जेठ ६, २०८१ आइतबार May 19, 2024

निषेधाज्ञा गराएर जनतालाई भित्रको भित्र र बाहिरको बाहिर गराएर देश चल्दैन् : टोप बहादुर रायमाझी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक फेरि पनि भोलीबाट सुरु हुँदैछ ? एजेण्डा के-के छन् ?

मुख्य गरी हाम्रो पार्टीसँग जति सम्बन्धित विवादहरू छन्, त्यो कार्यदलले जुन किसिमका एजेण्डाहरू लिएर आएको छ, त्यसलाई बैठकबाट सम्बोधन गर्ने एजेण्डा छ ।

त्यसो भए कार्यदलकाको प्रतिवेदन पारित हुन्छ ?

त्यो हुने सम्भावना बढी छ ।

प्रतिवेदन अनुसार पार्टी अगाडि बढ्छ कि त्यहाँ पनि झेल हुन्छ ?

मुख्य गरिकन अहिले प्रतिवेदनको मूल आधारमा केन्द्रविन्दुमा राखेर बहस हुन्छ । त्यसपछि समस्याहरू र सम्भावनाहरू त आईनै रहन्छन् । त्यसमा बहस र छलफल गर्दै जाने र त्यसलाई समाधान गर्दै जाने दिशातर्फ अगाडि बढ्छौँ ।

अब मन्त्रिपरिषद पुनर्गठन हुन्छ कि हुँदैन ? मुख्यमन्त्री परिवर्तन हुन्छन् कि हुँदैनन् ?

पहिलो त पार्टी एकतासम्बन्धी र वैचारिक राजनीतिक तथा सांगठनिक एजेण्डाहरूमा मुख्य गरिकन छलफल हुन्छ । त्यसपछि प्रदेश सरकारको प्रभावकारितालाई कसरी अगाडि बढाउने ? पुनर्गठन गर्ने कि नगर्ने सम्बन्धमा कुरा भएपछि त्यसपछि मात्र छलफल हुन्छ । के पाउने, के दिने र के गुमाउने भन्ने कुरामा विवाद गर्नुपर्ने विषय होइन । संघीय गणतन्त्र प्राप्त भईसकेपछि कार्यान्वयन गर्नेदेखि लिएर देशको समृद्धिको दिशातिर अगाडि बढ्दै जाने सन्दर्भमा हामी एकैपटक देशका ठुला पार्टीहरूको एकता, त्यसपछि निर्वाचन गराउनेसँग सम्बन्धित विषयहरु र झण्डै दुईतिहाई बहुमतको सरकार, जनमत, त्यसलाई फेरि सरकारमा बदलेर कानून निर्माण गरेर विकास र समृद्धिलाई तीव्रता दिने हामीलाई दोहोरो-तेहेरो जिम्मेवारी आईपरेको हुनाले हाम्रा पार्टीका अधुरा कामहरू पूरा गर्ने र प्रभावकारी बनाउने विषयमा जुन किसिमका कदमहरू थिए, त्यसमा चुनौती र समस्याहरूको समाधान गर्दै अगाडि बढ्छौँ । त्यसमा विवाद सिर्जना भयो । विवादले पार्टी विभाजनतिर लैजान्छ । त्यसकारण अहिले पार्टी एकता अनिवार्य छ । पार्टी एकतालाई केन्द्रविन्दुमा राखेर निकास निकाल्न हामीले बहस गरेका छौँ ।

पार्टी संस्थागत रूपमा जान्छ ? विधि र विधानअनुसार जान्छ कि के हुन्छ अब ?

पार्टीलाई विचार र विधि अनुसार चलाउनुपर्छ । पार्टीलाई व्यक्तिगत रूपमा चलाउनु हुन्न भन्ने कुरामा आन्तरिक बहस छ, यो आम विषय नै हो । यो सैद्धान्तिक विषय हो । पार्टीलाई अब विचार र विधिमा लैजानैपर्छ । संस्थागत रूपमा पार्टीलाई सञ्चालन गर्नुपर्छ । एजेण्डा अनुसार सरकार र पार्टीलाई सञ्चालन गर्नुपर्छ भन्ने कुरामा कुनै द्धिविधा हुँदैन । त्यो बहसबाट हामीले निष्कर्ष निकाल्न आवश्यक छ ।

त्यसो भए रेलको कुरा गर्दा रेलमा पनि झेल भयो । अरबौँको खेल भयो । फेरि रद्द भयो । नेपाल कम्युनिष्ट पार्टीका नेताहरू कोही पनि बोलेनन्, किन हो ? देशमा तपाईहरूले किन ब्रह्मलुट गर्नुहुन्छ ?

जहिलेपनि सरकारमा हुँदा होस्, नहुँदा होस्, एउटा संक्षिप्त प्रतिष्पर्धा गराएर जानुपर्छ भन्ने नै मूल्याकंन गर्नुपर्छ । यसमा कति चलखेल हुन्छ, म भन्न सक्दिन्ँ । तरपनि यसमा आम रूपमा विरोध भयो ।

रेलको ठेकापट्टा रद्द भयो । ३३ अर्बको भागबण्डा, हाम्रो देशमा ?

त्यसमा चलखेल भयो, के भयो भन्ने कुरा त्यो दोस्रो कुरा हो । तर त्यो हामीले विधि, प्रक्रियाको आधारमा विकास र समृद्धिप्रति हामीले गतिविधिहरूलाई अगाडि बढाउनुपर्दछ । त्यसैले अहिले त्यो रद्द भएको राम्रो भयो ।

तपाई पनि भष्ट्राचार विरोधी नेता हुनुहुन्छ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनिसक्यो तर पनि भ्रष्ट्राचार बढि नै रहेको छ नि त ?

कति भ्रष्ट्राचार भयो, त्यो मैले भन्ने भन्दापनि त्यसको लागि जिम्मेवार निकायहरू छन् । हामीले विधिसंगत तरिकाले स्वच्छ र पारदर्शी तरिकाले देशप्रति जिम्मेवार भएर परिणामुखी काम गर्नको लागि हामी त्यो दिशातर्फ अगाडि बढ्नुपर्छ ।

नेपाल कम्युनिष्ट पार्टीको कुरा गर्दाखेरि ३ वर्षदेखि रोकिएको जमिनको कित्ता फेरि पनि फिर्ता भयो । किन सरकारले यस्तो निर्णय गर्छ ?

अब त्यो कुरा के आधारमा गरियो मैले राम्ररी बुझेको छैन । हिजोमात्र मैले सुनेँ । सायद अब त्यस विषयमा पनि हामीले स्थायी कमिटिमा छलफल गर्छौैँ र सरकारमा पनि छलफल होला । संस्थागत रूपमा हो कि व्यक्तिगत रूपमा हो, त्यो विषयमा पनि गम्भीर छलफलको आवश्यकता छ ।

होइन पार्टीभित्र नै विरोध भएको छ । यो गलत निर्णय भयो, कित्ताको कुरा भनेर । बेमौसमको बाजा ? नियमावली अनुसार जानुपर्छ नि होइन ?

त्यसमा हामीले गम्भीर रूपमा छलफल गर्छौँ र हामीले एउटा विज्ञप्ती निकाल्छौँ ।

साउदीमा नेपालीहरू अलपत्र परे । सरकारविरुद्ध उनीहरू उत्रिए । तपाईँहरू किन उनीहरूलाई ल्याउनुहुन्न, नेपाल ? कोरियामा पनि त्यस्तै छ । नेपाल आउन नपाएका नेपालीहरूको विचल्ली ?

यो एउटा कोरोनाको महामारी छ । विश्वव्यापी रूपमा मानवीय क्षतिको विषय बनेको छ । विश्वव्यापी अर्थतन्त्रको दृष्टिकोणले तहसनहस नै पारेको छ । यो नेपालको लागि मात्र होइन, विश्वव्यापी रूपमा नै मानव जातिको लागि ठुलो घातक रोगको रूपमा देखा परिरहेको छ । अब यसको विरुद्धमा लड्नको लागि सरकारमात्र लागेर हुँदैन । सम्पूर्ण पार्टीहरू, सेवकहरू, सामाजिक संघ/संस्थाहरूले सम्पूर्ण आम नेपाली जनतालाई एकीकृत र केन्द्रिकृत गर्न यसको अभिमानमा लड्नपर्ने हाम्रो आवश्यकता छ ।

त्यसो भए उच्चस्तरीय राजनीतिक संयन्त्रहरू चाहिन्छ, पोलिटिकल पार्टीका शीर्ष नेताहरूलाई राखेर ?

राजनीतिक संयन्त्र भए पनि, नभए पनि त्यो सरकारले महशुस गर्ने कुरा हो । जसरी भए पनि राज्यलाई यो महामारीको विरुद्ध विचार र योजनामा निरन्तरता कार्यक्रममा केन्द्रित गरेर वैज्ञानिक किसिमले हामी अगाडि बढ्न जरुरी छ ।

लकडाउन र निषेधाज्ञाले करिब–करिब २ लाख व्यवसाय सधैँको लागि बन्द भएका छन् । किन सरकारको त्यसबारेमा ध्यान गएन ?

यो महामारी कति महिना वा कति वर्षसम्म जान्छ भनेर टुंगो छैन । कसैले पनि भविष्यवाणी गर्नसक्ने स्थिति छैन । त्यसैले ‘स्टे विथ कोरोना’ भनेर मैले सुरुदेखि नै उठाएको छु । हामी कोरोनासँगै संघर्ष गर्दै विश्वको अर्थतन्त्रलाई ध्वस्त, धरासयी हुनबाट रोक्नको लागि हामीले कोरोना भाइरसको विरुद्ध मेडिकल दृष्टिकोणबाट निर्धारण गरिएका स्वास्थ्यका नियमहरूलाई पालना गर्दै देशको विकास र समृद्धिको कामहरूलाई अनुशासित रूपले यसमा हामीले वैज्ञानिक तरिकाले परिचालित गर्न सक्नुपर्छ ।

नाकामा सेना परिचालन गरेर निषेधाज्ञा खुकुलो बनाउन उपत्यकाका मेयरहरूको पनि प्रस्ताव छ । तपाँई के भन्नुहुन्छ ?

यसलाई निषेधाज्ञा गराएर, टाइट गरेर भित्रको भित्र र बाहिरको बाहिर गराएर देश चल्दैन । यसलाई वैज्ञानिक विधिको आधारमा सञ्चालन गर्नुपर्दछ । अनुशासन र नियमहरू पालना गरेर कोरोनाको विरुद्धमा लड्ने देशको अर्थतन्त्रलाई ध्वस्त हुनबाट रोक्ने हामीले नयाँ योजनाको सुरुवात गर्नुपर्दछ । रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया