काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वका १०० प्रभावशाली जलवायु व्यक्तित्वको सूचीमा समावेश हुनुभएकोमा बधाई ज्ञापन गरेको छ।
अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट २०२६’ सूचीको नेतृत्व विधामा उहाँ समेटिनुभएको हो। जलवायु परिवर्तनको असर न्यूनीकरण, जलवायु न्याय, वित्त परिचालन तथा नीतिगत नेतृत्वका क्षेत्रमा योगदान पुर्याउने विश्वभरका व्यक्तित्वलाई समेटेर उक्त सूची सार्वजनिक गरिँदै आएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका उपसभापतिसमेत रहनुभएका अर्थमन्त्री वाग्लेलाई बधाई दिनुभएको हो।
विज्ञप्तिमा रसुवा र भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा उहाँले गर्नुभएको पैरवी, जलवायु वित्त परिचालन तथा स्रोत व्यवस्थापनका लागि लिनुभएको पहल र अन्तर्राष्ट्रिय प्रणालीमा सुधारका लागि देखाउनुभएको अग्रसरता नेपालको सन्दर्भमा उल्लेखनीय रहेको जनाइएको छ।
हिमाली तथा पर्वतीय क्षेत्र जलवायु परिवर्तनका कारण बढ्दो जोखिममा रहेको उल्लेख गर्दै रास्वपाले विपद्बाट प्रभावित समुदायका समस्या र सरोकारलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउन अर्थमन्त्री वाग्लेले गर्नुभएको पहलको चर्चा गरेको छ।
“हिमाली तथा पर्वतीय क्षेत्रको जोखिम, जलवायुजन्य विपद् र त्यसबाट प्रभावित समुदायका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय, जलवायु वित्त तथा हानि–नोक्सानीको न्यायोचित सम्बोधनका लागि उहाँले गर्नुभएको पैरवीले नेपालको अवस्थाका बारेमा जानकारी दिन तथा नेपालको आवाज विश्वसामु पुर्याउन योगदान गरेको छ”, विज्ञप्तिमा भनिएको छ।
जलवायु परिवर्तनमा नेपालको योगदान तुलनात्मक रूपमा न्यून भए पनि यसको असर भने नेपालजस्ता विकासोन्मुख तथा हिमाली मुलुकले बढी भोग्नुपरेको विषय अन्तर्राष्ट्रिय बहसको प्रमुख सरोकार बन्दै आएको छ। विशेषगरी पछिल्ला जलवायुजन्य विपद्पछि नेपालले पुनर्निर्माण, क्षतिपूर्ति र अनुकूलनका लागि अन्तर्राष्ट्रिय सहयोगको माग गर्दै आएको छ।
रास्वपाले अर्थमन्त्री वाग्लेको सूचीमा समावेशलाई उहाँको प्रयासको सम्मानका रूपमा मात्रै नभई जलवायु संकटबाट प्रत्यक्ष प्रभावित नेपालजस्ता देश र समुदायका सरोकारप्रति विश्वको ध्यानाकर्षणका रूपमा पनि लिएको विज्ञप्तिमा उल्लेख गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया