गण्डकी। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन कास्कीमा सुरक्षा रणनीति तयार गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त एवं सुदृढ बनाउन तीनवटै सुरक्षा निकाय परिचालित हुने बताउनुभयो । “निर्वाचन केन्द्रित सुरक्षा योजना तयार भई कार्यान्वयनमा गइसकेको छ”, उहाँले भन्नुभयो ।
प्रजिअ शर्माका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीबाट गरी दुई हजार सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटिनेछन् । त्यस्तै, दुई हजार ३०३ जना निर्वाचन प्रहरी परिचालनका लागि छनोट तथा नियुक्तिको प्रक्रिया सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।
निर्वाचन सुरक्षालाई दृष्टिगत गरी सुरक्षा निकायले नियमित गस्ती र सुरक्षा निगरानी बढाइएको प्रजिअ शर्माले बताउनुभयो । जिल्ला सुरक्षा समितिले मतदानस्थलको स्थलगत अनुगमन तथा निरीक्षण गरिरहेको उहाँको भनाइ छ ।
मतदातालाई सहज रूपमा आवतजावत गर्ने व्यवस्थाका लागि बाटोघाटो मर्मतसुधारका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको जनाइएको छ । आज हुने उम्मेदवारको मनोनयन दर्ताका लागि सुरक्षादेखि सबै व्यवस्थापकीय तयारी चुस्त बनाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा तीन प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन् ।
कास्की–१ को रामघाट, कास्की–२ को ड्यामसाइड र कास्की–३ को मालेपाटनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरिने कार्यालयका सहायक निर्वाचन अधिकृत राजन खनालले बताउनुभयो । भीडभाड हुन नदिन राजनीतिक दललाई आलोपालो गरेर मनोनयन दर्ताका लागि समय व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया