काठमाण्डाैंः उपाध्यक्ष वामदेव गौतमले पार्टी निर्णय कार्यान्वयनको अडान राख्दै राष्ट्रिय सभाको सांसदमा मनोनीत हुने रुचि राखेपछि समाधानको तहमा पुगेको नेकपाको विवाद पुनः बल्झिने संकेत देखिएको छ।
प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री डा.युवराज खतिवडालाई निरन्तरता दिने गरी राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको सांसदमा सिफारिस गर्ने तयारी गरिरहेकै वेला गौतमले सोमबार सार्वजनिक रूपमै रुचि राखेपछि विवाद बल्झिने संकेत देखिएको छ ।
उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोमबार भेटेर नै आफ्नो चासो व्यक्त गरेका छन्।
नेकपाले पार्टी विवाद समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न १८ भदौमा केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठकको तीन दिनअघि गौतमले सञ्चारमाध्यममार्फत आफूलाई राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यमा १४ फागुनमा पार्टी सचिवालयले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने अडान सार्वजनिक गरेका हुन्।
राष्ट्रिय सभा सदस्यको पदावधि सकिइसकेपछि खतिवडाले गत फागुनमा सांसद नभए पनि ६ महिना मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्रीका रूपमा शपथ लिएका थिए । संसद् सदस्य नरहेका अर्थमन्त्री खतिवडाको म्याद २१ भदौमा सकिँदै छ । प्रधानमन्त्री ओलीले उनलाई मन्त्रीमा निरन्तरता दिने हो भने सरकारले २० भदौअघि नै राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्नुपर्नेछ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया