बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपाल का तर्फबाट उम्मेदवार बनेका श्रीनिवास यादवले आफ्नो उम्मेदवारी फिर्ता लिँदै पार्टी परित्याग गरेका छन्।
सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत यादवले पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्। साथै, उनले आफ्नो उम्मेदवारीसमेत औपचारिक रूपमा फिर्ता लिएको जानकारी दिएका छन्।
यादव जनता समाजवादी पार्टी (जसपा) नेपाल का केन्द्रीय सदस्यसमेत रहेका थिए। विज्ञप्तिमा उनले उल्लेख गरेका छन्, ‘आजका मितिदेखि जनता समाजवादी पार्टी (जसपा), नेपालको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै मेरो उम्मेदवारीसमेत फिर्ता लिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा समाहित भएको घोषणा गर्दछु।’
उनका अनुसार वर्तमान विषम राष्ट्रिय परिस्थितिमा मुलुकलाई राजनीतिक स्थायित्व र स्पष्ट निकास दिन सक्षम प्रमुख शक्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) नै रहेको विश्वासका आधारमा आफूले उक्त निर्णय लिएको हो।
यादवको उम्मेदवारी फिर्तासँगै रुपन्देही–३ को राजनीतिक समीकरणमा नयाँ मोड आएको छ। स्थानीय तहदेखि केन्द्रीय राजनीतिसम्म प्रभाव पार्न सक्ने यस निर्णयले आगामी निर्वाचनमा दलहरूबीच प्रतिस्पर्धा झनै रोचक बन्ने देखिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया