पुष २३, २०८२ बुधबार January 7, 2026

डा निकोलस भुसाल र हरिश विष्टसँग सरकारको ६ बुँदे सम्झौता

जेन्जी आन्दोलनबारे सरकार–आन्दोलरत पक्षबीच सहमति, प्रधानमन्त्रीद्वारा जुस खुवाएर अनसन तोडाइयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, पुस १८ गते । डा निकोलस भुसाल र हरिश विष्टबीच सरकारसँग छ बुँदे सहमति भएपछि ११ औँ दिनमा अनसन तोडिएको छ ।

बालुवाटारमा भएको सहमतिपत्रमा डा भुसाल, विष्ट तथा सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले हस्ताक्षर गर्नुभएको हो ।

सहमतिपछि प्रधानमन्त्री सुशीला कार्कीले दुवैजनालाई बालुवाटारमा जुस खुवाएर अनसन तोडाउनुभएको थियो । सहमतिले दुवै पक्षबीच देखिएका विवाद समाधानतर्फ अघि बढेको जनाइएको छ ।

अनसन तोडिएसँगै आन्दोलन स्थगित गरिएको छ । सहमतिका बुँदाहरू कार्यान्वयनका लागि आवश्यक प्रक्रिया तत्काल अघि बढाइने सहमतिपत्रमा उल्लेख छ ।

सहमतिपत्रका बुँदाहरू

“शान्ति, समृद्धि, सुशासन पहिला देश” भन्ने मागसहित अनसनरत डा निकोलस भुसाल र हरिश विष्ट एवं नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्रीका प्रमुख सल्लाहकारबीचको सम्झौता

 १.⁠ आन्दोलनका दोषीलाई कारबाही: 

जेन्जी आन्दोलनका दोषीहरूलाई कारबाही गर्ने सम्बन्धमा पूर्व न्यायाधीश श्री गौरी वहादुर कार्कीको संयोजकत्वमा गठित जाँचबुझ आयोगले बयान लिने कार्य अन्तिम चरणमा पुगेको र उक्त आयोगको प्रतिवेदन प्राप्त हुनासाथ १५ दिनभित्र सोही आयोगको सिफारिसबमोजिम सबै दोषीहरूमाथि कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ।

२.⁠ ⁠आन्दोलनकारीहरूको रिहाइ तथा मुद्दा फिर्ता: 

जेन्जी आन्दोलनमा सहभागी भएकै कारण थुनामा रहेका, अनुसन्धान वा अभियोजन भोगिरहेका व्यक्तिहरूको हकमा तत्काल छानबिन गरी सम्बन्धित व्यक्ति गम्भीर अपराधमा संलग्न रहेको नदेखिएमा पछि जाँचबुझ आयोगको प्रतिवेदन बमोजिम हुने गरी सो व्यक्तिहरूको मुद्दा फिर्ता लिने र हिरासतमुक्त गर्ने कार्य १ महिनाभित्र गरिनेछ।

३.⁠ भ्रष्टाचार निवारण र संस्थागत सुधारः 

राजनीतिक तथा नीतिगत भ्रष्टाचार एवं सार्वजनिक निकायमा व्याप्त दलीय भागबण्डा अन्त्य गर्न १५ दिनभित्र कार्यादेश तयार गरी एक उच्चस्तरीय छानबिन आयोग गठन गरिनेछ। यस आयोगका मुख्य जिम्मेवारीहरू निम्न हुनेछन्:

(क) सार्वजनिक पदधारीहरूको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही गर्न सिफारिस गर्ने।

(ख) दलीयकरण रोक्न नीतिगत सुधार गर्ने र नेताका नाममा खोलिएका प्रतिष्ठानहरूले सरकारी सम्पत्ति दुरुपयोग गरेको पाइएमा तिनलाई खारेज गरी सम्पत्ति राष्ट्रियकरण गर्ने।

(ग) प्रशासनिक पुनर्संरचना र विद्युतीय सुशासनमार्फत सेवा प्रवाहलाई पारदर्शी बनाउन सिफारिस गर्ने।

४.⁠ ⁠वैदेशिक मताधिकार: 

बेजिल्ला मतदान र विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्नका लागि आवश्यक कानुन निर्माण तथा प्रक्रियागत व्यवस्था गरी आगामी निर्वाचनमा बेजिल्ला मतदान र विदेशबाट समेत मतदान गर्न मिल्ने प्रविधिको व्यवस्था गरिनेछ।

५.⁠ शासकीय स्वरूप र संवैधानिक परिवर्तन: 

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, प्रदेश सरकारको स्वरूप लगायत अन्य संवैधानिक, कानुनी तथा संस्थागत सुधारका विषयहरूको पहिचान, अध्ययन र विश्लेषण गरी अग्रगामी परिवर्तनका लागि सुझावसहितको प्रतिवेदन पेश गर्न स्वतन्त्र विज्ञ, जेन्जी र युवासहित सरोकारवालाहरूको सहभागिता रहने गरी १ महिनाभित्र एक उच्चस्तरीय “संविधान संशोधन सुझाव आयोग” गठन गरिनेछ।

६. सम्पूर्ण सहिद परिवार तथा घाइतेहरूको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका तत्कालीन र दीर्घकालीन आवश्यकताहरूलाई सरकारका तर्फबाट सम्बोधन हुने गरी आवश्यक सहयोगको सुनिश्चितता गरिनेछ।

यस सहमति पश्चात, कमल (निकोलस) भूसाल र हरिश विष्टले आजैका मितिदेखि आफ्नो अनसन अन्त्य गर्नुहुनेछ। साथै, माथि उल्लिखित सहमतिका बुँदाहरूलाई कार्यान्वयन गर्न र आवश्यक प्रक्रियाहरू सफल पार्न उहाँहरूले नेपाल सरकारसँग सहयोग र सहकार्य गर्नुहुनेछ।

नेपाल सरकारको तर्फबाट

श्री अजयभद्र खनाल

संयोजक, वार्ता समिति

आन्दोलरत पक्षको तर्फबाट     

श्री कमल भुसाल

(डा. निकोलस भूसाल)

श्री हरिश विष्ट

इति सम्बत् २०८२ साल पौष १८ गते रोज ०६ शुभम्  ..।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
२०८२ पुष २३, बुधबार
कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग
२०८२ पुष २३, बुधबार
प्रधानमन्त्री कार्कीसँग प्रदेश प्रमुख लाभद्वारा शिष्टाचार भेटवार्ता
२०८२ पुष २२, मंगलबार
सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन
२०८२ पुष २२, मंगलबार
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
२०८२ पुष २२, मंगलबार
इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
२०८२ पुष २२, मंगलबार
पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ : दुर्गा प्रसाँई
२०८२ पुष २२, मंगलबार