भरतपुर । चितवनमा जिल्लास्तरीय सितोरियो सोवुकान कराँतेको दीक्षान्त कार्यक्रम सुरू भएको छ । नेपाल सितोरियो सोवुकान कराँते डो संघको आयोजनामा भरतपुर कभर्ड हलमा दीक्षान्त कार्यक्रम गरिएको हो ।
माघ ४ गतेसम्म चल्ने कार्यक्रमको प्रमुखअतिथि चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले उद्घाटन गर्दै खेलाडीहरुलाई शुभकामना दिए । खेलाडीहरु दीक्षित हुनु आफैँमा एउटा उपलब्धि भएको उनको भनाइ थियो । उनले खेलाडीहरुलाई आफूले सिके–जानेका ज्ञान–सीपबाट नवप्रतिभाहरुलाई प्रेरित गर्न पनि आग्रह गरे ।
तीन दिनसम्म चल्ने दीक्षान्त समारोहमा चितवन र छिमेकी जिल्लाबाट १५० भन्दा बढी खेलाडीहरु सहभागी छन् । उनीहरुलाई खेलको नियम, आत्मरक्षासम्बन्धी प्रशिक्षण दिइनेछ । प्रशिक्षणपछि उनीहरुलाई फस्र्ट डन, सेकेन्ड डन र थर्ड डनबाट दीक्षित गरिने छ ।
उनीहरुलाई नेपाल सितोरियो सोवुकान कराँते डो संघका प्रशिक्षक सजन श्रेष्ठले मुख्य प्रशिक्षक तथा बागमती प्रदेशका अध्यक्ष सनिश श्रेष्ठ र सचिव सम्राट श्रेष्ठले सहायक प्रशिक्षकको रुपमा प्रशिक्षण दिनेछन् ।
कार्यक्रमका अध्यक्ष चितवन ग्रेडिङ समितिका संयोजक सुधीर श्रेष्ठले पछिल्लो समय चितवन र छिमेकी जिल्लामा सितोरियो सोवुकान कराँते विस्तार हुँदै गएको बताए । यो सुखद पक्ष रहेको उनको भनाइ थियो ।
यसैबीच, सोही कार्यक्रममा कराँतेकी अन्तर्राष्ट्रिय पदक विजेता प्रजिष्मा श्रेष्ठलाई नगदसहित सम्मान गरिएको छ । प्रजिष्माले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलताको उच्च मूल्याङ्कन गर्दै उनलाई सम्मान गरिएको संघका अध्यक्ष रफि अन्सारीले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया