काठमाण्डौंः निर्वाचन आयोगका पदाधिकारीले अब निर्वाचन व्यवस्थापन तथा सञ्चालनमा प्रभावकारिता अभिवृद्धि गराउन आफूलाई आदर्शका रूपमा प्रस्तुत गर्नुपर्ने भएको छ ।
पदाधिकारीले दल वा निर्वाचन विवादका पक्षहरू वा अन्य सरोकारवालासँग शालीन, सौम्य, नम्र र धैर्य भई व्यवहार गर्नु पर्नेछ । यस्तै आयोगका आफ्ना कर्मचारीबाट समेत निर्वाचन सरोकारवालासँग शालीन, सौम्य, नम्र व्यवहार गर्न लगाउनु पर्नेछ ।
आयोगका पदाधिकारीका लागि जारी आचारसंहिता, २०७७ मा निर्वाचनका क्रममा प्रत्यक्ष वा परोक्ष रूपमा आउने प्रभाव, दबाब, भनसुन, धम्की, आग्रह, पूर्वाग्रह आदिबाट प्रेरित नभई कार्य गर्नुपर्ने उल्लेख छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई अझ स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी, मितव्ययी तथा प्रभावकारी बनाउने उद्देश्यले पदाधिकारीका लागि यो आचारसंहिता बनाई लागू गरेको जानकारी दिए ।
आयोगको तेस्रो रणनीतिक योजनामा उल्लेख भएअनुसार यो आचारसंहिता लागू भएको र आयोगमा पहिलोपटक पदाधिकारीका लागि आचारसंहिता लागू गरिएको हो । पदाधिकारीको आचारसंहितामा मुख्य गरी निर्वाचनको स्वतन्त्रता, निष्पक्षता, पदाधिकारीको निष्ठा, सदाचार, समानता, सक्षमता एवं लगनशीलता गरी छवटा विषय महत्वका साथ व्यवस्था गरिएको छ ।
पदाधिकारीले निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य गर्दा कानुनको सही प्रयोग गरी प्रत्यक्ष वा परोक्ष रूपमा आउने प्रभाव, दबाब, भनसुन, धम्की, आग्रह आदिबाट प्रेरित वा प्रभावित नभई स्वतन्त्रतापूर्वक कार्य गर्नु पर्नेछ । साथै कुनै प्रकारको हस्तक्षेप गर्न, अनुचित प्रभाव पार्न वा दबाब दिन नहुने पनि आचारसंहितामा उल्लेख छ । गोरखापत्रबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया