असोज ३०, २०८३ शुक्रबार October 16, 2026

बाढीले बगायो म्याग्दीको चर्चित तातोपानी कुण्ड, एक करोडको संरचना ध्वस्त

नीय पर्यटन, होटल व्यवसाय र रोजगारीमा परेको असर कम गर्न अब नयाँ योजना र लगानी आवश्यक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
म्याग्दी । प्राकृतिक उपचार र पर्यटकीय गन्तव्यका रूपमा परिचित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित रातोपानी तातोपानी कुण्ड बाढीका कारण बगरमा परिणत भएको छ। असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र कटानले कुण्डका संरचना बगाएपछि यसको अस्तित्व नै संकटमा परेको हो।

कुण्डको संरक्षण तथा पर्यटकीय पूर्वाधार निर्माणका लागि गरिएको करिब एक करोड रुपैयाँभन्दा बढीको लगानी बाढीले क्षति पुर्‍याएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए। उनका अनुसार गाउँपालिकाले विगत नौ वर्षदेखि तातोपानी कुण्डलाई व्यवस्थित पर्यटकीय स्थलका रूपमा विकास गर्न लगानी गर्दै आएको थियो।

बाढीले कुण्ड संरक्षणका लागि निर्माण गरिएको पक्की पर्खाल, स्नानका लागि बनाइएको पोखरी, टहरा, विश्रामस्थल र शौचालयलगायत संरचना बगाएको छ। कुण्ड रहेको स्थानबाट अहिले कालीगण्डकी नदी बगिरहेको छ भने तातोपानीको प्राकृतिक मुहानसमेत पुरानो स्थानबाट करिब ३० मिटर तल सरेको छ।

गाउँपालिकाले पछिल्ला वर्षमा प्राकृतिक तातोपानीको मुहान संरक्षण र व्यवस्थापन गरी आन्तरिक आम्दानीसमेत गर्दै आएको थियो। चालु आर्थिक वर्ष २०८३/८४ मा कुण्ड सञ्चालनका लागि चार लाख पाँच हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

स्थानीयवासी दयाराम जिसीका अनुसार गाउँपालिका, प्रदेश सरकार, स्थानीयवासी र दाताको सहयोगमा मुहान संरक्षण तथा व्यवस्थापन गरेपछि तातोपानी कुण्ड स्नान, उपचार र मनोरञ्जनको आकर्षक गन्तव्य बनेको थियो। कुण्डमा स्नान गर्न आउने पाहुना र पर्यटकका कारण स्थानीय बजार तथा होटल व्यवसायसमेत चलायमान बनेका थिए।

‘कुण्डमा आउने पर्यटकका कारण रातोपानी, पोखरेबगर र ठूलोबगर क्षेत्रको व्यवसायमा टेवा पुगेको थियो,’ जिसीले भने, ‘बाढीले भौतिक संरचना मात्र नष्ट गरेको छैन, स्थानीयले प्राप्त गर्दै आएको रोजगारी र आयआर्जनको अवसरसमेत गुमेको छ।’

बेनी–जोमसोम सडकको छेउमा रहेको उक्त मुहानबाट प्रतिसेकेन्ड ११ लिटरका दरले ५६ डिग्री सेल्सियस तापक्रमको पानी निस्कने गर्दथ्यो। मुहानबाट निस्किएको पानी पोखरीमा सङ्कलन गरी एकपटकमा ४० देखि ५० जनाले स्नान गर्न सक्ने व्यवस्था मिलाइएको थियो। पोखरी १० मिटर लम्बाइ र १० मिटर चौडाइको थियो।

तातोपानी कुण्ड व्यवस्थित भएपछि मुस्ताङ भ्रमण गरेर फर्किने पर्यटकसमेत थकान मेटाउन त्यहाँ स्नान गर्न पुग्ने गरेका थिए। चोटपटक लागेका, शरीर बज्रिएका तथा ग्यास्ट्रिक र चिसोका कारण स्वास्थ्य समस्या भएका व्यक्तिहरू पनि प्राकृतिक तातोपानीमा स्नान गर्न आउने गर्थे। यसले रातोपानीलाई स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा समेत चिनाएको थियो।

बाढीले पुरानो स्थानमा कुण्ड पुनर्निर्माण गर्न कठिन हुने गरी क्षति पुर्‍याएपछि गाउँपालिकाले वैकल्पिक उपायबारे छलफल थालेको छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार प्राकृतिक मुहानबाट पानी ल्याएर अन्यत्र स्नानस्थल निर्माण गर्ने विकल्पबारे विचार भइरहेको छ।

वर्षौँको प्रयास र लगानीबाट पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गरेको रातोपानी तातोपानी कुण्ड बाढीले बगरमा परिणत गरेपछि यसको पुनःस्थापना चुनौतीपूर्ण बनेको छ। यससँगै स्थानीय पर्यटन, होटल व्यवसाय र रोजगारीमा परेको असर कम गर्न अब नयाँ योजना र लगानी आवश्यक देखिएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सात दशक पुरानो कानुन प्रतिस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने गृहमन्त्रीको घोषणा
२०८३ असोज ३०, शुक्रबार
सुन र चाँदीको मूल्य बढ्यो
२०८३ असोज ३०, शुक्रबार
चितवन राष्ट्रिय निकुञ्जमा इ-टिकटिङ सुरु
२०८३ असोज ३०, शुक्रबार
पूर्वराजा ज्ञानेन्द्रको दसैं सन्देश : विपद् पीडितको पुनःस्थापनादेखि राष्ट्रिय स्वाभिमानसम्म जोड
२०८३ असोज ३०, शुक्रबार
चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह
२०८३ असोज ३०, शुक्रबार
नेपाल टेलिकमको ‘हुलाक सिम सेवा’ सुरु, १६० रुपैयाँमै घरमै नयाँ सिमकार्ड
२०८३ असोज ३०, शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ असोज ३०, शुक्रबार