काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ जाने हुनुभएको छ।
नेपाल संवत् ११४७ तथा तिहार पर्व सम्पन्न गरेलगत्तै छठ पूजाको मुख्य अवसरमा उहाँ सर्लाही जाने कार्यक्रम तय भएको उहाँको सचिवालयले जनाएको छ।
सर्लाहीमा रहँदा सभापति थापाले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा निर्माण गरिएका छठ घाटको भ्रमण गर्नुका साथै अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक विधिमा सहभागिता जनाउनुहुनेछ। यस क्रममा उहाँले स्थानीय मतदाता, नागरिक तथा पार्टीका नेता–कार्यकर्तासँग भेटघाट गरी छठ पर्वको शुभकामना आदानप्रदानसमेत गर्नुहुनेछ।
यसअघि आज सभापति थापा नेपाल संवत् ११४७ का अवसरमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ। साथै, नेवार समुदायको परम्परागत म्हः पूजामा पनि उहाँको सहभागिता रहनेछ।
भाइटीकाका दिन भने उहाँले घरमै पारिवारिक वातावरणमा तिहार मनाउने कार्यक्रम रहेको छ। त्यसलगत्तै छठ पर्व मनाउन उहाँ मधेश झर्नुहुने सचिवालयले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया