काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति, अमनचैन र दिगो लोकतन्त्र स्थापनाका लागि निर्वाचन नै एकमात्र वैधानिक र प्रभावकारी माध्यम रहेको बताउँदै यस प्रक्रियामा सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिनुभएको छ।
आज बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँग भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले मुलुक अब निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको उल्लेख गर्दै अस्थिरता र अशान्ति अब सह्य नहुने अवस्थामा पुगेको स्पष्ट पार्नुभयो। उहाँले आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट राख्न आग्रह गर्नुभयो।
प्रधानमन्त्री कार्कीले जनताबाट आफ्ना मुद्दाहरू अनुमोदन गराउने लोकतान्त्रिक अभ्यास नै मुलुकलाई निकास दिने एकमात्र विकल्प भएको बताउनुभयो। “धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति र सुव्यवस्थातर्फ फर्काएका छौँ,” उहाँले भन्नुभयो, “सबै खालका संशय चिर्दै मुलुक पूर्ण रूपमा निर्वाचनको माहोलमा होमिएको छ। यस्तो संवेदनशील समयमा सबै पक्ष जिम्मेवार बन्नुपर्छ।”
उहाँले ‘यो देश मेरो पनि हो’ भन्ने भावनाका साथ सबै नागरिक र समूहले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। साथै, प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्न प्रसाईँलाई आग्रह गर्दै शान्तिका प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहारसमेत प्रदान गर्नुभयो।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले सरकार न्याय, सुशासन र भ्रष्टाचारविरुद्ध दृढ रहेको उल्लेख गर्दै आफूहरू सत्ताभोग वा व्यक्तिगत सुखसयलका लागि नभई जनताको सेवा र न्यायका लागि आएको स्पष्ट पार्नुभयो। “शोषित, पीडित वर्गलाई न्याय दिलाउने प्रक्रियाको थालनी गरेका छौँ,” उहाँले भन्नुभयो, “सबै परिणाम तुरुन्तै देखिन नसके पनि हामीले बलियो आधारशीला तयार गर्दै अघि बढिरहेका छौँ।”
प्रधानमन्त्रीले प्रसाईँले उठाएका कतिपय जायज मागहरूको सम्बोधनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिँदै आगामी दिनमा थप संवाद र छलफलमार्फत समाधान खोजिने विश्वास पनि व्यक्त गर्नुभयो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया