार रहेको प्रहरी स्रोत बताउँछ । उनी घटना भएकै दिन भागेर भारत पुगिसकेको प्रहरीको आशंका छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट र प्रदेश प्रहरी कार्यालय जनकपुर स्रोतका अनुसार नरुल्लाह चुनावअघिसम्म रौतहट प्रहरीको सुराकीमा पटकपटक प्रयोग भएका व्यक्ति हुन् । २०६४ सालबाटै प्रहरी अधिकारीहरूलाई प्रभावमा पारेर अपराध धन्दा चलाउने गरेका उनी पछिल्लोपटक हत्या आरोपमा खोजीमा परेपछि फरार छन् । पुजारीको हत्या हुनु केही साताअघि नरुल्लाह केही व्यक्तिका साथ मन्दिरनजिकै आएको अनुसन्धानमा संलग्न स्रोतले जानकारी दियो । त्यसबेला पुजारीसँग उनको भनाभन पनि भएको थियो ।

देवाही गोनाहीका मेयर धर्मेन्द्र पटेलले पनि वडाध्यक्ष नरुल्लाह सम्पर्कविहीन भएको बताए । ‘केही समयदेखि उहाँ सम्पर्कमा हुनुहुन्न, कोरोना संक्रमणका बेला जनप्रतिनिधि नै यसरी सम्पर्कविहीन हुनुले गम्भीर आशंका जन्माएको छ,’ उनले भने, ‘मैले धेरैपटक सम्पर्क गर्न खोजें तर हुन सकेको छैन । पुजारीको हत्यामा नरुल्लाहजीको पनि नाम जोडिएको भन्ने सुनेको छु ।’ मेयर पटेल जसपाका रौतहट जिल्ला संयोजक हुन् । हाल फरार रहेका उनी वडाध्यक्षबाहेक पार्टीको अन्य भूमिकामा नरहेको मेयर पटेलले बताए ।

जिल्लाभित्र हुने आपराधिक गतिविधिको प्रहरीमा सुराकी दिएपछि नरुल्लाह २०७० अघिसम्म चर्चामा थिए तर आवरणमा प्रहरी सुराकी बनेका उनको धन्दा भित्रभित्रै आफ्नै अपराधको जालो सञ्चालनमा देखिएपछि ६ वर्षअघि उनलाई प्रहरीले पक्राउ गर्न पनि खोज्यो । भागेर बसेका नरुल्लाहले पछि संघीय समाजवादीबाट चुनाव उठेर वडाध्यक्षमा जितेका थिए । चुनाव जित्नुमा पनि उनले प्रहरीसँगको सुराकी सम्बन्धलाई प्रयोग गरेको स्रोत बताउँछ ।

नरुल्लाहकै वडाका सदस्य कृष्णनन्दन यादवले दस दिनदेखि उनी सम्पर्कविहीन भएको बताए । ‘नरुल्लाहजीको फोन पनि लाग्दैन, वडामा कसैलाई जिम्मेवारी दिनुभएको छैन, हामीले सिफारिसको कागजमा हस्ताक्षर गर्न कैयौंपटक सम्पर्क गर्न खोज्यौं,’ उनले भने, ‘सम्पर्क हुन सकेको छैन । पुजारी हत्यामा नरुल्लाहजीको पनि नाम जोडिएको भन्ने सुनेका छौं ।’

प्रहरीले देशभर अपराध अनुसन्धान तथा नियन्त्रणका लागि घुमुवा प्रहरी खटाउँदै आएको छ । घुमुवासँगै प्रहरीले संदिग्ध व्यक्तिहरूलाई सुराकीका रूपमा परिचालन गर्छ । उनीहरूका गलत धन्दाले प्रहरी संगठन नै बदनाम हुने गरेको छ । पुजारी हत्यापछि फरार रहेका नरुल्लाह त्यसको पछिल्लो उदाहरण हुन् । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार