बैसाख २१, २०८३ सोमबार May 4, 2026

‘शोकलाई राष्ट्रिय सम्मान, छ महिनाभित्र निष्पक्ष निर्वाचन’ : गृह, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, ओमप्रकाश अर्याल (अन्तवार्ता)

मेलमिलाप र पारदर्शिताबाट मात्रै अवस्था सामान्यीकरण सम्भव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गृहमन्त्रीका रूपमा पहिलो निर्णय के गर्नुभयो ?

आज (सोमबार) तीन वटा निर्णय गरेका छौं । यी निर्णय कतिपय मन्त्रिपरिषद्मा लगेर पारित गराउनुपर्ने खालका छन् । पहिलो निर्णय जेन–जीको आन्दोलनका क्रममा ज्यान गुमाउने र शान्तिसुरक्षाका लागि खटिने क्रममा मृत्यु भएका र घाइतेको सम्मानस्वरूप राष्ट्रिय शोकका रूपमा मनाउने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको छ । दोस्रो निर्णय मृतकका परिवारलाई काजकिरियामा सहयोग गर्ने उद्देश्यले प्रतिमृतक १ लाख उपलब्ध गराउने र यो रकमको व्यवस्था अर्थ मन्त्रालयले गर्ने निर्णय भएको छ । तेस्रो निर्णय मृत्यु भएका परिवारका सदस्यको आग्रहबमोजिम शवको व्यवस्थापनका लागि निःशुल्क सवारीसाधन एवं दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

झन्डा कहिले झुकाउने, कति समय र कहिलेदेखि हो ?

कहिलेदेखि राष्ट्रिय शोक मनाउँदै झन्डा झुकाउने भन्नेचाहिँ मन्त्रिपरिषद्को निर्णयले तय गर्नेछ । अहिले मूल कुरा भनेको हामी शोकको घडीमा छौं । शोकको घडीलाई मनाउने भनेर हामीले निर्णय पनि गरेका छौं । मैले मन्त्रीस्तरबाट निर्णय गरें, अब मन्त्रिपरिषद्ले पनि निर्णय गर्छ । सरकारले एक्सनमा आधारित भएर काम गर्नेछ ।

चुनौतीका पहाड बोकेर गृह मन्त्रालय आएजस्तो तपाईंलाई लाग्दैन ? पुराना दलहरूको असन्तुष्टि र विरोध बिस्तारै देखिन थालेको छ । बाहिर ठूलो शक्ति छ भन्ने तपाईंलाई लाग्छ कि लाग्दैन ?

चुनौतीकै बीचमा हामी यहाँ आएका हौं । यहाँ आउँदा यो कुरा महसुस नै गरेर आएका छौं । महत्त्वपूर्ण कार्य भनेको पुनर्निर्माण, शान्तिसुरक्षा र सुव्यवस्था कायम गर्नु र सर्वस्वीकार्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नु हो । यी काममा चुक्ने छुट छैन ।

सोमबारसम्म प्रधानमन्त्रीबाहेक जम्मा तीन जना मात्र मन्त्री हुनुभएको छ । तपाईं देखाउने अनुहार हो भन्ने चर्चा छ । गृह मन्त्रालयजस्तो महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । अब कसरी भूमिका निर्वाह गर्नुहुन्छ । परीक्षाको घडी त सुरु भयो नि ?

हो, अब असली परीक्षा सुरु भयो । हिजो सडकमा हुँदा र अबको जिम्मेवारी फरक छ । यो मैले पनि महसुस गरेको छु । यति बेला जनता र सुरक्षा निकाय दुवैको मनोबल बढाउनुपर्ने छ । देखाउने अनुहार म होइन, प्रधानमन्त्रीज्यू हो । उहाँ सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश र सबैको अभिभावक हुनुहुन्छ । हामी सबैले माया गरेर ‘आमा’ भनेका छौं । पीडितहरूले पनि आमाका रूपमा लिनुभएको छ भने आन्दोलनरत पक्ष र सबै जनताले आमाका रूपमा लिएका छन् । मलाई लाग्छ– जसले अहिले आफू विस्थापित भइयो भनेर महसुस गर्नुभएको छ, उहाँहरूको पनि आमाको भूमिका प्रधानमन्त्रीले निभाउनु हुन्छ ।

उहाँलाई सुरक्षा संयन्त्र, कर्मचारी र सम्पूर्ण नागरिक तथा समग्र देशवासीले एउटा अभिभावकका रूपमा लिएका छन् । ‘आमा’ एक बिम्ब मात्रका रूपमा मैले प्रयोग गरेको हुँ । समग्रमा उहाँले सबैको अभिभावकको भूमिका निभाउनु हुनेछ र हामी पनि यही रूपमा अघि बढ्ने छौं । जसरी घरमा एउटी आमाले कसैलाई पनि भेदभाव नगरी माया गर्छिन्, अब प्रधानमन्त्रीले त्यसैगरी बाहिर रहेका फोर्सहरू र सम्पूर्ण जनतालाई समेट्नु हुनेछ । स्थितिलाई सामान्यीकरण गर्नुपर्ने चुनौती छ । यो माया, ममता र मेलमिलापको नीतिबाट मात्रै सम्भव छ । यसका लागि सरकारले वातावरण बनाउँछ । अब सबैले मेलमिलाप गरेर अनि हातेमालो गरेर फेरि उठ्नुपर्नेछ । सबैका बीचमा मेलमिलाप भए फेरि पनि राजनीतिको कुरा मिलेर गर्न सकिन्छ । यसरी शान्त वातावरण भयो भने राजनीतिको विषयवस्तुमा प्रवेश गर्न सकिन्छ । त्यतिखेर प्रतिनिधित्वको कुरा आउँछ र सबैले गर्न पाउनुपर्छ । यसका लागि निर्वाचन नै एउटा लोकतान्त्रिक माध्यम हो ।

६ महिनापछि निर्वाचन गर्नु भनेर राष्ट्रपतिले म्यान्डेड दिनुभएको छ । यो समयमा निर्वाचन सम्भव छ ? अनि सबैले स्वीकार नगर्ने अवस्था भयो भने निर्वाचन कसरी गराउने त ?

हामी फागुन २१ गतेभित्र निर्वाचन गराउने जनादेशमै आएका हौं । जेन–जीको अभूतपूर्व विद्रोहले यो मात्र होइन, अरू धेरै म्यान्डेड दिएर पठाएको छ । ती सबैलाई सम्बोधन गर्दै निर्वाचनमा जानुपर्नेछ । हामीलाई प्राप्त पहिलो जिम्मेवारी भने निर्वाचन नै हो । त्यसकारण पहिलो हाम्रो ‘गोल’ र ‘मिसन’ मा निर्वाचन नै छ । म यो कुरा प्रस्ट भन्न चाहन्छु कि यो निर्वाचनमा कुनै पनि दललाई प्रतिबन्ध लगाउने वा सहभागी हुन नदिने हुँदैन । बहुदलीय प्रतिस्पर्धा नै हुन्छ । दलहरूलाई निर्वाचनमा भाग लिनबाट रोक्नु भनेको सर्वथा संविधानविपरीत हुन्छ । यो सरकारले त्यस्तो कुरा र काम केही पनि गर्दैन । अहिले जो विस्थापित हुनुभएको छ, उहाँहरू फेरि पुनरागमन हुने अवस्था रहन्छ । अझै पनि जनताले हामीलाई फ्रेस म्यान्डेट दिन्छ भन्नुहुन्छ भने पनि त्यसका लागि निर्वाचनमै जानुपर्छ । नयाँ जसले जनविद्रोह गर्नुभयो र यो अवस्था आयो, उहाँहरूको बलमै यो अन्तरिम सरकार बनेको हो । जेन–जीकै मागले प्रतिनिधिसभाको विघटन हुनेसम्मको अवस्था आएको हो । यो कुरा सबैले स्वीकार गर्नुपर्छ र यो यथार्थ पनि हो । नयाँहरू जसलाई हामी जेन–जी मान्छौं, उनीहरूले जनविद्रोहमा जित्नुभयो । तर, अब त्यसलाई अनुमोदन र त्यसको पुष्टि नयाँ निर्वाचनले नै गर्ने हो ।

जेन–जीको जितको केही पुष्टि त यो परिवर्तनले गरिसक्यो । अब पूर्ण पुष्टिचाहिँ लोकतान्त्रिक प्रक्रिया निर्वाचनबाट गर्नुपर्नेछ । त्यसकारणले सबै हिसाबले हेर्दाखेरि निर्वाचनमा सबैले भाग लिनुपर्छ । निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनुपर्छ र हुन्छ । म पनि ‘फ्री एन्ड फेयर इलेक्सन’ हुनुपर्छ भन्नेमा विश्वास राख्छु । यसका लागि त्यस्तै खालको सरकार हुनुपर्छ भनेर हामीलाई जेन–जी पुस्ताले छनोट गरेको हो । जसमा प्रधानमन्त्रीले अभिभावकका रूपमा हामीलाई नेतृत्व गर्नुहुन्छ, हामी त्यसमा योद्धाझैं लाग्नुपर्छ । त्यसका लागि हामीले सुशीला कार्कीजस्तो व्यक्तित्व पाएका छौं र उहाँको व्यक्तित्वलाई सुहाउने गरी मन्त्रिपरिषद्मा मन्त्रीहरू छनोट भएका छन् । प्रधानमन्त्रीले ल्याउने सबै ‘भिजन’ मा हामी एकै ठाउँमा उभिएर कार्यान्वयनमा लैजान्छौं । त्यही कामका लागि हामीहरू आएका हौं । हामी ठ्याक्कै प्रधानमन्त्रीजस्तै त छैनौं तर प्रधानमन्त्रीको अनुसरण गर्दै जान भने तयार छौं ।

अझै पनि अस्पतालहरूमा मृत्यु भएका मानिसको शव छ । किन उनीहरूको अन्तिम संस्कारमा ढिलाइ भइरहेको हो ?

अस्पतालमा रहेका शवलाई हामी पहिचान र उनीहरूको अन्तिम संस्कारसहितका काम गरी नै रहेका छौं । छिट्टै यी काम अघि बढ्छन् । मृत्यु भएकाहरूका आफन्त आउनदेखि पहिचानसम्म र शवको पोस्टमार्टमलगायतका काम गर्न समय लागेको हो । अहिले पनि कतिपयको दाहसंस्कार हुन बाँकी छ । दाहसंस्कारभन्दा अगाडिको अवस्थामा पोस्टमार्टम गर्नुपर्ने हुँदा अस्पतालले त्यसैमा काम गरिरहेको थियो । केही त ‘आइडेन्टिफाई’ नै हुन समय लाग्यो । त्यसका लागि पनि अस्पतालले काम गर्दा केही ढिलाइजस्तो भएको हुन सक्छ । अझै केही ‘आइडेन्टिफिकेसन’ नै भएको छैन । जसको ‘आइडेन्टिफिकेसन’ भएको छ, उहाँहरूको पनि परिवारका सदस्य यहाँ आएर त्यसलाई कानुनी प्रक्रिया पूरा गरी बुझ्नुपर्ने भएकाले पनि यस्तो समय लागेको देखिन सक्छ ।

परिवारले शव लैजानुअघि केही औपचारिकता हुन्छ र त्यो औपचारिकतामा आइदिनुपर्नेमा समय लागेको पनि छ । त्यसका लागि फेरि पनि राज्यका तर्फबाट सरकारले सहयोगदेखि आर्थिक रूपमा पनि सघाउने निर्णय गरेका छौं । राज्यले जुन एउटा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो गर्छ । त्यसको सुरुवात आजैको मन्त्रीस्तरीय निर्णयबाट भएको छ ।

हामीले प्राप्त गरेको तथ्यांकअनुसार टिचिङ हस्पिटलमा जहाँ फरेन्सिक डिपार्टमेन्ट छ, त्यहाँ पोस्टमार्टम हुन्छ । पोस्टमार्टम भइरहँदा २० जनामध्ये १२ जनाका आफन्त उपस्थित नहुँदा ढिला भएर सरकारले सहजीकरण पनि गरेको छ । सबैलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिन्छ । आठ जनाको चाहिँ अझै पनि शवको ‘आइडेन्टिफिकेसन’ भएको छैन । अब त्यसको अलि जटिलता देखिएको छ । केही समय लाग्न पनि सक्छ । सरकारले सकभर अभिभावकसँग सबै प्रक्रिया पूरा गरेर सहिद घोषणा गर्ने काम गरिसकेको छ । राहत र सरकारका तर्फबाट गर्नुपर्ने सहयोग पनि सुरु हुन्छ । सहिद घोषणा भइसकेपछि राष्ट्रिय सम्मानसाथ उहाँहरूको अन्त्येष्टि हुन्छ । अब कुन स्तरको राष्ट्रिय सम्मान दिने भन्ने कुरा मन्त्रिपरिषद्ले नै निर्णय गर्छ ।

कतिपय विषयवस्तु राहत र क्षतिपूर्तिका पनि छन् । ती विषयवस्तु मन्त्रिपरिषद्मा लानुपर्छ । सबै कुरा मन्त्रिपरिषद्मा लगेर निर्णय गर्छौं । अन्यथा फेरि बेरुजु हुन्छ । पछि कानुनी झमेला आउँछन् । ती विषय पनि गृह मन्त्रालयबाट प्रक्रिया पूरा गरेर अघि बढ्छ । धेरै विषय गृह मन्त्रालयसँग जोडिँदा रहेछन् । त्यसकारणले मैले सबैलाई समन्वयकारी भूमिका निर्वाह गर्दै अघि बढ्नेछु । कसैको पनि चित्त नदुख्ने गरी, कहिल्यै पनि गाली नखाने गरी काम गर्ने मेरो वाचा रहनेछ ।

कांग्रेस, एमाले, माओवादीजस्ता दल बाहिरै छन् । उनीहरूलाई के भन्न चाहनुहुन्छ ?

गल्ती गर्नेले गल्तीको महसुस गर्नुपर्छ । चित्त दुःखी–दुःखी पनि अन्यथा भन्नुपर्छ भन्ने मलाई लाग्दैन । सबैको अभिभावकको भूमिकामा सरकार हुन्छ भनेर हामी अघि बढ्छौं । मैले माथि नै भनें, सुशीला कार्कीले आमाको भूमिका निर्वाह गर्नुहुन्छ भने हामी पनि त्यही रूपमा सबैलाई व्यवहार गर्छौं । जसलाई जस्तो खालको व्यवहार हुनुपर्ने हो, राज्यले अथवा सरकारको नेतृत्वले त्यही खालको गर्छ ।

यसअघि ‘बा’ को शासन थियो, अब ‘आमा’ को शासन भन्न खोज्नुभएको हो ?

मैले त्यसरी होइन । आमाको एउटा बिम्ब मात्र प्रयोग गरेको हुँ । केही बिम्बको एउटा अर्थ पनि हुन्छ होला । मैले भनेकामा पनि यही अर्थका रूपमा बुझ्न सकिन्छ । सरकार जनताको अभिभावक हो भन्ने महसुस भने हामीले गराउनुपर्ने चुनौती छ ।

सर्वोच्च अदालतदेखि सिंहदरबार अनि संसद् भवनदेखि धेरै संरचना जलेका छन् । यो पुनर्निर्माणचाहिँ कहिले हुन्छ ?

अब तथ्यांक संकलनको काम पहिला सुरु हुन्छ । समग्र तथ्यांक सार्वजनिक भएपछि कति क्षति भयो भनेर भन्न सकिएला । राज्यको क्षमता कति छ, के छ, केलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने हो वा होइन, यो सरकारले निर्धारण गर्छ । तत्काल सुचारु गर्नुपर्ने विषयवस्तु के–के हुन्, दीर्घकालमा गर्ने कुरा के–के हुन् ? राज्यको बजेटको अवस्था के छ । यसअघि कति बजेट कहाँ छुट्याइएको छ– यी सबै कुरा हेरेर मात्र सरकारले निर्णय लिन्छ । पहिले नै अब ‘एलोकेसन’ भैराख्या छ, अब त्यसलाई कसरी मिलाउने भन्ने कुराहरू पनि पक्कै होलान् । यी सबै कुरा यो मन्त्रालयको मात्र विषयवस्तु होइन । अरू मन्त्रालय, अरू एजेन्सीसँग पनि समन्वय गर्नुपर्ने हुन्छ । त्यसपछि क्षति र पुनर्निर्माण अनि सरकारको प्राथमिकता छुट्याउन सकिएला ।

यसमा नागरिकको पनि धेरै ठूलो दायित्व हुन सक्छ । नागरिकस्तरबाट पनि सहयोग जुटाएर गर्नुपर्ने हुन सक्छ । तपाईंहरूले देख्नुभएकै छ– हरेक टोलका प्रहरी चौकीहरू जलेका छन्, प्रहरी बिटहरू ध्वस्त भएका छन् । पुलिस पोस्टहरू नहुँदा असुरक्षित नागरिकले नै हुनुपर्ने हो । यसमा नागरिकले नै सहयोग गर्ने हो । हातेमालो गरेर हामी उठ्नुपर्छ । सार्वजनिक संस्थाहरू खास गरेर सरकारी कार्यालय नहुँदा सेवा प्रवाह अवरुद्ध भएको छ । सर्वोच्च अदालतजस्तो राज्यको निकाय अहिले खरानी भएको छ । जहाँ सर्वोच्च अदालत नै छैन । न्यायपालिका नै छैन । न्याय निरूपण गर्नै सक्दैन भने त्यो के राज्य भयो ? जहाँ कार्यपालिकाले आफ्नो कार्य सञ्चालन गर्ने अफिस पनि छैन भने के राज्य भयो ? जहाँको संसद् पनि छैन भने त्यहाँबाट कसरी कानुन निर्माण हुन सक्लान् ? त्यो भवन अहिले ध्वस्त भएको सबैलाई थाहा छ । यी सबै राज्य भन्नका लागि चाहिने पूर्वाधार हुन् । ती पूर्वाधार त मलाई लाग्छ– राज्यले पुनर्निर्माण गर्ने पहिलो प्राथमिकतामै पर्नुपर्छ ।

यो विषय हामीले यहाँबाट मात्रै भनेर हुने कुरा छैन । यसलाई सबैको साथ–सहयोग चाहिन्छ । हामी सबैले अब विवाद बढाएर होइन, घटाएर र मिलेर अघि बढे छिटो फर्किने अवस्था हुन्छ । मलाई लाग्छ– यो एउटा ऐतिहासिक अवसर हो । अहिले अवसर मिलेको छ । क्षति भए पनि ऐतिहासिक अवसरका लागि ढोका पनि खुलेको छ । त्यो भनेको अहिले सुरुवात गर्ने र त्यसलाई निर्वाचनबाट आएको सरकारले निरन्तरता दिनेछ । यसले पक्कै पनि एउटा सही बाटो लिन्छ ।

भदौ २३ र २४ को घटनाको छानबिन न्यायिक आयोग बनाएर गर्ने हो ?

यो निर्णय मेरो मन्त्रालयभन्दा मन्त्रिपरिषद्ले गर्ने कुरा हो । सबै छानबिन गरी न्यायको प्रक्रिया अघि बढ्नेछ । अहिलेलाई यत्ति बुझौं । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार
सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल
२०८३ बैसाख २१, सोमबार
राष्ट्रियसभाका अध्यक्ष दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत
२०८३ बैसाख २१, सोमबार
भारतीय विधान सभा चुनाव : पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी
२०८३ बैसाख २१, सोमबार