काठमाण्डाैंः कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको चितवनमा एकाबिहानै ठूलो समूह लामबद्ध भएर बस्यो । तिनीहरू कोरोनाको परीक्षण गराउन वा अन्य माग राखी आन्दोलन गर्न आएका थिएनन् । ढिला गरी त्यो पनि थोरै परिणाममा युरिया मल आएपछि कोरोना सङ्क्रमणको जोखिम मोलेर चितवनका सहकारीमा किसानको लाइन लाग्ने गरेको छ ।
जिल्लाका सहकारीमार्फत युरिया मल वितरण गर्ने भएपछि बुधबार वितरण स्थलमा मेला लागेझैँ किसानको भीड लागेको थियो । जिल्ला प्रशासन कार्यालय चितवनले सङ्क्रमण फैलिन नदिनका लागि भीड नगर्न, सामूहिक रूपमा भेला नहुन निषेधाज्ञा लगाए पनि मलको अभाव भएपछि किसानले जोखिम मोलेर मल खरिद गर्न आएका हुन् । भरतपुर महानगरपालिका–६ को सर्वोदय बहुउद्देश्यीय कृषि सहकारी संस्थामा ११५ बोरा युरिया मल आएको छ भन्ने थाहा पाएपछि बिहान ३ः०० बजेदेखि नै किसान लाइनमा बसेका थिए ।
मल खरिद गर्न भीड धेरै भएपछि सहकारीले प्रतिकिसान १० केजी मल वितरण गरेको सहकारीका अध्यक्ष प्रेमराज कोइरालाले बताउनुभयो । दुईपटक गरेर मुस्किलले ११५ बोरा मल ल्याएका छौँ । यसले के पुग्छ र ?, उहाँले भन्नुभयो “दुई हजार पाँच सय किसान लाइनमा थिए । त्यसैले प्रतिपरिवार १० किलो दिएका छौँ । ” सोमबार ६० बोरा आएको थियो । मङ्गलबार ५५ बोरा ल्याए वितरण गर्न समस्या हुने भएपछि प्रशासनलाई जानकारी गराएर वितरण गरेको कोइरालाले बताउनुभयो ।
जिल्लाका एक सय सहकारी कार्यालयमा मल लिनका लागि किसानको यस्तै भीड लागेको देखिन्छ तर किसानले मागअनुसार मल पाएका छैनन् । धान रोपाइँ सुरु गर्नुअघि पनि युरिया मल किन्न यहाँका किसानले यस्तै हैरानी खेप्नुपरेको थियो । धानमा हुने झार गोडिसकेपछि उत्पादन बढाउन युरिया मल हाल्नैपर्ने किसानको भनाइ छ । गोरखापत्र
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया