मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

दलको आन्तरिक प्रतिस्पर्धा र दल दलबिचको प्रतिस्पर्धालाई कसैले पनि रोक्न सक्दैन : दोलखबहादुर गुरुङ (अन्तवार्ता)

निर्वाचन आयोग त रेफ्री मात्रै हो । निर्वाचन स्वच्छ, मर्यादित र पारदर्शी बनाउने मुख्य जिम्मेवारी राजनीतिक दलहरूकै हो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२०६४ र २०७० सालमा सम्पन्न भएको संविधान सभा निर्वाचन र अहिले हुन लागेको निर्वाचनमा के फरक देख्नुहुन्छ ?

निर्वाचन भनेको जनताको अभिमत लिने अवसर हो । निर्वाचनको वातावरणलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वासिलो बनाउनु सबैको दायित्व हुन आउँछ । २०६४ सालको निर्वाचन विशेष गरेर शान्ति स्थापना र संविधान लेखनका लागि थियो । त्यो युद्धपश्चात् सम्पन्न गरिएको निर्वाचन पनि थियो । त्यो निर्वाचनद्वारा निर्वाचित जनप्रतिनिधिबाट संविधान निर्माण हुन सकेन । परिणामस्वरूप २०७० सालमा संविधान सभाको दोस्रो निर्वाचन गर्नुपर्ने अवस्था आयो ।

त्यतिबेलाको निर्वाचन अन्तरिम संविधान अनुसार सञ्चालन गरिएको थियो । अहिलेको निर्वाचन भने अहिलेकै संविधान अनुसार हुन गइरहेको छ । अहिलेको निर्वाचन जेनजी आन्दोलनको परिणाम हो । जेनजी आन्दोलनलाई संस्थागत र लोकतन्त्र सुदृढ गर्नुपर्ने म्यान्डेट फागुन २१ को निर्वाचनलाई छ ।

निर्वाचन सम्पन्न गर्ने क्रममा त्यतिबेला पनि समस्या नआएका होइनन् । सुरक्षाको दृष्टिकोणले पनि निर्वाचन गर्न सहज थिएन । कानुन स्पष्ट थिएनन् । सरकार, आयोग र सबै दलको सहयोगबाट सन्तोषजनक निर्वाचन सम्पन्न भयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्बाट पनि निर्वाचन स्वीकार्य बनेको थियो ।

अहिले भने जेनजीको आन्दोलन संस्थागत र लोकतन्त्र सुदृढ गर्न निर्वाचन गर्न लागिएको हो । सुशासन र भ्रष्टाचार अन्त्यका लागि निर्वाचन हुन लागेको हो । यो निर्वाचन आमनेपालीको चाहना अनुसार हुन गइरहेको छ ।

निर्वाचनको मिति पनि नजिकिँदै छ । विगतका तुलनामा अहिलेको निर्वाचन तयारीलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

मुख्य विषय निर्वाचनको वातावरण निर्माण गर्नु हो । हरेक निर्वाचनमा दलको सहभागिता, मतदाताको अधिकार सुनिश्चित, सुरक्षाको प्रत्याभूति तथा सरकार र निर्वाचन आयोगको प्रतिबद्धता मुख्य हुन्छ । यी सबै विषयलाई सामान्य रूपमै हेर्दा पनि हिजो र आजको परिस्थिति भिन्न छ । विगतमा भन्दा आज सुध्रेको छ । यही चुनावमा पनि सबै दलले दल दर्ता गरिसकेका छन् । नौ लाख नयाँ मतदाताले नाम दर्ता गराएका छन् । निर्वाचन गराउन अन्तरिम सरकार गठन गरिएको छ । निर्वाचन आयोगले पनि ७० प्रतिशत काम पूरा भएको जनाएको छ ।

सुरक्षाकर्मी तयारी अवस्थामा छन् । जेनजी युवा पनि निर्वाचनबाट नै माग पूरा हुनेमा विश्वस्त देखिन्छन् । निर्वाचन प्रणालीमा सुधार, संविधान संशोधन मुख्य पाटो हो । २०६४ र २०७० सालको निर्वाचनमा वहिष्कारवादी दल पनि थिए । केही दल तथा समूहबाट वहिष्कार भएको थियो । शान्तिसुरक्षाको अवस्था पनि फरक थियो । निर्वाचनमा अशान्तिका केही घटना पनि थिए । अहिलेको निर्वाचनमा सबै जसो सहभागी हुँदै छन् । यी सबै तयारी हेर्दा यो निर्वाचन तोकिएकै मितिमा हुन्छ ।

जेनजी आन्दोलनका क्रममा अदालत र प्रहरीका धेरै भवन जलेका छन् । हतियार लुटिएका छन् । कैदी फरार छन् । यस्तो अवस्थामा हुन लागेको निर्वाचनको सन्दर्भमा सरकार र निर्वाचन आयोगले के कस्ता विषयमा बढी ध्यान दिनु पर्ला ?

निर्वाचनमा सुरक्षा पहिलो सर्त हो । राजनीतिक चुनौती व्यवस्थापन र सुरक्षा व्यवस्था सुदृढ पार्नु मुख्य जिम्मेवारी हो । सुरक्षाको प्रत्याभूति दिनु भनेको निर्वाचनको वातावरण बनाउनु जस्तै हो । यो भनेको दल मैदानमा उत्रँदा सुरक्षा दिनु हो । स्वच्छ प्रतिस्पर्धा हुन दिनु हो । मतदान सामग्री मतदान केन्द्रसम्म लैजाने, ब्यालेट बक्स सुरक्षित राख्ने, मतदातालाई सुरक्षित तरिकाबाट मतदान गरेर फर्कन पाउने व्यवस्था गर्नु हो । निर्वाचनका क्रममा कर्मचारी, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकको पनि सुरक्षा सुनिश्चित हुनु पर्छ । निर्वाचनसँग सम्बन्धित सुरक्षाको योजना बनाउँदा सुरक्षा निकायले एकीकृत सुरक्षा योजना बनाउनु पर्छ ।

निर्वाचनको सुरक्षा प्रबन्ध गर्दा भौगोलिक अवस्थिति, त्यहाँको सुरक्षा संवेदनशीलता, विद्यमान समस्या र चुनौती के छन् भन्ने विषयलाई पनि ध्यान दिनु पर्छ । अझ अहिलेको स्थितिमा संवेदनशील र अति संवेदनशील भनी वर्गीकरण गरेर मात्रै निर्वाचन गराउनु उपयुक्त हुन्छ ।  जेनजी आन्दोलनपछि भएको घटनामा लुटिएका केही हतियार अझै फिर्ता भएका छैनन्, थुप्रै कैदी फरार छन् । निर्वाचनसम्ममा यो समस्या पनि सल्टिएला । सल्टिएन भने राजनीतिक दलका कार्यकर्ता र सुरक्षाकर्मी मैदानमा उत्रेपछि निर्वाचनको वातावरण आफैँ बन्छ । निर्वाचनमा सुरक्षा निकायले मात्रै सुरक्षा दिन्छ भन्ने होइन । नागरिकस्तरमै प्रत्येक वडा वडामा, प्रत्येक मतदान केन्द्रमा सुरक्षा सहयोग समिति बनाउन सकिन्छ । राजनीतिक दल मिले भने आफैँ सुरक्षाको प्रबन्ध गर्न सकिन्छ । २०६४ र २०७० सालमा पनि यस्ता सुरक्षा चुनौती थिए तर पनि निर्वाचन भयो ।

महत्वपूर्ण पक्ष हाम्रो सुरक्षा निकाय निर्वाचनमा सुरक्षा दिन सक्षम छन् । २०१५ सालदेखि नै सबै जसो निर्वाचनमा उनीहरूको भूमिका प्रशंसनीय रहेको छ । सुरक्षा सङ्गठनले पनि हामी सुरक्षा दिन सक्छौँ भन्ने प्रतिबद्धता जाहेर गरिसकेका छन् । तयारी पनि गरिसकेका छन् । त्यसैले अहिले सुरक्षा चुनौती छ भनेर जुन कोलाहल छ नि, म त्यो देख्दिनँ ।

केही राजनीतिक दलले सुरक्षाको वातावरणमाथि प्रश्न उठाइरहेका छन् । यस्तो अवस्थामा सुरक्षित मतदानका लागि वातावरण बनाउन दल स्वयम् र जेनजी आन्दोलनमा सहभागी युवाको पनि भूमिका त होला नि ?

अवश्य । सुरक्षा निकायले मात्रै सुरक्षा दिन सक्दैनन् । निर्वाचनमा राजनीतिक दलको त झन् ठुलो दायित्व हुन्छ । उनीहरू अनुशासित भए भने सुरक्षा प्रबन्ध आफैँ हुन्छ । दलहरू सुरक्षा भएन भन्दै आफैँ अस्वस्थ प्रतिस्पर्धामा उत्रने, अराजकता मच्याउने गरी नारा जुलुस गर्ने, भाषण तथा प्रचारप्रसारमा गालीगलौजको भाषा प्रयोग गर्दै हिँड्ने हो भने सुरक्षा निकायले मात्रै केही गर्न सक्दैन ।

चुनावको मुख्य खेलाडी भनेकै राजनीतिक दल हुन् । निर्वाचन आयोग त रेफ्री मात्रै हो । निर्वाचन स्वच्छ, मर्यादित र पारदर्शी बनाउने भूमिका त दलले नै निर्वाह गर्नु पर्छ । जनताको अभिमत लिन जानेले त हाम्रो जिम्मेवारी मुख्य हुन्छ भनेर बुझ्नुपर्‍यो नि । सबैले नियम, कानुन, आचारसंहिता पालना गर्ने हो भने निर्वाचनलाई उत्कृष्ट ढङ्गबाट सम्पन्न गर्न सक्छौँ । यहाँ जनताको सहभागिता अत्यधिक हुन्छ । मैले बुझे अनुसार जनता त कहिले ब्यालेट बक्स आउला र मतदान गरौँला भनेर आतुर छन् । उनीहरू यति निर्वाचनप्रेमी छन् कि कहिले निर्वाचन होला र मतदान गरौँ भनेर कुरिरहेका छन् ।

नेपालको भौगोलिक विविधता अनुसार हिमाली र पहाडी जिल्लाको मौसम पनि फरक फरक छ । निर्वाचन हुने भनिएको फागुन महिनामा केही हिमाली जिल्लामा हिउँ पर्ने, चिसो बढ्ने र आवागमनमा समस्याको सम्भावना छ । यस्तो अवस्थामा निर्वाचन एकै चरणमा गर्न सकिन्छ ? 

राष्ट्रपतिज्यूले निर्वाचन घोषणा गरिसक्नुभएकाले निर्वाचनको मिति ठिक छ कि छैन भन्ने विषयमा मैले केही भन्न मिल्दैन । यति नै चरणमा निर्वाचन गर्नु उपयुक्त हुन्छ भन्नु व्यावहारिक पनि नहोला । सुरक्षाका दृष्टिकोणले निर्वाचन दुई चरणमा गर्दा उपयुक्त होला कि भन्ने मेरो दृष्टिकोण हो । यसो गर्दा सुरक्षाको भरपर्दो प्रबन्ध गर्न सकिएला ।

केही हिमाली जिल्लामा निर्वाचनको समयमा कठिनाइ हुन सक्छ । हिउँ पर्न सक्छ । यस्तो बेलामा मौसमभन्दा पनि जरुरीपनका आधारमा जतिसको छिटो निर्वाचन गरेर, संसद् स्थापना गरी जेनजीका माग सम्बोधन गर्नु पर्छ । मौसम अनुकूलताका कारण तत्काल केही जिल्ला वा क्षेत्रमा निर्वाचन हुन सकेन भने स्थगित गर्दा पनि हुन्छ । रोकिएका ठाउँमा मौसम अनुकूल भएपछि निर्वाचन आयोगले केही दिन ढिलो गर्न पनि सक्छ । हिउँलाई नै हटाउ भन्न त सकिँदैन तर फागुनमा निर्वाचन हुन नसक्ने ठाउँमा पछि गर्दा पनि हुन्छ । हिमाली जिल्लामा पनि केही ठाउँमा मात्रै हिउँ पर्ने हो । यसलाई निर्वाचन आयोगले व्यवस्थापन गर्छ । ठुलो चिन्ताको विषय होइन ।

जेनजी आन्दोलनका कारण निर्वाचित सरकार विस्थापित भयो । प्रतिनिधि सभाको अवधि रहँदा नै विघटन भयो । नयाँ निर्वाचनको मिति पनि तोकियो । यस्तो अवस्थामा जेनजी आन्दोलनमा सहभागी ती युवाको माग सम्बोधन गर्न दलहरू कसरी अघि बढ्दा उपयुक्त होला ? 

निर्वाचनको वातावरण बन्दै छ, निर्वाचन हुन्छ, हुनै पर्छ, गर्नै पर्छ । त्यसो हुँदाहुँदै पनि केही विषय चुनौतीका रूपमा छन् । केही विषयमा शङ्का छ, भ्रम छ । संसद् पुनस्र्थापना हुनु पर्छ भनेर सर्वोच्च अदालतमा मुद्दा परेको छ । जुन विचाराधीन छ । मुद्दा विचाराधीन भएकाले केही मान्छे पर्ख र हेरको स्थितिमा पनि छन् । यो जतिसक्दो छिटो टुङ्गोमा पुग्यो भने निर्वाचनको वातावरण बन्न सक्छ ।

फेरि प्रधानमन्त्रीज्यूले दलहरूसँग छलफल तथा संवाद गरिरहनुभएको छ । प्रधानमन्त्रीले बोलाएको बैठकमा दलहरू उपस्थित भएर आफ्ना सुझाव र राय दिइसकेपछि चुनावमा जान तत्पर रहेको पुष्टि भएको छ । दलहरूले चुनाव स्वीकार गरिसकेका छन् । चुनावको राजनीतिक वातावरण बनाउने काम सरकारको हो । चुनावलाई सहजीकरण गर्ने आयोगले हो । अब जेनजीको के के माग पूरा गर्नुपर्ने हो भनेर सर्वपक्षीय समझदारी बनाउनुपर्ने अहिलेको आवश्यकता हो ।

जेनजी समूहबिचमा पनि एकता हुनु पर्छ । उनीहरू सङ्गठित हुनु पर्छ । जेनजीको समूह अनुसार फरक फरक माग लिएर हिँड्नु भएन । उहाँहरू आफू चुनावमा भाग लिए पनि नलिए पनि प्रत्येक दलमा युवा उम्मेदवारलाई छान्न बल लगाउनु पर्‍यो । सके आफैँ स्वतन्त्र रूपमा भए पनि चुनावमा भाग लिनु पर्‍यो नसके घर घरमा गएर युवालाई मतदान गर्नुस् भन्दै सचेतना जगाउने काममा लाग्नु प¥यो । मतदातालाई भड्काउने हिसाबले अन्य दललाई भोजभतेर गर्न दिनुभएन । आचारसंहिता पालना गराउनुतर्फ लाग्नु पर्छ । सदरमुकाममा रुमलिएर होइन, गाउँ गाउँमा जानु पर्छ । जेनजीले आन्दोलनलाई साधन मात्रै बनाएका हुन्, साध्य भनेको त भ्रष्टाचार निवारण, सुशासन स्थापना गर्नु थियो । युवा पिँढीलाई सक्रिय बनाएपछि मात्रै यो अभियान पूरा गर्न सकिन्छ । दलहरूले जेनजी युवालाई अघि सारेर नागरिकसँग मत माग्दै हिँड्नु पर्छ ।

निर्वाचन आचारसंहिताको कुरा पनि उठाउनुभयो । खास गरी नेपालको समानुपातिक निर्वाचन प्रणाली सबै पक्षलाई समेटेर समावेशी बनाउने गरी ल्याइएको थियो । यो प्रणाली नेताहरूले आसेपासे र आफन्तलाई सांसद बनाउने माध्यम मात्रै बनाएको गुनासो बढ्दो छ । आयोगले यसलाई रोक्न सक्दैन ?

आचारसंहिता कडाइ गरेर लागु गर्नु पर्छ । यसलाई सुधार्नु पर्‍यो भन्ने विषय पहिलेदेखि नै उठेको हो । हामी हुँदा पनि आयोगलाई प्रशासनिक, आर्थिक र निर्वाचन घोषणा गर्ने अधिकार कि संविधानमै हुनु पर्‍यो कि आयोगलाई हुनु पर्‍यो भन्ने विषय पनि उठेको हो । संसारको कुनै पनि निर्वाचन प्रणालीमा २४ क्यारेटको गुण भएको हुँदैन । केही न केही कमजोरी सबैमा हुन्छ । त्यसलाई कार्यान्वयन गर्ने पाटो बलियो हुनु पर्छ । राजनीतिक दलले परिवारका सदस्य वा वरिपरिका सदस्यलाई नल्याइदिए हुन्थ्यो वा एउटै व्यक्तिलाई तीन/चार पटकसम्म ल्याउने गरेका कारण समस्या आएको हो ।

यी विषय सुधार्न समानुपातिक प्रणालीमा सुधार गर्नै पर्छ । यो विषयमा सबैले महसुस गरेका छन् । दलले गर्ने विषयमा निर्वाचन आयोगले नियन्त्रण गर्न सक्दैन । आयोगले निर्वाचन सञ्चालन गर्ने विषयमा मात्रै नियन्त्रण र निर्देशन दिन सक्छ । संवैधानिक व्यवस्थालाई आयोगले निर्देशन गर्न सक्दैन । यसलाई हटाऊ, यसलाई राख भन्न सक्दैन । ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था पूरा भयो कि भएन भनेर मात्रै आयोगले हेर्न सक्छ । यसमा दलले नै व्यवहारमा परिवर्तन ल्याउनु पर्‍यो । जेनजी आन्दोलनको मुख्य उद्देश्य शासकीय सुधार पनि हो, यसलाई सकारात्मक रूपमा लिनु पर्छ ।

राजनीतिक दलबिच ध्रुवीकरण भइरहेको छ । ठुला दलमा असन्तुष्टि पनि झाँगिँदै छ । यस्तो अवस्थामा हुने निर्वाचनले फेरि पनि स्थिर सरकार दिन सक्ला ?

मतदाता सचेत हुने हो भने स्थिर सरकार बन्न पनि सक्छ । दलको आन्तरिक प्रतिस्पर्धा र दल दलबिचको प्रतिस्पर्धालाई भने कसैले पनि रोक्न सक्दैन । दलबिच प्रतिस्पर्धा त हुन्छ नै । मतदाताले नै बाँडेर मतदान गरे भने निर्वाचन परिणाम पनि बाँडिएर जान्छ । फेरि पनि अस्थिर सरकार बन्ने सम्भावना रहन्छ । मतदाता यस विषयमा चनाखो हुनु पर्छ ।

नयाँ दल दर्ता हुने क्रम जारी छ । यसले दलको सङ्ख्या बढ्ने, सिट विभाजित हुने र अस्थिर सरकार बन्ने हो कि भन्ने आशङ्का बढेको छ नि ?

यो सम्भावना त सधैँ हुन्छ । त्यही भएर मतदातालाई सचेत गराउनु पर्छ भनेको हो । जेनजी समूह गाउँघरमा जानु पर्‍यो । बुझाउनु पर्‍यो । असल मान्छेलाई मतदान गरेर पठाऊ भन्नु पर्‍यो । राम्रा मान्छेलाई जिताउनु पर्‍यो । दलबिच स्वच्छ प्रतिस्पर्धा हुन दिनु पर्छ । दलहरू लोकतन्त्रवादी पनि छन् । चुनाव आएपछि मतदातामा मनोवैज्ञानिक त्रास, आर्थिक चलखेलको कुरा हुन्छ । यसलाई रोक्नु पर्छ । बदर मत घटाउनु पर्छ । मतदाता शिक्षालाई जोड दिनु पर्छ । दलहरूले नै मतदाता शिक्षालाई प्राथमिकता दिनु पर्छ । मतदाता शिक्षाको उद्देश्य सचेतना ल्याउने पनि हो ।

मतदातालाई मताधिकारको विषयमा राम्रोसँग बुझाउन सक्नु पर्छ । मतदातालाई सकारात्मक बनाउन सकियो भने धेरै विषयमा सुधार ल्याउन सकिन्छ । नेपालको सन्दर्भमा प्रत्येक निर्वाचनमा राजनीतिक वातावरण राम्रो बनेको छ । विगतका चुनावमा पनि वहिष्कारवादी भए पनि अन्य निर्वाचनमा भाग लिने गरेका थिए ।

पछिल्लो समय झुटा समाचार र एआईबाट निर्मित कृत्रिम सामग्रीको समस्या बढ्दो छ । सामाजिक सञ्जालको प्रयोग पनि बढिरहेको छ । यस्तो अवस्थामा आयोगले स्वच्छ, स्वस्थ र विश्वसनीय निर्वाचन गराउन कस्तो संरचना बनाउनुपर्ला ?

आयोगले आचारसंहिताको पालना, कार्यान्वयन र कारबाही कडाइका साथ गर्नु पर्छ । आयोगले अहिले पनि आचारसंहिताका सम्बन्धमा सुझाव लिइरहेको छ । विदेशी मुलुकको तुलनामा हाम्रो आचारसंहिता निकै राम्रो छ, कार्यान्वयनमा भने समस्या नै छ । जसले आचारसंहिताको पालना गर्छु भनेर सहमति गरेर हस्ताक्षर नै गर्छ, उनीहरूबाट नै पालना भएको छैन । यसमा दलहरू अघि छन् ।

सञ्चार क्षेत्रमा पनि झुटा समाचार आउने गरेका छन् । केही मिडियाले त दिक्दार हुने गरी समाचार उत्पादन गरिरहेका छन् । उनीहरूले मान्छेलाई भ्रम सिर्जना गरिदिएको छ । ज्यान नै गएको छ । यसलाई अनुगमन गर्नु पर्छ । आचारसंहिताको कार्यान्वयन नै मुख्य कुरा हो ।

दलहरूलाई आयोगले निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा खर्चको सीमा नै तोकेको छ । उम्मेदवारले करोडौँ खर्च गरी जितेर आएभन्दा पनि आयोगले कानुनमा भएको व्यवस्था अनुसार कारबाही गरेर देखाउन सकेको छैन नि ? 

अवश्य नै । राजनीतिक दलले उम्मेदवारी दिँदा नै धनसम्पत्ति भएकालाई छनोट गर्छ । राजनीतिमै जीवन समर्पण गरेका, प्रजातन्त्र र लोकतन्त्रका लागि लडेका, तपस्या गरेका व्यक्तिले टिकट नपाउने अवस्था छ । टिकट पाए पनि चुनाव लड्न नसक्ने अवस्था छ । चुनावमा लड्ने र खर्च पनि उठाउन सकिन्छ है भन्ने सोचबाट दलीय नेतृत्व प्रेरित छ । त्यसैले आयोगले कसैलाई काखा पाखा नगरी कारबाही गर्ने हो भने हुन्छ । विगतमा आचारसंहिता पालना गराउन, ब्यानर टाँग्ने, पेन्टिङ गर्ने काम रोकिएका थिए । हाम्रो मुख्य समस्या नै नियम बनाउने त कार्यान्वयन गराउन नसकिनेमा छ । त्यस्ता किसिमका उम्मेदवार छन् भने जेनजी नै लागेर उजुरी दिने, गाउँ गाउँमा पुगेर गैरकानुनी र आचारसंहिताभन्दा बढी काम गर्नेलाई रोक्नु पर्छ । कार्यान्वयन नै गराउने हो भने सुरक्षा निकायलाई पनि अधिकार दिनु पर्छ । आचारसंहिताविपरीत काम गर्नेलाई समातेर तुरुन्त कारबाही गर्नु पर्छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार