काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणको ट्रफी उचालेको हो ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ८५ रन बनाउँदै सबै विकेट गुमायो । सुदूरपश्चिमका ब्याट्सम्यानहरू लुम्बिनीका बलरहरूको सटिक आक्रमणसामु खुलेर खेल्न सकेनन् । कम लक्ष्यका बाबजुद लुम्बिनीले सावधानीपूर्वक खेल्दै जिततर्फ यात्रा तय गर्यो ।
लुम्बिनी लायन्सका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रनको महत्वपूर्ण योगदान दिनुभयो । कप्तान रोहित पौडेलले १६ रन जोड्दै टोलीलाई स्थिरता प्रदान गर्नुभयो भने डार्सी सटले १४ र निरोशन डिकवेलाले १० रन बनाउँदै लक्ष्य पूरा गर्न सहयोग पुर्याउनुभयो । लुम्बिनीले लक्ष्य ६ विकेट बाँकी रहँदै भेट्टायो ।
बलिङतर्फ सुदूरपश्चिम रोयल्सका हेमन्त थामीले दुई विकेट लिँदै संघर्ष प्रस्तुत गर्नुभयो । कप्तान दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले समान एक–एक विकेट लिए पनि टोलीलाई उपाधिबाट टाढा राख्न सकेनन् । उपाधि जितसँगै लुम्बिनी लायन्सले एनपीएल सिजन–२ मा आफ्नो दबदबा स्थापित गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया