असार २२, २०८२ आइतबार July 6, 2025

चोभारस्थित सुख्खा बन्दरगाह निर्माण ठप्प, ६ महिनाको म्याद थप गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोभिड १९ को प्रत्यक्ष प्रभाव चोभारस्थित सुख्खा बन्दरगाह निर्माणमा पनि परेको छ ।

कोरोना महामारी, लकडाउन र विभिन्न समयको निषेधाज्ञाले चोभारस्थित निर्माणाधीन सुख्खा बन्दरगाहको काम ठप्प भएको हो । निर्धारित समयमा ७ महिनाको म्याद थप गर्दा पनि बन्दरगाह निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

म्याद थप गरी पछिल्लो समय यही सेप्टेम्बरमा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने थियो । हालसम्म ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । हालसम्म कुल अनुमानित लागतको करिब ३५ प्रतिशत रकम खर्च भएको छ ।

गत फेब्रुअरीमा सरकारले ७ महिनाको म्याद थप गरेको थियो। २०१८ सेप्टेम्बर १८ तारिखमा निर्माणका लागि ठेक्का लागेको उक्त बन्दरगाह निर्माण कार्य गत फेबु्रअरीको पहिलो साताभित्र सम्पन्न गर्नुपर्ने थियो । निर्माणको जिम्मा नेपालको आशिष निर्माण सेवा र चीनको सैङछीले संयुक्त रूपमा लिएको थियो ।

‘तर, म्याद थप भएको दुई महिनापछि कोभिडको संक्रमण र त्यसपछि साँढे तीन महिनाको लकडाउन र निषेधाज्ञाले निर्माण कार्य बिचमै रोकिएको हो’, नेपाल इन्टरमोडल यातायात विकास समितिका निर्देशक युवक डंगोलले भने, ‘यसले निर्माण सम्पन्न हुने अवधि थप ६ महिना लम्बिएको छ ।’

डंगोलकाअनुसार कोभिडका कारण प्रत्यक्ष असर पुगेको आयोजनाको हकमा सरकारले ६ महिनाको म्याद थप्ने निर्णय गरेको छ । कोभिडका कारण यो बन्दरगाहमा पनि प्रत्यक्ष असर पुगेकाले थप ६ महिनाको म्याद थप गर्ने समितिले आन्तरिक तयारी गरिरहेको डंगोलले जानकारी दिए ।

समितिका अनुसार पहिलोपटक थप भएको म्यादलगत्तै वर्षात सुरु भएको थियो । जसले गर्दा धेरै दिनसम्म काम अवरुद्घ हुन पुग्यो । लगत्तै कोभिड महामारी, लकडाउन र निषेधाज्ञाले निर्माण कार्य पूर्णरूपमा ठप्प भयो ।

बन्दरगाह निर्माण परामर्शदाता टिम लिडर विनोद कुशवाहाका अनुसार काठमाडौं कन्टेनर फ्रेट स्टेसनमा नियमित रूपमा दुई सय जनाले काम गर्दै आएका थिए । ‘तर, पछिल्लो अवस्थाले एक सय ७० जना कामदार घर फर्के । कामदारको चर्को अभाव, सुरक्षा तथा स्वास्थ्यसम्बन्धी मापदण्ड पालनालगायत कारण काम प्रभावित हुन पुग्यो’, कुशवाहाले भने । अहिले ३० जनाको भरमा सानोतिनो काम मात्रै हुँदै आएको छ । अन्नपूर्ण पोस्टबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया