श्रावण १९, २०८३ मंगलबार August 4, 2026

मिक्लाजुङ अस्पताललाई ल्याब उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

विश्व स्वास्थ्य संगठन (WHO) सँग सम्झौता भएका एक सय ल्याबमध्ये एउटा ल्याब मिक्लाजुङ अस्पताललाई दिने घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

माेरङ, ८ भदाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मोरङको मिक्लाजुङ गाउँपालिकास्थित मिक्लाजुङ अस्पताललाई व्यवस्थित ल्याब उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन ।

शनिबार मिक्लाजुङमा सम्पन्न मधुमल्ला बाल अस्पतालको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विश्व स्वास्थ्य संगठन (WHO) सँग सम्झौता भएका एक सय ल्याबमध्ये एउटा ल्याब मिक्लाजुङ अस्पताललाई दिने घोषणा गरेका हुन् । उनले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई सरकारको प्राथमिकता भएको उल्लेख गर्दै मधुमल्ला अस्पतालले दिइरहेको गुणस्तरीय सेवाप्रति प्रशंसा गरे  ।

कार्यक्रममा मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले अस्पतालमा दन्त उपचार सेवा शीघ्र सुरु हुने जानकारी दिनुभयो। आवश्यक उपकरण र सामग्री तयारी भइसकेकाले सेवा चाँडै सञ्चालन हुने उनकाे भनाइ थियो। त्यस्तै, उपाध्यक्ष दिनेश पौडेलले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिका अघि बढिरहेको र यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

सोही अवसरमा मधुमल्ला अस्पतालका लागि जग्गा दान गर्ने दाताहरुलाई सम्मान गरिएको थियो। संघीय मन्त्रालय र गाउँपालिकाको संयुक्त अनुदानमा करिब १ करोड ९८ लाख ६१ हजार रुपैयाँ लागतमा निर्माण भएको बालमैत्री अस्पताल भवन हस्तान्तरणसँगै स्थानीय स्तरमा स्वास्थ्य सेवा सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

यसैबीच, शनिबार नै अस्पतालले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा ३४६ जनाको स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिएको अस्पतालले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया