भाद्र २५, २०८३ बिहिबार September 10, 2026

‘निफ’ मा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिने

सर्वोत्कृष्ट हुने चलचित्रलाई एक हजार ५०० अमेरिकी डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व बजारसँग जोड्ने उद्देश्यले आयोजना गर्दै आएको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को नवौँ संस्करण आगामी चैत १९ देखि २३ गतेसम्म हुने भएको छ ।

यस संस्करणमा दर्शकले पाँच दिनभित्र ४० देशका ८८ चलचित्र हेर्ने पाउने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।

चलचित्रकर्मीहरूसँग अन्तरक्रिया, युवा पुस्ता र एआई (कृत्रिम बुद्धिमत्ता) चलचित्रलाई प्राथमिकतासहित आयोजना हुने उक्त महोत्सव ‘विश्वभरका कथाहरूको उत्सव’ भन्ने नारा राखिएको अध्यक्ष पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले यो पटक युवापुस्ता केन्द्रित चलचित्रलाई प्राथमिकता दिएका छौँ । निफलाई युवामैत्री बनाउने हाम्रो प्रयास हो, युवा मेकरहरूलाई प्रोत्साहन गर्न हामीले एआई चलचित्र निर्माण कार्यशाला लगायतका सत्र राखेका छौँ । युवा दर्शकमा आशा जगाउने हाम्रो मुख्य प्रयास रहनेछ ।”

अध्यक्ष पाठकका अनुसार कान्स, बर्लिन, भेनिस, ट्राइबेका, सङ्घाइ, लोकार्नो, बुसान र गोवा जस्ता विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत चलचित्र, छोटा चलचित्र, वृत्तचित्रहरू यसपटक महोत्सवको मुख्य आकर्षण हुन् ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट हुने चलचित्रलाई एक हजार ५०० अमेरिकी डलर राशिसहित ‘गौतम बुद्ध अवार्ड’ प्रदान गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियबाट कुनै एक चलचित्रलाई ‘अन्तर्राष्ट्रिय चलचित्र समाज महासङ्घ’ को तर्फबाट ‘डन कि होते’ शीर्षकमा पुरस्कार प्रदान गरिनेछ ।

नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट  चलचित्रलाई रु एक लाख र ट्रफी, उत्कृष्ट छोटो चलचित्र र उत्कृष्ट वृत्तचित्रलाई रू ५०÷५० हजार र ट्रफी प्रदान गरिनेछ ।

महोत्सवमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रलाई एक हजार डलर राशिको ‘माउन्ट एभरेस्ट अवार्ड’ र सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लघुचल चित्रलाई पाँच सय डलरको ‘बागमती अवार्ड’ प्रदान गरिनेछ । एआई प्रविधिको  चलचित्रलाई पाँच सय अमेरिकी डलरको ‘मञ्जुश्री अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया