श्रावण १९, २०८३ मंगलबार August 4, 2026

म्याग्दीको दुर्गम नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

आमा समूहको भवनको कोठामा एकाइ स्थापना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी। भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएपछि स्थानीयलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ ।

नामिलाका बासिन्दालाई चिमखोला र घ्याँसीखर्कमा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक थियो । बर्खायाममा पहिरोका कारण सडक र पैदलमार्ग अवरुद्ध हुँदा स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था थियो । एकाइबाट नामिला र कुइनेका करिब एक सय घरपरिवार लाभान्वित भएका स्थानीय मीना बुढाले बताउनुभयो ।

आमा समूहको भवनको कोठामा एकाइ स्थापना गरिएको छ । यसअघि चिमखोलाको पात्ले गाउँमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको थियो । एक जना अनमी खटाएर स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण र खोपसम्बन्धी सेवा दिने व्यवस्था मिलाइएको वडा सदस्य प्रेमबहादुर पुनले बताउनुभयो ।

गत आर्थिक वर्षमा एकाइ परिसरमा सार्वजनिक शौचालय निर्माण भएको र यस वर्ष भवन बनाइने उहाँले बताउनुभयो । नामिला, पात्लेसहित रघुगङ्गाको ठाडाखानी, कुइनेखानी, रायखोर, दर्मीजा, बादुक, राममन्दिर र मौवाफाँटमा स्वास्थ्य एकाइ स्थापना गरेर स्वास्थ्य सेवा विस्तार गरिएको छ । वडास्तरका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने गाउँमा एकाइ स्थापना गरेर सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया