जेठ ६, २०८१ आइतबार May 19, 2024

हामी त राजीनामा दिन पनि तयार भएको मन्त्री हौं – चन्द्रदेव खनाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तपाईहरू सरकारमा हुनुहुन्छ, किसानहरूले मल पाउँदैनन् । किन यस्तो दुर्दशा देशको ?

मलको अहिले अलि अभाव नै देखियो । सरकारमा पनि छौँ, त्यो कुरा पनि मानियो । तर पनि मलको समस्या छ । किसानहरूले अलि मलको चर्को नै समस्या झेलिरहेका छन् भन्ने सुनिराखिएको छ ।

सुनिमात्र रहनुभएको छ, लाईन बसेको तस्वीरहरू हेर्नुभएन ? १० देखि २० घन्टा लाईन बसेका किसनाहरूको पीडा तपाईहरुले देख्नुभएको छैन् ?

हाम्रो जिल्लामा पनि मलको बारेमा हिजो सानो मिटिंग गरेका थियौँ, कसरी यसलाई समाधान गर्ने भनेर । हुन त मलको समयमा कहिलेकाहीँ टेन्डरमा आउँदा अथवा समयमा मल नआउँदा केही न केही समस्या त हुने गरेको हो । सायद अहिले कोरोनाको कारण हो कि बढि, अहिले मल यो बीचमा नआएको जस्तो बुझियो अथवा केही टेन्डरको ढिलासुस्तीको कारणले हो या यो कोरोनाको कारणले हो, कतै रोकियो जस्तो लाग्छ । चैत मसान्तसम्म त म मन्त्रीबाट हट्नुभन्दा पहिले नै व्यवस्थापन भईसकेको थियो । त्यसपछि लगत्तै टेन्डर हुनुपर्ने हो, टेन्डर भएको भनेर पनि सुनेको हो मैले, सायद कहाँनेर के नमिलेर मल पाइँएन ।

मल आयातमा एकदमै बढि लापरबाही भयो भन्ने कुरा आएको छ नि ?

लिकति नपुग हाम्रो अनुदानको पैसा जति हामीले छुट्याएका छौँ, प्रत्येक आर्थिक वर्षमा पर्याप्त मल अहिले जति किसानले माग गरिरहेका छन्, हाम्रो उत्पादन बढिरहेको छ, त्यो हिसाबले मल हामीलाई पुग्दैन नै । अहिले नपुग्नेभन्दा पनि कता कता मलाई लाग्छ, समयमा मल आएन कि, त्यो आउनुपथ्र्यो, त्यो पनि आएन कि, त्यो अध्ययन गर्नुपर्छ ।

आज देशमा निषेधाज्ञा छ, समस्या छ, जताततै, गरिब जनताले खान पाएका छैनन्, नेताहरू सिंहदरबारमा । अनि तपाईहरू कहिल्यै पनि गरिबहरूको पक्षमा एक शब्द नबोल्ने, काम पनि नगर्ने, किन यस्तो भईरहेको छ ?

यो कोरोनाको स्थिति सरकारले ल्याएको त होइन नि त ।

होइन, सरकारले ल्याएको होइन तर सरकारले जनताहरूलाई खुवाउनु पर्छ नि त । जनतालाई खान दिनुपर्छ कि पर्दैन ? सरकारको दायित्व हो कि होइन ?

सरकारले त्यो गर्छ । हामीले उत्पादनलाई जोड दिनुपनि पर्छ । त्यसको लागि आधारभूत कुराहरू जुन सरकारले लिएको छ, त्यो पनि गर्नुपर्छ । व्यक्तिले जिम्मा लिएको कुरा व्यक्तिले पनि पूरा गर्दै जाने कुरा छँदैछन् । तर अहिले जुन मूल समस्या छ, किसानले समयमा मल नपाएको कारणले जुन स्थिति पैदा भएको छ, यो एउटा विषय हो । कोरोनाको कारणले विश्वमै समस्याहरू उब्जिएका छन्, त्यसलाई फरक नजरले हेर्नुपर्छ भन्ने मलाई लाग्छ ।

गरिब जनता यतिखेर टुँडिखेलमा खान नपाएर छटपटाईरहेका छन् । सरकारले हेर्नुपर्दैन ?

त्यो पनि सरकारले हेर्नुपर्छ ।

जनतालाई राहत दिनुपर्दैन ?

स्थानीय तहसम्मै राहतका प्याकेजहरू गईरहेका छन् । विभिन्न एन.जी.ओ. हरू खटेका छन् । यस्तो चरम अभाव नेपालमा होइन । सामान्य केही कुराहरू होलान्, त्यो फरक प्रसंग हो ।

तपाई टुँडिखेलमा जानुस् हेर्न । खुलामञ्चको तस्वीर । लाईन बसेका छन्, जनता, घन्टौँ खान नपाएर । सरकार के हेरेर बसेको छ ?

त्यसलाई पनि सरकारले हेर्नुपर्छ । त्यसको व्यवस्थापन गर्नुपर्छ । तर अहिले उठाईएको जुन विषय छ, यो एकदम उपयुक्त विषय हो । कुरा उठाउने मात्र होइन कि यो सरकारले गम्भीरताका साथ लिनुपर्छ भन्ने मेरो पनि मत हो ।

अब वामदेव गौतम राष्ट्रिय सभाको सांसद बन्ने पक्का भयो होईन ?

हो ।

उपप्रधानमन्त्री पनि, अर्थमन्त्री पनि उहाँ नै बन्ने हो ?

त्यो छलफल चलिरहेको छ । उहाँलाई राष्ट्रिय सभामा लैजाने कुरा पहिलेको निर्णय हो । अहिले त्यसलाई कार्यान्वयन गर्ने मात्र कुरा हो । किनभनेदेखि यो अहिलेको निर्णय होइन । तर पटक-पटक वामदेव कमरेडले पटक–पटक कुराहरू परिवर्तन गरिरहनु हुन्छ, कहिले चुनाव लड्छु भन्नुहुन्छ, कहिले जान्न राष्ट्रिय सभामा भन्नुहुन्छ, यस्तो लगातार उहाँले पनि गर्नुभएन । उहाँसम्मको लिडरलाई फेरि म मन्त्रालयको जिम्मा लिन्छु भन्दा उहाँलाई नदिने कुरा पनि भएन । उहाँलाई त्यो व्यवस्था गर्छ, पार्टीले । मलाई लाग्छ, त्यो कुरा अहिले ठिकै ठाउँमा उठेको छ । मन्त्रीको लागि दुई जना अध्यक्षको बीचमा कुराकानी चलिरहेको छ । त्यो सायद छिट्टै टुँगिन्छ होला ।

भागबण्डा हुँदाखेरि तपाँईहरूबाट प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई कमजोर बनाउने खेल हुँदैन?

होइन, हुँदैन, किन हुनु ? कमजोरभन्दा पनि त्यतिखेर हाम्रो स्पिड मिलेन । हामी त राजीनामा दिन पनि तयार भएको मन्त्री हौँ । उहाँलाई झन सफल बनाउने हाम्रो एकताको सरकार हो । अध्यक्षको नेतृत्वमा बनेको सरकारलाई कसले असहयोग गर्छ ?

तर सरकारले काम गर्न सकेन नि त । जनताको प्रश्नहरू धेरै छन् नि । सरकार असफल भयो भनेर कुरा उठिसक्यो ?

यो साँच्चै हो कि होइन भन्ने कुरा त आगामी दिनमा पस्किँदै जाला । यस्तो महामारीको बीचमा पनि सरकारले काम गरिरहेको छ । त्यो कुरा त सत्य हो नि ।

त्यसोभए कृषिमन्त्री घनश्याम भुषाल सफल हो त ?

त्यो त मैले मूल्याकंन गर्ने होइन नि त, प्रधानमन्त्रीले हो । अरूले मूल्याकंन गर्ने हो, मैले होइन, सफल, असफल भनेर । तर अहिले काम गरिरहनुभएको छ । १ वर्ष पनि पुगेको छैन । यो स्थितिमा योजनाहरू अगाडि बढाईरहनुभएको छ । रिपोटर्स नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया