मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता पुस ५ देखि शुरु हुने

प्रतियोगितामा  राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको समेत सहभागिता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मध्यविन्दु, मङ्सिर २७ गते । नवलपुरको कावासोतीमा प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी पुस ५ देखि १६ गतेसम्म पहिलो पटक गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

सनलाइट सामुदायिक विकास केन्द्र, कावासोती–१६ को आयोजना, कावासोती नगरपालिकाको प्रवर्धन र कावासोती नगरपालिका वडा नम्बर १६ र नवलपुर जिल्ला फुटबल संघको समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको तयारी स्वरुप अहिले डण्डास्थित सनलाइट सामुदायिक विकास केन्द्रको खेल मैदानको व्यवस्थापन लगायतका काम चलिरहेको सनलाइट सामुदायिक विकास केन्द्रका अध्यक्ष तेजनारायण अर्यालले जानकारी दिनुभयो ।

प्रतियोगितामा  राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको समेत सहभागिता रहने अध्यक्ष अर्यालले बताउनुभयो । कावासोती नगरपालिकाको दुई वटा टिमसहित देश र बाहिरबाट समेत गरी १२ टिमको सहभागिता हुने उहाँले जानकारी दिनुभयो । ‘‘कावासोतीको दुई वटा टिम हुन्छ, भारतको एउटा र अफ्रिकाको एउटा टोलीसँग कुरा भएको छ । आइतबारसम्म अन्तिम टङ्गो लाग्नेछ ।’’ अर्यालले भन्नुभयो ।

कावासोती नगरपालिकाले खेल क्षेत्रको विकास र प्रवर्धन गर्न यसरी पहिलो पटक ठुलो धनराशिको प्रतियोगिता आयोजना गर्न लागेको कावासोती १२ का वडा अध्यक्ष तथा नगर खेलकुल विकास समितिका अध्यक्ष ध्रुव खनाल (दिपेशले) बताउनुभयो ।

नयाँ खेलाडी उत्पादन गर्ने र पालिकाभित्रका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको क्षमता विकासमा समेत टेवा पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको उहाँको भनाइ छ । यसै प्रतियोगिताका लागि नगका १७ वटै वडाबाट खेलाडीहरू छनोट भएका छन् । उनीहरूका लागि अहिले पनि प्रतेक दिन तालिम प्रदान गरिएको छ ।

‘‘निकै प्रतिभाशाली खेलाडीहरू छनोट भइ प्रतिस्पर्धाका लागि तयार हुँदै हुनुहुन्छ, उहाँहरूले निकै राम्रो खेल्नुहुनेछ भन्ने विश्वास पनि हामीले लिएका छौँ ।’’ अध्यक्ष खनालले भन्नुभयो ।

कावासोती आठमा रहेको टुबोर्ग ग्राउण्डमा प्रत्येक दिन ४० जना खेलाडीलाई तालिम दिइएको छ । उनीहरु कावासोतीको तर्फबाट दुई टिम भइ खेल्ने छन् । अखिल नेपाल फुटबल संघ जिल्लाका प्रशिक्षकद्वारा तालिम प्रदान गरिएको खनालले बताउनुभयो ।

प्रतियोगिताको विजेता हुने टिमले तीन लाख एक रुपियाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता हुने टिमले नगद एक लाख ५० हजार एक रुपियाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यसैगरी, प्रतियोगिताको सेमिफाइनल पुग्ने दुई टिमले २५/२५ हजार रुपियाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ । गोप.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार