गुल्मी, माघ २९ गते। गुल्मीमा एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका– ८ का २५ वर्षीय डिल बहादुर डिमडुङ हेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) गङ्गाबहादुर सारुका अनुसार डिमडुङ गत भदौ २४ गते ‘जेन–जी’ आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट फरार भएका थिए। लागुऔषध (गाँजा) मुद्दामा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका निजलाई रुरुक्षेत्र गाउँपालिका–२ रुद्रवेणीबाट पक्राउ गरिएको हो।
कारागारबाट फरार रहेका डिमडुङलाई रुद्रवेणी क्षेत्रमा लुकिछिपी बसेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो। निजलाई पुनः सम्बन्धित कारागार पठाउनका लागि पहल भइरहेको छ।
डिमडुङलाई कास्की जिल्ला अदालतको २०७९ फागुन ३ गतेको फैसला बमोजिम लगत नं. ९३५५ बाट एक वर्ष तीन महिना २९ दिन कैद सजाय र पाँच हजार ४०० रुपियाँ जरिवाना तोकिएको थियो। उनी २०८२ साउन १४ गते वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट पक्राउ गरी अदालत मार्फत कारागार थुनामा रहेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया