काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप एसिया–इस्ट प्यासिफिक छनोटमा शानदार विजयी सुरुवात गरेको छ। बुधबार राति ओमानमा सम्पन्न समूह चरणको पहिलो खेलमा नेपालले कुवेतमाथि ५८ रनको फराकिलो जित निकालेको हो।
जितसँगै नेपालले अंकतालिकामा महत्वपूर्ण दुई अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ।
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा कुवेत १८.१ ओभरमै ८३ रनमा अलआउट भयो। कुवेतका ब्याटर क्लिन्टो एन्टोले सर्वाधिक २६ रन जोडे भने यासिन पटेलले १९ र मति भास्करले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पार गर्न सकेनन्।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै कुवेतलाई दबाबमा राखे। सन्दीप लामिछाने, कप्तान रोहित पौडेल र ललित राजवंशीले समान दुई–दुई विकेट लिए। सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले एक–एक विकेट हात पारे। सन्दीपले १५औँ ओभरमा लगातार दुई विकेट लिएर कुवेतको रन गति रोक्न निर्णायक भूमिका खेलेका थिए।
त्यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रनको प्रतिस्पर्धी योगफल बनाएको थियो। ओपनर कुशल भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रनको उत्कृष्ट पारी खेले। दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान २०–२० रनको योगदान दिए।
कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा सन्दीप जोराले ५, कुशल मल्लले ४, सोमपाल कामीले १ र नन्दन यादवले २ रन बनाए।
कुवेतका बलर नवीनराज राजेन्द्रनले २ विकेट लिए भने मोहम्मद आकिफ फारुक, अनुदिप चेन्थामारा र मोहम्मद अस्लामले समान एक–एक विकेट झारे।
नेपाल रहेको समूह ‘बी’ मा कुवेत र जापान छन्। समूह ‘ए’ मा मलेसिया, कतार र युएई छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन्।
छनोटमा सहभागी ९ टोली तीन समूहमा विभाजन भएका छन्। हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्सको शीर्ष तीन टोलीले आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ।
नेपालले समूह चरणको दोस्रो खेल शुक्रबार जापानविरुद्ध खेल्ने तालिका छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया