काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ। क्रिकेट संघ नेपाल (क्यान) र एक्सट्रिम इनर्जी ड्रिङ्कको सहकार्यमा आयोजित विशेष कार्यक्रममा बुधबार टोलीको नयाँ जर्सी औपचारिक रूपमा अनावरण गरिएको हो।
कार्यक्रममा क्यानका पदाधिकारी, महिला क्रिकेट टोलीका खेलाडीहरू तथा आयोजक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नयाँ जर्सीले नेपाली क्रिकेटको पहिचान झल्काउने र अन्तर्राष्ट्रिय स्तरमा टोलीको आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार जर्सीको डिजाइन आधुनिक शैलीमा तयार गरिएको छ भने नेपाली क्रिकेटको गौरवलाई प्रतिबिम्बित गर्ने रंग संयोजनमा जोड दिइएको छ।
यसै अवसरमा क्यान र एक्सट्रिम इनर्जी ड्रिङ्कबीचको साझेदारीसमेत औपचारिक रूपमा घोषणा गरिएको छ। साझेदारीमार्फत महिला क्रिकेटको प्रवर्द्धन, खेलाडीको क्षमता विकास तथा राष्ट्रिय टोलीलाई थप सहयोग गर्ने लक्ष्य लिइएको जनाइएको छ। क्यानले निजी क्षेत्रसँगको सहकार्यले महिला क्रिकेटलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया