श्रावण ९, २०८३ शनिबार July 25, 2026

अल्पायुमै अस्ताए प्रशान्त…

तामाङ आइडलका विजेता भइसकेपछि नेपाली चलचित्र ‘हिम्मत–२’ मार्फत जोडिएका थिए प्रशान्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए। भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रियता विश्वभर फैलियो। उनै तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो।

आइतबार बिहानै तामाङको निधनको खबरले दार्जिलिङवासीलगायत संसारभरका नेपालीभाषी समुदाय स्तब्ध बने। नेपालीभाषीले भारतीय टेलिभिजन कार्यक्रममा सहभागिता जनाउन सक्छ र विजेता पनि बन्न सक्छ भन्ने उदाहरण बनेका थिए गायक तामाङ। उनी विजेता भएपछि भारतीय टेलिभिजन कार्यक्रममा नेपालीभाषीले सहभागिता जनाउने क्रम हालसम्म जारी छ।

गायक तामाङ इन्डियन आइडलको उत्कृष्ट १० मा परेपछि नेपालीले ‘प्रशान्त तामाङ जिताउ अभियान’ नै चलाएका थिए। सोही क्रममा गीतकार तथा चलचित्र निर्माता राजेश घतानी उनीसँग जोडिएका थिए। नेपालीभाषीले त्यो समयमा पाएको ठूलो सफलता रहेकाले पनि दार्जिलिङ पुगेर जिताउने अभियानमा आफूसहित केही साथीहरू जोडिएको निर्माता घतानीले बताए । उनले ती दिन स्मरण गर्दै भने, “अन्तिम १० मा परेपछि मैले केही साथीलाई आग्रह गरेर दार्जिलिङ गएर कार्यक्रम गर्‍यौं। हाम्रो उद्देश्य प्रशान्तलाई विजेता बनाउनु थियो । हामीले त्यहाँ कार्यक्रम गर्ने र कार्यक्रमबाट संकलित रकम उनलाई जिताउन खर्च गर्न थाल्यौं”

उक्त समयमा नेपालबाट निर्माता घतानीसँगै ‘हेयर डिजाइनर’ निल डेभिड कटवाल, गायक बाबु बोगटी, पत्रकार विदुर खतिवडालगायत पुगेका थिए। निर्माता घतानीका अनुसार त्यहाँ हुने छुट्टाछुट्टै कार्यक्रममा गायिका प्रविशा अधिकारी, कलाकार विल्सन विक्रम राईलगायत पनि सहभागी थिए।

तामाङ आइडलका विजेता भइसकेपछि नेपाली चलचित्र ‘हिम्मत–२’ मार्फत जोडिएका थिए । दीपक श्रेष्ठले उक्त चलचित्रको सम्पूर्ण गीत गायक तामाङको स्वरमा रेकर्ड गराएका थिए । “विश्वभरका नेपालीले रुचाएको र माया गरेको आवाजले नेपाली चलचित्रमा स्थान पाउनुपर्छ भनेर मैले पहिलो पटक पार्श्व गायनमा ल्याएँ। उनको सरलता देखेर म छक्क परेको थिएँ। विश्वभरका नेपालीका प्रिय पात्रले नेपाल र नेपाली गीतसङ्गीतलाई गर्ने माया अद्भुत थियो। उनमा इन्डियन आइडल विजेता भएको घमण्ड फिटिक्कै थिएन”, निर्देशक श्रेष्ठले उनको स्मरण गर्दै भने।

पछि तामाङ अभिनेताको रूपमा चलचित्र ‘गोर्खा पल्टन’ मा देखिए। उक्त चलचित्रमा लाहुरेको भूमिका निर्वाह गरेका गायक तामाङले गाएको गीत ‘जाउँला रेलैमा सरर, गोर्खा पल्टन’ निकै लोकप्रिय भएको थियो। त्यसपछि उनले ‘अँगालो यो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’, ‘परदेशी–२’ जस्ता चलचित्रमा काम गरे। गत ५ मङ्सिरमा प्रदर्शन भएको ‘पहिचानको लडाइँ’ उनले अभिनय गरेको अन्तिम नेपाली चलचित्र बन्न पुग्यो।

अभिनय सुरुआत गरेदेखि उनले आफूलाई गायकभन्दा पनि अभिनेताको रूपमा अगाडि बढाए। ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोको शृङ्खला ‘पाताल लोक’ मा देखिएपछि अभिनेताको रूपमा तामाङको चर्चा भारतमा पनि भयो । त्यसपछि उनले भारतीय अभिनेता सलमान खानको चलचित्र ‘ब्याटल अफ गलवान’ मा अभिनय गरे। भारत र चीनबीच भूराजनीतिक तनाव निम्त्याउने ‘गलवान झडप’ को कथावस्तुमा बनेको उक्त चलचित्र आगामी वैशाख ४ मा प्रदर्शन हुँदैछ । उक्त चलचित्रको छायाङ्कन सकेर अभिनेता तामाङ स्वराङ्कन (डबिङ) गर्ने तयारीमा थिए।

सोही क्रममा दिल्लीमा रहँदा उनको निधन भयो। कोभिड–१९ का कारण आमा गुमाएपछि उनले परिवारलाई धेरै समय दिन थालेका थिए । निर्माता घतानीका अनुसार पत्नी काम विशेषले बाहिर जाँदा वा घरमा नहुँदा उनी तीन वर्षकी छोरीको हेरचाह गरेर समय बिताउने गर्थे। पत्नी एयरहोस्टेस भएका कारण घरमै बसेर छोरीको रेखदेख गर्ने जिम्मा उनकै हुन्थ्यो।

“आमा गुमाएपछि छोरीलाई उनले छाडेको मलाई याद छैन । कार्यक्रमकै प्रस्ताव आउँदा पनि श्रीमती काममा छिन् र बिदा मिलेको छैन भने अस्वीकार गर्थे। छोरीमा उनले आमाको प्रतिबिम्ब देख्ने गरेको बताउँथे”, निर्माता घतानीले भने।

कोभिड–१९ का कारण आमाको निधन हुँदा गायक तामाङ स्वयम् कोभिडको बिरामी थिए । आफ्नी आमाको अन्त्येष्टिमा सहभागी हुन नपाएको पीडा उनको मनमा सधैँ रहिरह्यो। त्यही भएर छोरीलाई सक्दो खुसी बनाउने र परिवारलाई समय दिने उनको स्वभाव थियो। उनले सन् २०११ मा एयरहोस्टेस गीता थापासँग विवाह गरेका थिए। सन् २०२२ मा उनकी छोरी जन्मिएकी थिइन्।

उनको पार्थिव शरीरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । दार्जिलिङको जीटिए सरकारले आज नयाँ दिल्लीदेखि गायक तामाङको शवलाई दार्जिलिङ लैजाने जनाएको छ। दिल्लीको हरिनगरस्थित दिनदयाल अस्पतालमा हाल शवपरीक्षण भइरहेको जनाइएको छ । गायक तामाङका बुबाआमाको निधन भइसकेकाले उनकी पत्नी र ससुराली पक्षका आफन्त दिल्ली पुगेका छन्।

नेपाली भाषाको गीत सङ्गीत र अभिनयको माध्यमबाट संसारभरका नेपालीलाई जोड्न सफल भएका तामाङलाई हरेक नेपालीले सधैँ सम्झिरहने छन्। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार