असोज ५, २०८३ सोमबार September 21, 2026

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने

प्रतिनिधीसभा निर्वाचनका कारण यस वर्षको परीक्षा विगत वर्षभन्दा करिब १२ दिन पर सारियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भक्तपुर, ७ माघः राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को अन्तिम परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ गतेदेखि २९ गतेसम्म देशभर एकैसाथ सञ्चालन गर्ने भएको छ ।

बोर्डले आज एसइई परीक्षाको तालिका सार्वजनिक गर्दै आउँदो चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुनेगरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डको तालिका अनुसार पहिलो दिन १९ गते अनिवार्य अङ्ग्रेजी, २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते अनिवार्य विज्ञान, २४ गते सामाजिक, २५ गते ऐच्छिक प्रथम पत्रका विषय र २६ गते ऐच्छिक द्वितीय विषयका परीक्षा हुनेछन् । चैत २७, २८ र २९ गते भने प्राविधिक धार तर्फका पुराना र नयाँ कोर्सको परीक्षा हुने बोर्डअन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो ।

गत वर्षको एसइई चैत ७ गतेदेखि सञ्चालन भएको थियो भने यस वर्ष आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका कारण यस वर्षको परीक्षा विगत वर्षभन्दा करिब १२ दिन पर सारिएको बोर्डले जानकारी दिएको छ ।

जनक शिक्षा सामग्री केन्द्रले आगामी फागुन २१ गतेको निर्वाचनको लागि आवश्यक मतपत्र छपाइको काम गरिरहेको र एसइई परीक्षाको प्रश्नपत्र छाप्ने कार्य पनि जनकशिक्षाबाटै हुने भएकाले पनि परीक्षाको मिति केही दिनलाई सार्नु परेको बोर्डले जानकारी दिएको छ ।

एसइई परीक्षाका लागि यस वर्ष पाँच लाख १७ हजार विद्यार्थीले आवेदन भरेको जानकारी दिँदै बोर्डले गत वर्ष गत परीक्षामा नियमिततर्फ चार लाख २१ हजार ५८५ र ग्रेड वृद्धितर्फ ७५ हजार ५३९ जना विद्यार्थी सहभागी भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया