बैसाख २१, २०८३ सोमबार May 4, 2026

अदालतको आदेशअनुसार, सडक सीमाभित्रको जग्गामा मुआब्जा नपाइने र विस्तारको काम नरोकिने : वसन्त अधिकारी (अन्तवार्ता)

‘भोलि बिहानैबाट डोजर चल्छ, आवश्यक परे सेना परिचालन गर्छौँ’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सडक डिभिजन कार्यालयले सडक सीमा खाली गर्न दिएको १५ दिने म्याद आज सकिँदैछ । सडक विस्तारका लागि प्रशासन र सुरक्षा निकायको तयारी कस्तो छ ?

सडक डिभिजन कार्यालय हेटौँडाले गत मङ्सिर ५ गते सडक सीमा (सडकको केन्द्रबिन्दुबाट २५ गज अर्थात् २२.८६ मिटर दायाँ बायाँ) भित्रका संरचना खाली गर्न सूचना जारी गरेको थियो । सोही सूचना अनुसार आज १५ दिनको म्याद सकिँदैछ । सडक डिभिजनले आवश्यक समन्वय र सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेलगत्तै हामीले जिल्ला सुरक्षा समितिको बैठक बसेर आवश्यक सुरक्षा रणनीति तयार पारिसकेका छौँ ।

हामीले प्रदेश सुरक्षा समितिसँग समन्वय गरेर आवश्यक जनशक्ति र सहयोगको अनुरोध पनि गरिसकेका छौँ । आज दिउँसो ३ बजेसम्म कसैबाट पनि काम रोक्ने किसिमको कुनै अन्तरिम आदेश आएको छैन । तसर्थ, भोलि (शनिबार) बिहानैदेखि हाम्रो अभियान सुरु हुन्छ र सडक संरचना खाली गर्ने काम अघि बढ्छ ।

सडक विस्तारका लागि आवश्यक उपकरण र सुरक्षाकर्मीको व्यवस्थापन कसरी मिलाइएको छ ?

सडक डिभिजन कार्यालयले आवश्यक डोजर, एक्स्काभेटर तथा लोडरहरूको व्यवस्था गरिसकेको छ । सुरक्षाको पाटोमा हामीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूलाई पर्याप्त सङ्ख्यामा परिचालन गर्ने तयारी गरेका छौँ । आवश्यकता परेको खण्डमा नेपाली सेनाले पनि लजिस्टिक सहयोग गर्नेछ ।

हामीले सडक निर्माण कार्यलाई अवरोध पुर्‍याउन सक्ने, अवाञ्छित गतिविधि गर्ने र गैरकानुनी क्रियाकलाप गर्न सक्ने केही व्यक्तिहरूलाई ‘नोटिस’मा राखेका छौँ । यदि भोलि कसैले शान्ति सुरक्षामा खलल पुर्‍याउन खोज्यो वा दुर्घटना गराउन खोज्यो भने उनीहरूलाई नियन्त्रणमा लिन हामी पूर्ण रूपमा तयार छौँ ।

विगतमा पनि पटक–पटक सडक विस्तारको कुरा उठ्ने तर काम बिचमै रोकिने गरेको थियो । अहिले चाहिँ के हुन्छ ?

यसपटक सडक विस्तारको काम रोकिँदैन । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागकै अग्रसरतामा यो सूचना निस्किएकाले केन्द्र सरकारको पूर्ण सहयोग छ । साथै, प्रदेश सरकारको पनि यसमा सहयोग रहेको छ । यो कुनै नयाँ काम नभई नियमित प्रक्रिया हो र अदालतको आदेश कार्यान्वयन गर्ने विषय हो ।

अहिले नै सडक सीमाभित्रका करिब ५० प्रतिशत घर तथा टहराहरू खाली भइसकेका छन् । धेरैले सटरहरू भत्काउन थालिसक्नुभएको छ । अब भोलिबाट हामीले बाँकी रहेका संरचना भत्काउन सुरु गर्छौँ । एकपटक काम सुरु भइसकेपछि यो पूरा नभएसम्म रोकिँदैन ।

सडक विस्तारको विषयमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र सरोकारवालाहरूसँग कत्तिको छलफल भएको छ ?

हामीले प्रमुख राजनीतिक दलहरूसँग समन्वय गरेका छौँ । यो सम्मानित सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने विषय भएकाले धेरै छलफल गरिरहनुपर्ने अवस्था पनि छैन ।

हामी स्टेकहोल्डर (सरोकारवाला) हौं र अदालतको निर्णय कार्यान्वयन गर्नु हाम्रो दायित्व हो । पूर्वजनप्रतिनिधि वा अन्य व्यक्तिहरूसँग छुट्टै छलफल नगरिए पनि कानुनी राज्यको पालना सबैले गर्नुपर्छ । यो नियमित विकास निर्माणको काम भएकाले यसलाई रोक्नु हुँदैन भन्नेमा धेरैको एकमत छ ।

केही व्यवसायी र घरधनीहरूले विरोध गरिरहेका छन्, यसलाई कसरी लिनुहुन्छ ?

शान्तिपूर्ण रूपमा आफ्नो असहमति राख्न पाइन्छ, तर कानुन हातमा लिने वा सडक विस्तारमै अवरोध गर्ने छुट कसैलाई छैन । ५० प्रतिशत मानिसले आफैँ घर खाली गरिसकेको अवस्थामा केही व्यक्तिले मात्र विरोध गरेर यो काम रोकिँदैन । सडक संरचनामा परेका घरहरूलाई अब थप समय दिने वा अन्य कुनै व्यावसायिक क्रियाकलाप गर्न दिने अवस्था छैन । भोलि सबेरैबाट विस्तारको काम सुरु हुन्छ ।

सडक विस्तारको क्रममा मुआब्जाको विषय निकै पेचिलो बनेको छ । प्रभावितहरूले लालपुर्जा भएको, मालपोतबाट पास भएको र कर तिरेको दाबी गरिरहेका छन्, यसमा अदालतको आदेश र प्रशासनको बुझाइ के हो ?

सम्मानित सर्वोच्च अदालतले सडक सीमा (२५ गज) भित्रको जग्गाको मुआब्जा नपाउने भनेर स्पष्ट फैसला गरिसकेको छ । कतिपयले मसँग लालपुर्जा छ, नगरपालिकालाई कर तिरेको छु वा मालपोतबाट रजिस्ट्रेसन पास भएको छ भन्ने तर्क गरे पनि अदालतको फैसलाले त्यसलाई खारेज गरिदिएको छ । जग्गा पास गरे पनि, व्यवसाय दर्ता गरे पनि वा कर तिरेकै भरमा सार्वजनिक जग्गालाई मेरो हो भन्न नमिल्ने कुरा फैसलामा उल्लेख छ ।

त्यसो भए सडक सीमाभित्रको जग्गा सुरुदेखि नै सार्वजनिक हो भन्ने बुझियो ? अनि विगतमा कसैले मुआब्जा पाएको रहेछ भने के हुन्छ ?

हो । २५ गजभित्रको क्षेत्रका लागि मुआब्जा नदिने भनेपछि त्यो स्वतः सार्वजनिक जग्गा हो भन्ने बुझिन्छ । अदालतले यसलाई गैरकानुनी ठहर गरिसकेको अवस्थामा विगतमा कसैले मुआब्जा पाएको रहेछ भने पनि नेपाल सरकारले छानबिन गरेर असुलउपर गर्नुपर्ने अवस्था देखिन्छ ।

राजमार्ग बन्नुभन्दा अघिदेखि बसोबास गरिरहेका वा वास्तविक पीडित र सुकुम्बासीहरू सडकमा आउने अवस्था आयो भने उनीहरूका लागि केही विकल्प सोचिएको छ ?

राजमार्गको छेउमा (महँगो जग्गामा) घर बनाएर बस्नेहरू पूर्णरूपमा सुकुम्वासी नै हुन् भन्ने कुरा पत्याउन गाह्रो छ । धेरैजसोले यो राजमार्ग क्षेत्र हो भन्ने थाहा हुँदाहुँदै पछिल्लो समय जग्गा किनेको देखिन्छ ।

यद्यपि, यदि कोही वास्तविक सुकुम्वासी हुनुहुन्छ र उहाँहरूको बिचल्ली हुने अवस्था छ भने वडाहरूले तथ्याङ्क सङ्कलन गरिरहेका छन् । भूमि आयोग र नगरपालिकासँग समन्वय गरेर उहाँहरूलाई अन्यत्र व्यवस्थापन गर्ने विषयमा नगर प्रमुखज्यूले पनि बोल्नुभएको छ र हामी पनि त्यसमा समन्वय गर्ने पक्षमा छौँ । रातोपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)
२०८३ बैसाख २१, सोमबार
शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल
२०८३ बैसाख २१, सोमबार
व्यवसायी गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश
२०८३ बैसाख २१, सोमबार
इन्धनको दुरुपयोग भएको छैन : स्वास्थ्य मन्त्रालय
२०८३ बैसाख २१, सोमबार
सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानरीक्षक पौडेल
२०८३ बैसाख २१, सोमबार
राष्ट्रियसभाका अध्यक्ष दाहालसमक्ष ज्ञापनपत्र प्रस्तुत
२०८३ बैसाख २१, सोमबार
भारतीय विधान सभा चुनाव : पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी
२०८३ बैसाख २१, सोमबार