कार्तिक २९, २०८३ आइतबार November 15, 2026

चीनको चियुवानमा संस्कृति तथा कला सप्ताह

चीनको चियुवान सहरमा पहिलो राष्ट्रिय संस्कृति तथा कला सप्ताह र ‘बाँदर पर्वतमा बाँदर राजा प्रतियोगिता’ उद्घाटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ७ असोजः ‘चीनको बाँदर पर्वत, चियुवानको सांस्कृतिक शोभा’ भन्ने नाराका साथ चीनको चियुवान सहरमा पहिलो राष्ट्रिय संस्कृति तथा कला सप्ताह र ‘बाँदर पर्वतमा बाँदर राजा प्रतियोगिता’ उद्घाटन भएको छ ।

सो कार्यक्रम ‘लियु स्याओलिङथोङ कार्यशाला’ र ‘चियुवान सांस्कृतिक पर्यटन लगानी समूह’ले संयुक्त रूपमा आयोजना गरेको हो । सो महोत्सवले चिनियाँ परम्परागत संस्कृतिको उत्खनन गर्ने, चियुवानको सांस्कृतिक–पर्यटनको प्रवर्द्धन गर्ने, र ‘हनान घुमौँ, चीन बुझौँ’ अभियानलाई नयाँ ऊर्जा दिने उद्देश्य राखेको छ ।

कार्यक्रममा बाँदर नाच, युद्धकला र नृत्यका मनमोहक प्रस्तुति देखाइएका थिए । करिब ३०० जना देशभरका ‘सुन्दर बाँदर राजा’ प्रतिस्पर्धीको सामूहिक प्रस्तुति उपस्थिति दर्शकका लागि मुख्य आकर्षण बनेको थियो । कार्यक्रममा प्रसिद्ध कलाकार र चीन–नेपाल सांस्कृतिक दूत लियु स्याओलिङथोङ पनि उपस्थित हुनुहुन्थ्यो ।

समारोहमा चीनको बाँदर पर्वत र नेपालको स्वयम्भूनाथ बाँदर मन्दिरबीच विशेष भिडियो संवाद गरिएको थियो । यी दुई स्थल भौगोलिक रूपमा हजारौँ माइल टाढा भए पनि ‘वानर’ को आध्यात्मिक प्रतीकले दुई देशबीच गहिरो सांस्कृतिक सम्बन्धको प्रतिनिधित्व गरेको छ ।

भिडियो सन्देशमार्फत नेपालका पूर्वराजदूत र स्थानीय प्रतिनिधिले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो । चीनका लागि नेपालका पूर्वराजदूत लिलामणि पौडेलले दुई देशबीच सभ्यताको आरम्भदेखि नै गहिरो सांस्कृतिक सम्बन्ध रहेको बताउनुभयो ।

गौतम बुद्ध, कन्फ्युसियस र महामञ्जुश्रीजस्ता ऐतिहासिक व्यक्तित्वले दुई देशबीचको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उहाँले दुवै पक्षले यस सम्बन्धलाई अझ मजबुत बनाउन र जनस्तरमा मित्रतालाई थप गहिरो पार्न निरन्तर काम गर्नुपर्ने स्पष्ट पार्नुभयो । सन् २०१८ मा बेइजिङस्थित नेपाली दूतावासमा लियु स्याओलिङथोङले नेपाली पर्यटन प्रवद्र्धनमा दिएको योगदान अविस्मरणीय रहेको उहाँको भनाइ छ ।

पूर्वराजदूत टङ्क कार्कीले मञ्जुश्री बोधिसत्वको बुटाइ पर्वतबाट नेपाल भ्रमण गर्ने किंवदन्ती र फासियान तथा ह्वेनसाङका ऐतिहासिक भ्रमणले चीन–नेपाल सम्बन्धको गहिराइलाई देखाउने उल्लेख गर्नुभयो । लियु स्याओलिङथोङको अभिनयले सुन बुकोंगलाई जीवन्त बनाएको र जनस्तरमै मित्रतालाई मजबुत पारेको उहाँको भनाइ छ ।

पूर्वराजदूत विष्णुपुकार श्रेष्ठले विभिन्न सञ्चार माध्यमबाट सुन बुकोंगको चरित्र नेपालको युवापुस्तामा लोकप्रिय रहेको बताउनुभयो । चीनमा बाँदर विद्रोह, न्याय र शक्तिको प्रतीक मानिने जानकारी दिँदै उहाँले नेपालमा बाँदर बौद्ध धर्ममा संरक्षक र हिन्दू धर्ममा हनुमानसँग जोडिएको स्पष्ट पार्नुभयो । यस्तो सांस्कृतिक सम्बन्धले जनस्तरमै मित्रता अझ गहिरो बनाउने उहाँको भनाइ छ ।

धुलिखेल नगरपालिकाका उपप्रमुख सुवासकाजी श्रेष्ठले स्वयम्भूनाथ महाचैत्य र चीनको बाँदर पर्वत दुवै वर्षको बौद्ध ज्ञानको प्रतीक रहेको बताउनुभयो । बाँदरले मानव, प्रकृति र आध्यात्मिकताको सन्तुलनलाई देखाएको भन्दै उहाँले लियु स्याओलिङथोङले आफ्नो कलात्मक शक्तिबाट दुई देशका जनताको हृदय जितेको धारणा राख्नुभयो ।

कार्यक्रममा ‘पश्चिम यात्रा सांस्कृतिक आदानप्रदान केन्द्र’को उद्घाटन पनि गरिएको थियो । यो कार्यक्रम यही सेप्टेम्बर २७ सम्म सञ्चालन हुनेछ । सो अवधिमा लोककथा, कला प्रदर्शन, अन्तरराष्ट्रिय संवाद, सांस्कृतिक–पर्यटन प्रवर्द्धन र विद्यालयस्तरका कार्यक्रम सञ्चालन हुनेछन् । यसले चियुवानलाई सांस्कृतिक नवप्रवर्तन र आदानप्रदानको केन्द्रका रूपमा पुनःस्थापित गर्ने विश्वास लिइएको चीनको हनान प्रान्त, चियुवान सहर संस्कृति तथा पर्यटन समूह, लियु स्याओलिङथोङको कार्यालयले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक २९, आइतबार
सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल
२०८३ कार्तिक २९, आइतबार