काठमाडौँ, माघ १३ गते । चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक गरिएको छ।
गीत सोमबार साइराम पिक्चर्सको आधिकारिक माध्यममार्फत सार्वजनिक गरिएको हो। प्रोसेस पाण्डेको भावपूर्ण स्वर, अनिल खनालको शब्द र अर्जुन पोखरेलको सङ्गीतमा तयार गरिएको यो गीतले प्रेम, विश्वासघात र पीडाको संवेदनशील भावलाई प्रस्तुत गरेको छ। गीतका शब्द र सङ्गीतले श्रोताको मन छोने खालको अनुभूति दिने निर्माण पक्षको विश्वास छ।
गीतको भिडियोमा त्रिविक्रमसिंह राणा, ओसिन भट्टराई, राजु गिरी, नारायण पराजुली, विनयराज पौडेललगायत कलाकारको अभिनय देख्न सकिन्छ। भिडियोमा कलाकारहरूले प्रेमसम्बन्धमा आउने उतारचढाव, धोका र त्यसबाट उत्पन्न पीडालाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्। गीतको कोरियोग्राफी राजु गिरीले गर्नुभएको हो, जसले गीतको भावलाई दृश्यात्मक रूपमा प्रभावकारी बनाएको छ।
चलचित्र ‘मायाको गाउँ’ की निर्माता कमला पराजुली हुन् भने निर्देशन कमला फिल्म्स टिमले गरेको छ। निर्माण पक्षका अनुसार यो चलचित्रले ग्रामीण परिवेश, मानवीय सम्बन्ध र सामाजिक यथार्थलाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्नेछ।
चलचित्रको छायाङ्कन रामेश्वर हुमागाईंले गर्नुभएको हो भने सम्पादन श्याम रानाले गर्नुभएको छ। यसैगरी, विनोद बमले पब्लिसिटी डिजाइन तथा गौतमराज खड्काले कलर ग्रेडिङको जिम्मेवारी सम्हाल्नुभएको छ। चलचित्रको मुख्य सहायक निर्देशकको रूपमा सुचेन्द्र परियार रहनुभएको छ।
निर्माण पक्षले सार्वजनिक गरिएको गीतलाई दर्शकले रुचाउने अपेक्षा व्यक्त गरेको छ भने आगामी दिनमा चलचित्रका अन्य गीत तथा ट्रेलर पनि क्रमशः सार्वजनिक गर्दै लैजाने जनाएको छ।
भिडियो हेर्नुहोस्
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया