जेन-जी किन सडक प्रर्दशनमा आए ?
आम निराशाका कारण युवाहरू सडक आन्दोलनमा उत्रिएका हुन् । जताततै निराशा देखिन्छ । देशमा केही गर्न अवसर नपाउने विदेश जान खोज्दा पनि सफलता नमिलेर आक्रोशित हुने युवायुवतीको संख्या बढ्दै छ । यसलाई सरकारले गम्भीरतापूर्वक लिन सकेन । उनीहरू निराश हुनुको कारण खोजी हुन सकेन । पलायनको कारण पनि खोजी भएन । बरु उल्टो दिनदिनै भ्रष्टाचार र भ्रष्टाचारीलाई दण्डहीनताको कुरा आउँछ । सरकार, अख्तियार, अदालत कसैले पनि भ्रष्टाचारविरुद्ध कठोरता देखाउन सकेनन् ।
सरकार, अख्तियार, अदालतमाथि प्रश्नैप्रश्न मात्र छन् । सरकारी कार्यालयहरू झमेला मात्र दिन्छन । युवा पुस्तालाई मात्र होइन । हामी वृद्ध अवस्थामा पुगेकाहरूलाई पनि दिक्क लाग्ने अवस्था छ । युवापुस्ताले पढाइ र काम (रोजगारी) खोजेको छ । देशमा यी दुवै कुरा चित्तबुझ्दो भइरहेको छैन । धमाधम पढाइ र काममा लगाएर युवापुस्तालाई व्यस्त बनाउनुपर्ने हो । त्यसलाई राज्यका निकायले गम्भीरतापूर्वक लिन सकेनन् । हामीलाई त रिस उठछ भने युवाहरु आक्रोशित हुनु स्वभाविक हो ।
सरकारले के गर्नुपर्थ्यो त ?
सरकार आफ्नै लयमा रमाएको छ । आफ्नो काममा सुधार गरेको छैन । सरकारमा बस्नेहरूको रवैया पनि ठीक छैन । अस्तिकै मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएको घटना हेर्नुस् । युवा पुस्तासँग निरन्तर छलफल गर्नु पर्ने हो तर त्यसो हुन सकेको छैन । कुनै निर्णय लिँदा उनीहरूका प्रतिनिधिलाई पनि निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने हो । सरकारले निर्णय गर्दा असर पुग्ने क्षेत्रका मान्छेहरूसँग सल्लाह गर्नुपर्ने हो ।
तर यति धेरै विद्यार्थी, सर्वसाधारण प्रभावित हुने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा उनीहरूको कुरा सुनिएन । सामाजिक सञ्जाल सूचीकरण हुन नआएको कुरा युवापुस्तालाई, आमनागरिकलाई एक डेढ वर्षसम्म काउन्सिलिङ गरेर विस्तारै निर्णय लिन पनि सकिन्थ्यो । तर त्यस्तो भएन । झ्यापझुप बन्द गरिदिँदा जेन जी आक्रोशित हुनु पुग्यो । अहिले आम मान्छेलाई मर्का परेको छ । सञ्चार सर्म्पक नै टुटेको छ । अधिकांशको कि बाबुआमा कि छोराछोरी विदेशमा छन । उनीहरूको सञ्चार सम्पर्क भनेकै सामाजिक सञ्जाल थियो । त्यो त सरकारको निर्णयले टुट्यो नि । सरकारले असर पुग्ने त्यस्ता मान्छेलाई सँगै लैजान सकेन । अब नयाँ पुस्ताका केटाकेटीलाई अपहेलित गर्ने जमाना छैन । उनीहरूको समस्या सुन्ने र सामाधान गर्ने बाटोमा जानुपर्छ । सरकारले त्यसतर्फ पहल गर्न सकेको छैन ।
अब जेन-जीको भूमिका कस्तो हुनुपर्छ त ?
कोही पनि हिंसात्मकतर्फ अघि बढ्नु हुँदैन । संयमता अपनाउनुपर्छ । रिस, आवेश, आवेग मर्का, समस्या हुनसक्छ । सरकारले तुरुन्त संवाद थाल्नुपर्छ । युवाहरू पनि संवादमा सहभागी हुनुपर्छ । युवाहरूले शान्तिपूर्ण तरिकाले आफ्नो कुरा राख्नुपर्छ । आन्दोलन शान्तिपूर्ण भए नागरिक समाज पनि सहभागी हुन तयार छन । युवाहरूले अहिले उठाएको माग जायज छ ।
उनीहरू पवित्र मनले आन्दोलनमा सहभागी भएका हुन् । शान्तिपूर्ण रूपमै निर्ष्कषमा पुग्छन् भन्ने विश्वास छ । त्यसो भए आन्दोलनले नागरिक समाजको पनि सहानुभूति प्राप्त गर्नेछ । सरकार, अख्तियार र न्यायालयले पनि आफूलाई सुधार गर्नुपर्छ । भ्रष्टाचारविरुद्ध निर्मम हुनैपर्छ । आम अभिभावक, शिक्षक, समाजका अगुवा पनि गम्भीर बन्नुपर्ने बेला आएको छ । कान्तिपुर
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया