काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको आज पहिलो सुनुवाइ हुँदैछ।
उक्त रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा पेशी चढाइएको छ। आजको सुनुवाइ प्रारम्भिक चरणको भएकाले अदालतले अन्तरिम आदेश दिने वा विपक्षी पक्षसँग लिखित जवाफ माग्ने विषयमा निर्णय लिन सक्ने कानुन व्यवसायीहरूले बताएका छन्।
देउवा पक्षले निर्वाचन आयोगले गरेको निर्णय प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको तथा पार्टीभित्रको विवादमा संवैधानिक निकायले निष्पक्ष भूमिका नखेलेको आरोप लगाउँदै सर्वोच्चको ढोका ढकढक्याएको हो। रिट निवेदनमा आयोगको निर्णय बदर गर्न र पार्टीको आधिकारिकता पुनःस्थापना गर्न माग गरिएको छ।
यस प्रकरणले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवादलाई थप चर्काएको छ। पार्टीभित्र लामो समयदेखि गुट–उपगुटको राजनीति चल्दै आएको र नेतृत्व संघर्षले संगठनात्मक संरचनामा समेत असर परेको नेताहरू स्वयं स्वीकार्छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार सर्वोच्च अदालतको निर्णयले कांग्रेसको भावी नेतृत्व संरचना र आन्तरिक शक्ति सन्तुलनमा महत्वपूर्ण प्रभाव पार्न सक्छ। अदालतले रिट स्वीकार गरेमा पार्टीभित्र पुनः शक्ति संघर्ष चर्किने अनुमान गरिएको छ भने, रिट खारेज भएमा आयोगको निर्णयलाई वैधानिकता मिल्नेछ।
हाल कांग्रेसका दुवै पक्ष आ–आफ्नो तयारीमा जुटेका छन्। आजको सुनुवाइलाई चासोका साथ हेरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया