कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपियाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर दुई रुपियाँ मूल्य बढेको छ ।

मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपियाँ र तेस्रो वर्गका लागि १४२ रुपियाँ कायम भएको छ । त्यसैगरी पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६० रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि १६२ रुपियाँ र तेस्रो वर्गका लागि १६३ रुपियाँ कायम भएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल र मट्टितेलमा  प्रतिलिटर छ रुपियाँ ९३ पैसा घटेर तथा पेट्रोलमा एक रुपियाँ ९४ पैसा बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया