काठमाडौंः दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री गर्नसक्ने सुविधा सेवा प्रदायकलाई थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणले हालै मात्र सिमकार्ड प्रयोगसँग सम्बन्धित यो नयाँ व्यवस्था गरेको हो । ‘अब सिमकार्ड प्रयोग नभएको एक वर्षपछि मात्र सेवा प्रदायकले सिमकार्ड पुनः बिक्री गर्न पाउने छन्, प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने ।
सिमकार्ड खरिद गर्ने तर प्रयोग नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्राधिकरणले पहिलोपटक २०७१ चैत २ गते त्यस्तो निर्णय गरेको थियो । प्रयोगविहीन सिमकार्ड निष्क्रिय गर्नुपर्ने अवधि अहिले पनि छ महिना नै कायम छ तर त्यसरी निष्क्रिय गरेको छ महिनासम्म बिक्री गर्न नपाउने गरी प्राधिकरणले पछिल्लो निर्णय गरेको हो ।
छोटो समयमै सिमकार्ड पुनः बिक्रीको सुविधाले त्यही नम्बर प्रयोग गरिएको बैङ्क खाता, सामाजिक सञ्जाललगायतको डेटा असुरक्षित हुन सक्ने सम्भावनालाई ध्यानमा राखी यस्तो निर्णय भएको अर्यालले बताए । नम्बर दुरुपयोग हुनसक्ने सम्बन्धमा नेपाल बैङ्कर्स सङ्घले पनि प्राधिकरणलाई यस्तो अवधि दुई वर्ष पुर्याउन प्राधिकरणलाई अनुरोध गरेको थियो, उनले भने, ‘तर सिमकार्ड सीमित स्रोत भएकाले एक वर्षसम्म बिक्री गर्न नपाउने निर्देशन जारी गरेका हौँ ।’
प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार जेठसम्म तीनवटा सेवा प्रदायकले तीन करोड ७० लाख सिमकार्ड बिक्री गरिसकेका छन् । यद्यपि गत वर्ष मङ्सिरसम्म बिक्री भएको सिमकार्डको सङ्ख्या चार करोड २० लाख थियो । गोरखापत्रबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया