काठमाण्डाैंः राजनीतिक संकटमा फसेको अफ्रिकी मुलुक मालीमा सैनिक नेताहरु, राज्यका उच्च पदाधिकारीहरु र नागरिक समाजबीच संक्रमणकालीन सरकार गठन गर्न सहमति भएको छ ।
स्रोतका अनुसार यो संक्रमणकालीन सरकार १८ महिनाका लागि हुनेछ । यद्यपी यस सहमतिका बारेमा औपचारिक घोषणा गरिएको छैन । गत महिना मालीका राष्ट्रपतिलाई सेनाले अपदस्थ गरेपछि अहिले त्यहाँ सैनिक शासन लागू छ ।
बहुपक्षीय वार्तामा सहभागीहरुका तर्फबाट प्रवक्ता तोकिएका मौसा कामराले मुलुकको राष्ट्रपति, उपराष्ट्रपति, संक्रमणकालीन सरकार र राष्ट्रिय कमिटी गठनका बारेमा सहमति भएको जनाकारी दिनुभयो । वार्तामा सहभागीबीच मुलुकको आधारभूत कानुन र आगामी मार्गचित्रका बारेमा पनि सहमति जुटेको छ । सैनिक नेतृत्वको राष्ट्रिय कमिटीका प्रमुख समेत रहनु भएका कर्णेल आस्सिमी गोइटाले प्रस्तावित योजनालाई अन्तर्राष्ट्रिय समुदायले पनि स्वीकार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
गत अगष्ट १८ मा मालीका सेनाको एक समूहले राजधानी बामाको नजिकको सैनिक अखडाबाट विद्रोह गरेका थिए । उनीहरुले राजनीतिक सुधार र नयाँ चुनाव समेतका माग राखेका थिए । विद्रोहका क्रममा सेनाले तत्कालीन राष्ट्रपति इब्राहिम बउबाकर केइटा र प्रधानमन्त्री बउबउ सिस्से समेतका उच्च राजनीतिक व्यक्तिहरुलाई गिरफ्तार गरेका थिए ।
सेनाको नियन्त्रणमा परेलगत्तै केइटाले तत्कालै राजीनामाको घोषणा गरी संसद विघटनको घोषणा गर्नु भएको थियो । सेनाले पनि राष्ट्रिय कमिटी गठन गरी नयाँ चुनाव नहुँदासम्म संक्रमणकालीन सरकार गठन गर्ने भन्दै योजना घोषणा गरेको थियो ।- एएनआई
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया