श्रावण १९, २०८३ मंगलबार August 4, 2026

दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु

जापानिज इन्सेफलाइटिसबाट जिल्लामा हालसम्म जम्मा १४ जना सङ्क्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाटसुस्तापूर्व)मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको छ। गत साउन २० देखि असोजसम्म जिल्लामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

कार्यालयका प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीले जापानिज इन्सेफलाइटिस जिल्लाको हुप्सेकोट गाउँपालिका१ की १३ वर्षीया बालिका, बौदिकाली गाउँपालिका२ की ४५ वर्षीया महिला, मध्यविन्दु नगरपालिका१ पतवारीका ५२ वर्षीय पुरुष तथा कावासोती३ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए।

मृतकहरु बिरामी भएर उपचारका लागि भरतपुर जाँदा उनीहरुको ढाडको पानी झिकेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको र त्यहाँबाट जापानिज इन्सेफलाइटिस भएको रिपोर्ट आएको उनले बताए।

सङ्क्रमित बिरामी भएर अस्पतालमा जान्छन्, परीक्षणका लागि नमूना काठमाडौँ पठाउनुपर्छ,’ उनले भने, नतिजा ढिला गरेर आउँछ, कतिपय अवस्थामा बिरामीको मृत्यु भइसक्छ। जापानिज इन्सेफलाइटिसबाट जिल्लामा हालसम्म जम्मा १४ जना सङ्क्रमित भएका जनाउँदै तिवारीले सङ्क्रमितमध्ये नौ जना पूर्णरुपमा निको भएका, एक जना उपचाररत रहेका तथा चार जनाको मृत्यु भएको तिवारीले जानकारी दिए।

उनले भने, जापानिज इन्सेफलाइटिस सङ्क्रमित व्यक्तिलाई सिधँै मष्तिष्कमा असर गर्ने भएकाले उनीहरुको अवस्था गम्भीर बन्न थाल्छ र उनीहरुको मृत्यु हुने सम्भावना बढी हुन्छ।

सङ्क्रमण देखिएकामध्ये कावासोती नगरपालिकाका– ६ जना, मध्यविन्दु नगरपालिकाका चार जना तथा हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, गैँडाकोट नगरपालिका र देवचुली नगरपालिकाका एक/एकजना रहेका उनले बताए।

जापानिज इन्सेफलाइटिसको सङ्क्रमितमध्ये ९० प्रतिशतमा लक्षण देखिँदैन, लक्षण देखिएका बिरामीको स्वास्थ्यमा गम्भीर समस्या देखिन्छ,’ उनले भने, जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएका व्यक्तिको छिमेकीको नमूना सङ्कलन गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भए पनि उनीहरुको अवस्था सामान्य छ।

सङ्क्रमित तीनै जना स्वास्थ्यकर्मीको निगरानीमा घरमै रहेका उनले जानकारी दिए। तिवारीकाअनुसार जापानिज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो। यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय हुने गर्दछ।

धानबाली, दलदल र पानी जम्ने स्थान लामखुट्टेको लागि उपयुक्त प्रजननस्थल भएकाले यस्ता क्षेत्रमा सङ्क्रमणको जोखिम बढी हुने गरेको तिवारीको भनाइ छ। जापानिज इन्सेफलाइटिस गम्भीर अवस्थामा पुग्यो भने मस्तिष्क सुन्निने, पक्षाघात हुने, बेहोस हुने, कोमामा जाने वा ३० प्रतिशतसम्मको मृत्युसमेत हुनसक्ने उनले बताए।

यो रोग सङ्क्रमित हाँस, कुखुराजस्ता चराचुरुङ्गी र सुङ्गरबङ्गुरजस्ता जनावरलाई टोकेका सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा सर्ने उल्लेख गर्दै तिवारीले यो रोग मानिसबाट मानिसमा भने नसर्ने बताए।

यसैबीच, कावासोती नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत पारेश्वर भुर्तेलले जिल्लामा सबैभन्दा बढी कावासोतीमा यो रोग देखिएको भन्दै यसको न्यूनीकरणका लागि काम गरिरहेको बताए। उनले पालिकाभित्रका टोलसुधार समिति, स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थी एवम् नागरिक समाजको माध्यमबाट जापानिज इन्सेफलाइटिस रोग र यसबाट जोगिने उपायको बारेमा सचेता फैलाइएको बताए।

लामखुट्टेको टोकाइबाट जोगिन हाँस कुखुरा तथा सुङ्गुरबङ्गुरको खोर समुदायबाट टाढा राख्नुपर्ने, झुलको प्रयोग गर्नुपर्ने, लामो बाहुला भएका लुगा लगाउनुपर्ने तथा पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने भुर्तेलको भनाइ छ।

प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा यस रोगबाट तीन जना सङ्क्रमित भएका थिए। त्यस्तै अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १२ जना सङ्क्रमित हुँदा चार जनाले ज्यान गुमाएका कार्यालयले जनाएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै
२०८३ श्रावण १९, मंगलबार
नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान
२०८३ श्रावण १९, मंगलबार
जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने
२०८३ श्रावण १९, मंगलबार
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
२०८३ श्रावण १९, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै यस्तो छ कार्यसूची
२०८३ श्रावण १९, मंगलबार
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
२०८३ श्रावण १९, मंगलबार
सवारी कारबाहीबाट रु एक करोड ३३ लाख राजस्व सङ्कलन
२०८३ श्रावण १९, मंगलबार