काठमाडौँ, कात्तिक २ गते । स्पेनिस ला लिगाको रोमाञ्चक प्रतिस्पर्धामा बार्सिलोना शीर्षस्थानमा उक्लिएको छ। शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले जिरोनालाई २–१ गोलले पराजित गर्दै अंकतालिकाको शिखरमा पुगेको हो।
बार्सिलोनाका लागि पेड्रीले खेलको १३औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाए। तर जिरोनाका एक्सल विट्सलले २०औँ मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए। निर्धारित ९० मिनेटको अन्त्यतिर खेल बराबरीमै जाँदै गर्दा इन्जुरी समयमा रोनाल्ड अराउजोले निर्णायक गोल गर्दै बार्सिलोनालाई मूल्यवान् तीन अंक दिलाए।
यस जितसँगै बार्सिलोनाले नौ खेलबाट २२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रियल म्याड्रिड २१ अंकसहित पछ्याइरहेको छ। पराजित जिरोना भने ६ अंकसहित १९औँ स्थानमा छ।
ला लिगाको यस सिजनमा बार्सिलोनाको यो सातौँ जित हो। पछिल्ला खेलहरूमा निरन्तर सुधार देखाउँदै बार्सिलोनाले अब उपाधि यात्रालाई थप बलियो बनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया